पश्चिमसेती र हाम्रो सरोकार

आफ्नो विचार लेखिरहँदा एक पर्यटन व्यवसायीको पश्चिम–सेतीसँग केको सरोकार भन्ने प्रश्न उठन सक्छ तर अहिले विश्वमा पर्यटनलाई राष्ट्र विकासको प्रमुख स्रोत ठानेका मुलुकले पर्यटकलाई विभिन्न कुराले आकर्षण गराइरहेका छन् । प्राकृतिक सुन्दरताका साथै ठुल्ठूला विकास निर्माणका कुराले पनि पर्यटकलाई तान्न सफल मुलुकमा अमेरिका चीन, जापान, सिंगापुरलगायत खाडी क्षेत्रका दुबई र कतार आदि देशहरू पर्छन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण र त्यत्तिकै खेर गइरहेको अपार जलस्रोतको धनी हाम्रो मुलुकमा केही दिनयता सुदूरपश्चिममा देशकै मेघा जलविद्युत् परियोजना कर्णाली र पश्चिम–सेती हुन सक्ने हल्लाखल्लाले हामी पर्यटन व्यवसायीलाई उत्साहित गरेको छ । देशका सबैभन्दा ठूला जलविद्युत् परियोजना सुदूरपश्चिममा हुनु भनेको खर्बौं रकम यहाँ आउनु हो । साथै विभिन्न कामको सिलसिलामा यस क्षेत्रमा मानिसको आगमन अत्यधिक बढ्नु हो । जब मानिसको आवगमन बढ्छ अनि उनीहरूले खर्च गरेको पैसा विभिन्न माध्यमबाट हाम्रो गोजीमा पर्नेछ, जसले हाम्रो आर्थिक अवस्थामा सुधार ल्याउन ठूलो सहयोग गर्नेछ ।
देशकै सबैभन्दा ठूलो विद्युत् परियोजना (७५० मेगावाट) सरकार र हामी सरोकारवालाको दूरदृष्टिको कमी र स्मेक कम्पनीलाई काम गर्नका लागि अवरोध सिर्जना गरियो । विगतका १६ वर्ष हामीले पश्चिम–सेती बन्छ कि बन्दैन भन्ने अन्योलमा मात्र बितायौँ र अन्त्यमा यहाँको अस्थिर राजनीति र नेताहरूको दोधारे चरित्रका कारण देशमा लगानी गर्ने ठूलो लगानीकर्तालाई सरकार र स्मेकले विश्वास दिलाउन सकेनन् । १६ वर्षको लामो अवधिसम्म आसैआसमा झुन्ड्याइराखेको पश्चिम–सेतीजस्तो महत्त्वाकांक्षी ठूलो परियोजना सरकारले बाध्य भएर खारेज गर्नुपर्‍यो । संसारकै सबैभन्दा बढी जलविद्युत् उत्पादन गर्ने चीनियाँ कम्पनी थ्री गर्जेज कर्पोरेशनसँग सरकारले दैनिक १८ घन्टासम्म लोडसेडिङको मार खेपिरहेका जनताको दबाबका कारण हतारमा निर्णय गरेको छ । सम्झौतामा धेरै कुरा स्पष्ट नभएका कारण जनप्रतिनिधिमूलक संस्थाले सरोकार राख्नु स्वाभाविकै थियो । सबैतिरबाट दबाब आएपछि बाध्य भएर संसदीय समितिले केही कुरा थपी थ्री गर्जेजसँग सम्झौता गर्न सुझाब दिएपछि अब यो परियोजना सुरु हुन्छ भन्ने केही आस जगाएको छ । देशकै सबैभन्दा ठूलो परियोजना यस क्षेत्रमा बन्नु भनेको हामी पर्यटन व्यवसायीका लागि पनि खुसीको खबर नै हो । पर्यटकीय दृष्टिले अति सुन्दर भए पनि पूर्वाधार नभएकाले होटल व्यवसायमा करोडौँ लगानी गरिसकेका यहाँका होटल व्यवसायीमा यस परियोजनाले केही उत्साह थपेको छ । झन्डै एक खर्ब २० अर्बभन्दा बढी लगानी हुने यो परियोजना सञ्चालन हुने पक्का भएपछि अवश्य पनि एउटा सामान्य कामदार, चिया पसलेदेखि लिएर ठुल्ठूला पसलको व्यापार बढ्नेछ ।
यो परियोजना देशकै ठूलो परियोजना भएकाले सबैको नजर यसमा पर्नु र यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा फाइदा वा बेफाइदाका विषयमा सबै नागरिकको चासो रहनु स्वाभाविक हो । विद्युत् मात्र यस परियोजनासँग सम्बन्धित छैन किनकि ९० घनमिटर प्रतिसेकेन्ड पानी त्यत्तिकै खेर गइरहेको छ, जसको सदुपयोग गर्न सकियो भने सुख्खा याममा पनि दुई लाख ,५० हजार हेक्टर भूमि सिँचाइ गर्न सकिनेछ र जसबाट किसानको जीवनमा कायापलट गर्न सकिनेछ । विद्युतीय ऊर्जाको अभावमा कुनै पनि ठूला उद्योगधन्दा त्यस क्षेत्रमा सञ्चालन हुन नसकेको अवस्थामा उक्त परियोजनाले ठुल्ठूला उद्योगपतिलाई त्यसक्षेत्रतिर आकर्षण गर्नेछ । बेरोजगार युवालाई विदेशिनबाट रोक्नेछ र प्रशस्त रोजगारीका अवसर आउनेछन् । पानीमा विद्युतीय तरंग प्रवाहित गरेर पानीबाट हाइट्रोजन र अक्सिजनका वायु छुट्याउन सकिने छ । हाइट्रोजनलाई ऊर्जाका रूपमा प्रयोग गर्न सकिने प्रविधिको विकास पनि भइसकेको अवस्था छ भने अक्सिजनलाई अस्पतालमा प्रयोग गर्न सकिनेछ । जुनसुकै काम गरिरहेका वा जुनसुकै व्यापार व्यवसायमा लागेका वा कामै नभएर बेरोजगार बसेका सुदूरपश्चिमवासीको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक अवस्था सुधार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । दिनप्रतिदिन विद्युत्को माग बढिरहेको छ । यो परियोजना पूरा हुने बेलासम्म विद्युत्को माग अझ बढ्नेछ । गार्हस्थका लागि पनि अहिले विद्युत् नपुगिरहेको अवस्थामा यदि साँच्चै देशमा सबै कुरा अनुकूल भए ठुल्ठूला उद्योगधन्दा खुल्नेछन् र विद्युत्को माग अहिलेको भन्दा दोब्बर हुनेछ । सानातिना कुरामा नअल्झिई समयमै यो परियोजनाको काम समाप्त गर्नुपर्छ । सँगै ठूलो कर्णाली परियोजना पनि सुरु गर्दा सबै नेपालीको हितमा हुने थियो कि ?

प्रतिक्रिया