फाइनलमा बैतडी र वीरगन्ज भिड्ने

काठमाडौं, १२ वैशाख । समूहको आफ्नो अन्तिम खेलमा साविक विजेता क्षेत्र नम्बर–४ भैरहवाविरुद्ध अप्रत्यासित जित हात पार्दै क्षेत्र नम्बर–६ बैतडी यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार उत्कृष्ट बलिङ प्रदर्शन गर्दै बैतडी दुई विकेटले विजयी भयो र समान अंक भएको भैरहवालाई रनरेटमा पछि पार्दै क्षेत्र नम्बर–२ वीरगन्जविरुद्धको उपाधि भिडन्त तय गर्‍यो ।
अन्तिम खेलअघि भैरहवाभन्दा दुई अंकले पछि रहेको बैतडी रनरेटमा पनि करिब एक अंकले पछाडि थियो । जितपछि भने शीर्षस्थानमा रहने क्रममा बैतडी रनरेटमा करिब ०.२ अंकले अगाडि हुन पुगेको हो । समूहका सबै खेलको समाप्तिपछि चार–चार अंक भएका बैतडीको रनरेट ०.९०८ र भैरहवाको रनरेट ०.७६३ भयो ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा टस जिती विपक्षीलाई ब्याटिङमा बोलाएको बैतडीले विनोद लामाको सानदार बलिङ प्रदर्शनपछि भैरहवालाई ३० ओभरभित्रै ८३ रनमा समेटयो । विनोदले पाँच विकेट लिए । यज्ञमान कुमाल र दीपेन्द्र ऐरीले समान दुई विकेट हात पारे ।
राम्रो रनरेटमा जित हात पार्नुपर्ने चुनौतीका साथ लक्ष्य पछयाएको बैतडीले २७.२ बलमा संघर्षपूर्ण जित हात पार्‍यो । ब्याटिङतर्फ पनि विनोद बैतडीका लागि नायक बने । उनले ६७–८ को स्थितिमा दिलिप नाथसँग अविजित २० रनको साझेदारी गरेका थिए । सन्तोष भट्ट (२४) बाहेक अन्य सबै खेलाडी दोहोरो अंकमा रन नजोडी आउट भएको स्थितिमा विनोदले बैतडीको ब्याटिङ सम्हाले । ३१ बल खेल्दै तीन चौका प्रहार गरेका उनले १५ रन बनाए भने विकेटकिपर नाथको नाममा ५ रन रहयो ।
भैरहवाको कसिलो बलिङसामु बैतडीका भरपर्दा ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेनन् । ४९–६ को स्थितिमा विनोद र सौरभ चन्द (९) बीच १६ रनको साझेदारी भयो । बलिङतर्फ भैरहवाका इकलाख अहमद वार्सीले चार विकेट लिए ।
अघिल्ला दुवै खेलमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको भैरहवा बैतडीविरुद्ध भने कमजोर देखियो । २५ अतिरिक्त रन पाएको भैरहवाका लागि दुई खेलाडी मात्र दोहोरो अंकमा रन जोड्न सफल भए । नौ ओभर बलिङ गर्ने क्रममा विनोदले तीन मेडन राख्दै ९ रन मात्र खर्चिए । यज्ञले भैरहवाका दुवै प्रारम्भिक ब्याट्सम्यानलाई आउट गरेका थिए भने त्यसपछिका स्टार ब्याट्सम्यान एकपछि अर्को गर्दै विनोदका सिकार भए ।
यससँगै समूहका तीन खेलमा विनोदको विकेट संख्या १२ पुग्यो । पहिलो खेलमा क्षेत्र नम्बर–५ नेपालगन्जविरुद्ध पनि पाँच विकेट हात पारेका विनोदले सोमबार क्षेत्र नम्बर–७ जनकपुरधामविरुद्धको खेलमा दुई विकेट लिएका थिए । यस सफलताले उनी जारी प्रतियोगितामा बेस्ट बलरको बलियो प्रत्यासीका रूपमा देखिए । विनोद भैरहवाविरुद्धको खेलमा ‘प्लेयर अफ द म्याच’ भए । पहिलो खेलमा नेपालगन्जलाई पराजित गरेको बैतडीले दोस्रो खेलमा सोमबार जनकपुरधामसँग हार व्यहोरेको थियो । प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।
यसअघि समूह ‘बी’ को विजेताका रूपमा वीरगन्ज फाइनलमा प्रवेश गरेको हो । समूहका सबै खेलमा वीरगन्ज विजयी भएको थियो । पहिलो चरणमा दुई समूहमा खेलाइएको प्रतियोगितामा समूहविजेता सोझै फाइनलमा पुग्ने प्रावधान छ ।

प्रतिक्रिया