‘सभासद्बाट राजीनामा गर्न तयार छौँ’

 

सञ्जय साह मधेस क्रान्ति फोरमका संयोजक हुन् । संविधानसभाले मधेसका मुद्दालाई सम्बोधन नगरे आफूले संविधानसभाबाटै राजीनामा गर्ने घोषणा उनले गरेका छन् । साहले संविधानसभा कठपुतली भयो भन्दै कामविहीन संविधानसभामा बसेर भत्ता र तलब नलिने घोषणा यसअघि नै गरेका छन् । पहिचानसहितको स्वायत्त मधेस प्रदेश, जनसंख्याको आधारमा राज्यका सबै निकाय र अवसरहरूमा अधिकारको सुनिश्चितता, सेनामा मधेसी युवा भर्नालगायतका विषय कार्यान्वयन हुनुपर्ने उनको अडान छ । संविधान बन्ने अवस्थामा स्वायत्त मधेस प्रदेशको मागबाट आफूहरू लचिलो हुनसक्ने संकेत पनि उनले दिएका छन् । साहसँग सौर्यका भुवन शर्माले गरेको कुराकानी :

तपाईंले सभासद् पदबाट राजीनामा गर्न लाग्नुभएको हो ?
संविधानसभामा मधेसका जनताको भावनालाई सम्बोधन गर्न सकेनौँ भने सभासद्बाट राजीनामा दिन्छौँ भनेका हौँ । मधेस मुद्दालाई कार्यान्वयन गराउन हामी संविधानसभामा आएका हौँ । त्यो जिम्मेवारी पूरा गर्न सकेनौँ भने हामीले राजीनामा दिएर जनताको माझमा जानुपर्छ ।
कहिलेसम्म पर्खनु हुन्छ त ?
समय निकै थोरै छ । कहिलेसम्म पर्खने भन्ने कुरा परिस्थितिले सिर्जना गर्ने कुरा हो । हामी अझै पनि संविधानसभासबाट मधेसका मागलाई सम्बोधन गराउने प्रयास गर्दै छौँ । हामीले प्रयास गर्दागर्दै पनि संविधानसभाबाट मधेसलाई ठगिने परिस्थिति निर्माण हुन्छ भने हामी त्यहाँ एक मिनेट पनि बस्न चाहँदैनौँ ।
संविधानसभाको प्रारम्भिक मस्यौदासम्म तपाईं हेर्नुहुन्छ, होइन ?
हामी अन्तिम घडीसम्म मधेसका मुद्दालाई सम्बोधन गराउन प्रयास गर्छौं । संविधानसभाको प्रारम्भिक मस्यौदा पनि हामीले हेछौ । मस्यौदा आइसकेपछि पनि एउटा परिस्थिति निर्माण हुन सक्छ । मधेसका
जनताले हामीले फेरि मधेसमै र्फकन माग गरे भने हामी फेरि त्यही ठाउँमा जान्छौँ ।
कतिजना सभासद् राजीनामा गर्न तयार हुनुहुन्छ त ?
शुक्रबार गरिएको एक कार्यक्रममा विभिन्न मधेसवादी दलका सभासद्ले मधेसका माग संविधानसभाबाट सम्बोधन हुन नसक्ने स्थिति आए हामी संविधानसभाबाट राजीनामा दिन तयार छौँ भनेर प्रतिबद्धता जनाएका हौँ । किनभने अबको संविधानमा पहिचानसहितको संघीयता मधेसका जनतालाई सबैभन्दा आवश्यकता छ र संविधानसभालाई अन्तिम घडीसम्म उपयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।
तपाईंहरूको अडान स्वायत्त मधेस प्रदेश होइन र ?
हाम्रो अडान स्वायत्त मधेस प्रदेश हो । मधेसी जनताको चाहना पहिचानसहितको संघीयता हो तर यही कारण संविधान बन्न नसक्ने स्थिति आए यसमा हामी लचिलो हुन तयार छौँ ।
भनेपछि ‘एक मधेस एक प्रदेश’बाट तपाईंहरू पछि हट्न सक्नुहुन्छ, होइन ?
