एकअर्काको अस्तित्व स्वीकार

नेपाली सेनाले एमाओवादी लडाकुको शिविर जिम्मा लिएपछि समायोजनमा जाने लडाकुको संख्या ह्वात्तै घटेको छ । पुनः र्वर्गीकरण हुदा नौ हजार सात सय पाचजनाले समायोजन रोजेकामा अहिले त्यो संख्या घटेर तीन हजारको हाराहारीमा आइपुगेको छ । यसरी संख्या घट्नाका खास कारण खुल्न आएका छन् । समस्याका रूपमा देखापरेका ‘कारणहरू’को निवारण भएन भने राम्रो नतिजा आउदैन र शान्तिप्रक्रियाको पाटो पनि ‘एकातिर टाल्यो अर्कातिर भ्वाङ’ भनेजस्तै हुन सक्छ ।
‘जनमुक्ति सेना’ भनेर गौरवसाथ आफूलाई प्रस्तुत गर्ने लडाकुले अपमान र तिरस्कार सहनुपरेको खबर आएको छ । बेग्लै बाटो र पाटोबाट भए पनि लडाकुहरू राष्ट्र र जनताका लागि भनेरै लडेका थिए । समायोजनको यो पक्षलाई बिर्सन र न्यूनीकरण गर्न मिल्दैन । अहिले लडाकुले हेपिएको र तिरस्कृत भएको महसुस गर्दै छन् । यस्तो महसुस हुन नदिई सहअस्तित्व स्वीकार गर्दै सम्मानजनक ढंगले समायोजन प्रक्रिया टुंग्याउनुपर्छ । राजनीतिक नेतृत्वले यो विषयलाई गम्भीरतापूर्वक लिनु जरुरी छ । १० वर्षसम्म एकअर्काका दुस्मन भएर लडेका सेना र लडाकुलाई एकले अर्काको अस्तित्व स्वीकार गर्दै सहअस्तित्व निर्माण गर्न गाह्रो पर्छ । एकले अर्काको सम्मान गर्ने वातावरण निर्माण नहुदा पनि विग्रह सिर्जना हुन्छ । अहिले समायोजन प्रक्रिया सम्मानजनक नभएको, दर्जाबारे टुंगो नलागेको, राजनीतिक नेतृत्वले निर्णय गर्न ढिलाइ गरेको र शिविरमा पुगेका नेपाली सेनाको व्यवहार पनि ठीक नभएको आरोप लडाकुले लगाइरहेका छन् । यस्तो वातावरण सिर्जना हुन नदिन राजनीतिक नेतृत्व बेलैमा सचेत हुनुपर्ने थियो, हुन सकेन । यसलाई लडाकुका लागि नेताले गरेको अपमानजनक कार्य भन्न सकिन्छ ।
लडाकुलाई एक्कासि नेपाली सेनाको जिम्मा लगाउने कार्य नै त्रुटिपूर्ण थियो । त्यो त्रुटि सच्याउन लडाकुको मनोभावना बुझ्ने प्रशिक्षित नेपाली सेनाको टुकडी शिविरहरूमा पठाउनुपथ्र्यो । यी कुनै काम भएनन् । यसलाई अझै पनि सच्याउन सकिन्छ । लडाकुले अरू केही खोजेका छैनन्, सम्मानजनक समायोजन र व्यवहार चाहेका छन् । यो चाहना सरकारले पूरा गर्न सक्नुपर्छ । अब दुवै पक्ष मिलेर जानाको विकल्प छैन । थुप्रै अमिल्दा पक्ष हुदाहुदै पनि समायोजनमा जाने लडाकु जति छन् ती सबै अब नेपाली सेनाका सदस्य हुन् । नेपाली सेनाले पनि उनीहरूलाई अपमान र तिरस्कार गर्नु हुदैन । भावनामा चोट पुर्‍याउने र दोस्रो दर्जाको ठान्ने प्रवृत्ति आफैमा घातक हुन सक्छ । यसतर्फ सैनिक कमान्डरहरू पनि सचेत हुन जरुरी छ । दुवै सेनाले पुराना घटना बिर्सिएर भावनात्मक एकता गर्न सके मात्र समायोजनको औचित्य र अर्थ रहन्छ । मनमा तुष पालेर भएको समायोजनले सोचअनुरूपको शान्ति स्थापना हुदैन । सेना र लडाकुबीच आत्मीय सम्बन्धको विकास हुनुपर्छ । एकले अर्काको अस्तित्व सहर्ष स्वीकार गर्नुपर्छ । साना कुराले मुलुकलाई दुर्घटनातर्फ धकेल्ने कार्य हुन दिनु हुदैन ।

प्रतिक्रिया