बार्सालाई रियलको “एल क्लासिको” मात


बार्सिलोना (स्पेन), १० वैशाख । क्रिस्टियानो रोनाल्डोले ७३औं मिनेटमा गरेको गोलले प्रतिद्वन्द्वी बार्सिलोना ५५ म्याचमा पहिलोपटक घरेलु मैदानमा पराजित भयो भने शनिबार राति २–१ ले विजय हात पारेको रियल मेड्रिड ला लिगामा रहेको ‘क्याटालान दैत्य’ को तीन वर्ष लामो आधिपत्य पनि समाप्त पार्ने संघारमा पुगेको छ ।
बार्सिलोनाका रक्षकहरूको गल्तीको फाइदा उठाउँदै सामी कदिराले १७औं मिनेटमा म्याचको पहिलो गोल गरी रियललाई अग्रता दिलाएका थिए । यो समग्रमा चालु सिजनमा रियलले गरेको १०८औं गोल थियो जुन आफैमा कुनै पनि क्लबले एक सिजनमा गरेको सबैभन्दा धेरै गोलसंख्याको रेकर्ड पनि हो । यसअघि पनि उक्त रेकर्ड रियलले नै सन् १९८९–१९९० सत्रमा १ सय ७ गोल गरेर कायम गरेको थियो ।
बार्सिलोनाका लागि एलेक्सिस सान्चेजले ७०औं मिनेटमा गोल गर्दै खेललाई १–१ ले बराबरीमा ल्याइपुर्‍याए पनि त्यसको केही क्षणपश्चात् नै रोनाल्डोले चालु लिगमा व्यक्तिगत ४२औं गोल गर्दै रियल मेड्रिडको जित सुनिश्चित गरेका थिए ।
महासंग्राम ‘एल क्लासिको’ नाम दिइएको यो म्याचलाई खासगरी रोनाल्डो र उनका ‘काउन्टरपार्ट’ लियोनेल मेसीबीचको घमासान भिडन्तको रूपमा हेरिएको थियो । उनीहरू दुईमध्ये स्पेनको एकै फुटबलसत्रमा सबैभन्दा धेरै गोल गर्ने कोचाहिं हुनेछ भन्ने अघोषित लडाइँमा शनिबार रोनाल्डो एक गोलले अगाडि भए । उनले फेरि एकपटक रियल मेड्रिड ‘काउन्टर–एटयाकिङ’ फुटबलमा युरोपमा किन सर्वश्रेष्ठ हो भन्ने देखाइदिए । मेसीका कतिपय प्रयास मेड्रिडको अनुशासित रक्षापंक्तिको सुदृढताले गर्दा सफल हुनै सकेनन् ।
खेल १–१ ले बराबरीमा रहेको बेला रोनाल्डोले आफ्नो आश्चर्यजनक तेज गतिको दौड प्रदर्शन गर्दै काउन्टर–एटयाकमा बल अगाडि बढाएका थिए । अन्तत: उनले बार्साका गोलकिपर भिक्टर भाल्देजलाई छक्याउँदै दायाँ फ्ल्याङ्कबाट सजिलो लाग्ने गरी बललाई जालीमा ठोकाएका थिए । लगातार १९ खेल खेल्दा एकपटक पनि पराजित हुनु नपरेको रियल मेड्रिड यो जितसँगै निकटतम प्रतिद्वन्द्वी बार्सिलोनाभन्दा सात अंक माथि छ र अब लिगमा केबल चार राउन्ड खेल मात्र बाँकी छन् । ‘यो अत्यन्त महत्वपूर्ण मोड थियो । अब यसलाई हामीले समुचित तवरले समाप्तितर्फ लैजान सक्नुपर्छ,’ मेड्रिडका मिडफिल्डर जाबी अलोन्साले भने, ‘आज हामीलाई कत्ति पनि कठिनाइ महसुस भएन । हामीले खेललाई पूर्णतातर्फ लगेरै छाडयौं ।’
रियल मेड्रिडको प्रशिक्षकको कार्यभार सम्हालेयता खेलिएका पछिल्ला नौ म्याचमध्ये केबल एकपटक मात्र आफ्नो टोलीलाई जिताउन सकेका होजे मउरिन्होले बितेको लामो समयदेखि प्रतीक्षा भइरहेको बार्सिलोनाको घरेलु मैदानमा अन्तत: विजय प्राप्त गरिछाडे । बार्सिलोनाको घरेलु मैदान ‘नोउ क्याम्प स्टेडियम’ मा रियल मेड्रिडले सन् २००७ यता पहिलोपटक कुनै म्याच जितेको हो भने मउरिन्हो पनि यो ठाउँमा तीन फरक टोली लिएर दस म्याच खेल्न आएकोमा पहिलोपटक विजेता बन्न सफल भएका हुन् । बार्सिलोना यसअघि आफ्नो गृहमैदानमा ११ सेप्टेम्बर २०१० मा हक्र्युलसविरुद्ध २–० ले पराजित भएको थियो ।
ला लिगामा शनिबार राति नै भएका अन्य खेलमा सेभिला र लेभान्तेबीचको खेल १–१ ले बराबरीमा समाप्त भएको थियो । त्यसैगरी स्पोर्टिङ गियोंले रायो भ्यालेकानोलाई २–१ ले र मार्लोकाले रियल जारागोजालाई १–० ले पराजित गरेका थिए ।
इङल्यान्डमा जारी इङलिस प्रिमियर लिग (इपिएल) अन्तर्गत शनिबार राति म्यानचेस्टर युनाइटेड र एभर्टन, आर्सेनल र चेल्सी तथा एस्टन भिल्ला र सन्डरल्यान्डबीच भएका खेलहरू ०–० ले बराबरीमा सकिएका थिए । त्यसैगरी, बोल्टन वान्डरर्स र स्वानसी सिटी १–१ को बराबरीमा रहे । क्विन्सपार्क रेन्जर्सले टोटनहयाम हट्सपरलाई १–० ले, न्युक्यासल युनाइटेडले स्टोक सिटीलाई ३–० ले, फुल्हामले विगान एथलेटिकलाई २–१ ले र ब्ल्याकबर्न रोभर्सले नोर्विक सिटीलाई २–० ले पराजित गरेका थिए ।
यसैगरी इटालियन लिग सेरी ए अन्तर्गत शनिबार राति भएका खेलमा नेपोलीले नोभारालाई र क्याटानियाले एटलान्टालाई समान २–० अन्तरले पराजित गरे । अर्को खेलमा पार्माले काग्लियरीलाई ३–० ले हरायो भने चिभो र युडिनिजको खेल ०–० ले बराबरीमा समाप्त भएको थियो ।

प्रतिक्रिया