जब मुलुकमा राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति हुन्छ, हामी राष्ट्रिय सहमति निर्माण हुन यही कुराबाट असहमति हँदैन । तैपनि मधेसी जनताको भावना भनेको पहिचान र आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेस प्रदेश नै हो ।
मधेसका जनताको सवाल स्वायत्त मधेस प्रदेश मात्र होइन । अरू पनि हाम्रा विषय छन् । जनसंख्याको आधारमा समानुपातिक रूपमा अवसरहरू र राज्यका निकायमा बाँडफाँड हुनुपर्छ भन्ने हाम्रो अडान रहेको छ । जनसंख्याको आधारमा यो मुलुकमा रहेका सबै नागरिकले बराबर अधिकार पाउने कि नपाउने यो पनि एउटा प्रश्न उठेको छ ।
तपाईंहरूले छुट्टै मोर्चा किन बनाउनुभयो ?
यसलाई मोर्चा भन्नुभन्दा पनि विभिन्न दलमा रहेका मधेसवादी सभासद् र नेताहरूको साझा मञ्च बनाएका हौँ । मधेसका सवाललाई एकसाथ उठाउन हामीले मञ्च निर्माण गरेका हौँ । विभिन्न पार्टीमा रहेका मधेसवादी सभासद्हरू साझा मुद्दामा एकजुट भएर प्रस्तुत हुन हामीले मञ्च निर्माण गरेका हौँ । तत्कालीन काम गर्न एउटा मिसनका लागि हामीले यो मञ्च निर्माण गरेका हौँ ।
मधेसी मोर्चा छँदाछँदै अर्को मोर्चाको किन आवश्यकता पर्‍यो र ?
त्यो मोर्चा र यो मोर्चा समानान्तर होइन । त्यो मोर्चालाई सघाउन हामीले मोर्चा बनाएका हौँ । हामीले बनाएको नयाँ संस्था मोर्चा होइन । यसमा आज कसैले अध्यक्षता गर्छ, भोलि अरू कसैले अध्यक्षता गर्छ । यो त साझा मञ्च मात्रै हो ।
त्यो मोर्चाले काम गर्न नसकेर नयाँ मोर्चा बनाउनुभएको हो ?
त्यो मोर्चाले पनि आफ्नो ठाउँमा काम गरिरहेको छ । त्यो मोर्चालाई सघाउन र मधेसका मुद्दालाई सशक्त रूपमा सम्बोधन गर्न हामीले नयाँ मोर्चा बनाएका हौँ । जनताले नकारिसकेका व्यक्तिलाई नेता बनाउनका लागि मात्र हामीले मञ्च बनाएका होइनौँ ।
जनताले नकारिसकेको व्यक्ति भनेर उपेन्द्र यादवलाई भन्नुभएको हो ?
म यहाँ कसैको नाम भन्न चाहन्नँ तर जसको चरित्र जनताको नजरमा उदांगिएको छ, ती व्यक्तिलाई फेरि नेता बनाउनु हुँदैन भनेर मैले भन्न खोजेको हुँ ।
यो भनाइ तपाईंले विजय गच्छदारलाई लक्षित गर्नुभएको हो ?
यो मैले भन्नुभन्दा पनि जनताले बुझ्ने कुरा हो । जनताको नजरमा उदांगिएको व्यक्ति को हो भनेर जनताले बुझिसकेका छन् ।
तपाईं अहिले लोकतान्त्रिक फोरममा हुनुहुन्न, होइन ?
हो, अहिले म लोकतान्त्रिक फोरममा छैन ।
तर तपाईंको सभासद् पद त लोकतान्त्रिक फोरमबाट नै छ, होइन र ?
यो कानुनी बाध्यता हो । मलाई जनताले संविधानसभामा पठाएका हुन् । सभासद् छाड्दा जनतामाथि धोका हुन्छ । अन्तिम समयसम्म मैले मधेसी जनताको माग पूरा गर्न संविधानसभामा संघर्ष गर्नुपर्छ ।
मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पार्टी र मोर्चा हाँक्न सक्षम हुनुभएन भन्ने तपाईकोआरोप हो ?
हेर्नुहोस्, मधेसी मोर्चा, मधेसवादी दल र हामी स्वयंले पनि मधेसी जनताको चाहना र भावनाअनुसार कति काम गर्‍यौँ, कति काम गरेनौँ यसको लेखाजोखा हुनुपर्छ । हामीमा देखिएका कमीकमजोरीप्रति हामीले जनतामाझ गएर माफी माग्नैपर्छ । मधेसका मुद्दालाई कार्यान्वयन गराउन हामीले जुन इमानदारी देखाउनुपथ्र्यो, त्यसमा हामी चुकेकै छौँ । मधेसका मुद्दालाई हामीले जसरी उठाउनुपथ्र्यो, त्यसरी प्रस्तुत हुन सकेका छैनौँ । यो मधेसी जनता र हामी सबैका लागि दुर्भाग्य हो ।
तपाईंको विचारमा प्रदेश कतिवटा बन्नुपर्छ ?
मेरो विचारमा यो मुलुकमा दुईवटा मात्र प्रदेश बनाइनुपर्छ । एउटा मधेस प्रदेश र अर्को पहाड प्रदेश । हिमाललाई पनि पहाड प्रदेशमा समावेश गर्नुपर्छ । धेरै प्रदेशहरू यो मुलुकले थेग्न सक्ने अवस्था छैन ।
तर ६ वटादेखि आठवटामा सहमति हुँदैछ रे, होइन ?
हेर्नुहोस्, यो मुलुकमा तपाईं एउटा आयल निगम त चलाउन सक्नुहुन्न भने यो मुलुकले कतिवटा प्रदेश सञ्चालन गर्न सक्ला र ? त्यसकारण जतिसक्दो थोरै प्रदेश बनाउनुपर्छ । धेरैवटा प्रदेश बनाएमा ती प्रदेशले आफ्नो प्रशासनिक खर्चसमेत थेग्न सक्दैनन् ।
मधेसवादी दलका नेताले अविभाज्य मधेस भनिरहेका छन्, के यो हुन सक्छ र ?
अविभाज्य मधेस भनेको स्वायत्त मधेस प्रदेश नै हो । हाम्रो माग जाजय हो, छुट्टै प्रदेश बनाउनका लागि सबै आधार तयार नै छन् । तैपनि यही कारण संविधान बन्न नसक्ने स्थिति आए हामी यसमा लचिलो हुन तयार छौँ । हामी नेपाली हुनुमा नै गर्व गर्छौं ।
तपाइंलाई १४ जेठभित्र संविधान आउँछ जस्तो लाग्छ ?
१४ जेठभित्र संविधान बनाउनाको विकल्प छैन ।
यदि १४ जेठभित्र संविधान बनेन भने के हुन्छ त ?
यसपछि हुने दुर्घटनाबारे म सोच्न पनि सक्दिनँ ।
नयाँ संविधान यही सरकारले बनाउँछ कि अर्को सरकार चाहिन्छ ?
अहिले हामी सबैको ध्यान नयाँ संविधान बनाउनमा नै केन्दि्रत हुनुपर्छ ।सरकार बनाउने र विघटन गर्नेतिर चासो राख्नु हुँदैन ?
तपाईंले संविधानसभाबाट भत्ता लिनुभएको छैन, किन ?
संविधानसभालाई भ्रम बनाउन खोजिएको छ । यसलाई कठपुतलीझैँ बनाउन खोजियो । यसले केही काम गर्न सकेन । संसदीय परम्परामा संसद्को जुन मूल्य र मान्यता हुन्छ । यसमा संविधानसभा चुकेको छ । सभासद्लाई भूमिकाविहीन बनाइएको छ । संविधानसभामा केही
काम गर्न नसकेपछि मैले नैतिक रूपमा त्यहाँको भत्ता नलिने निर्णय गरेको हुँ ।

प्रतिक्रिया