थ्रीस्टार क्वार्टरफाइनलमा

काठमाडौं, २ वैशाख । पछिल्ला दुई संस्करणको विजेता मेगा थ्रीस्टार क्लबले बि्रटिस गोर्खाकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा थ्रीस्टारले दुई महिनाअघि मात्र ‘ए’ डिभिजनमा उक्लिएको संकटा क्लबलाई ४-० ले पराजित गर्‍यो । थ्रीस्टारलाई जित दिलाउने क्रममा पछिल्ला दुई संस्करणका स्टार फरवार्ड बुद्ध चेम्जोङले दुई गोल गरे । सन्तोष साहुखल र योगेश गुरुङले थप गोल गरे । मध्यान्तरसम्म थ्रीस्टार क्लब २-० ले अघि थियो ।
पाँचौं मिनेटमा साहुखलले डिबक्सबाहिरबाटै शक्तिशाली प्रहार गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाए । संकटाले बनाएको अफसाइड ट्रयापबिट गर्दै कप्तान विषन गौचनले दिएको उत्कृष्ट पासमा गोलरक्षक दिनेश यादवलाई जिल्याउँदै बुद्धले थ्रीस्टारलाई दोस्रो गोलको अग्रता दिलाए । ६५आंै मिनेटमा डिबक्सको एजमा पाएको बललाई उपयोग गर्दै योगेश गुरुङले थ्रीस्टारलाई तेस्रो गोलको अग्रता दिलाए । ७५औं मिनेटमा पनि सन्तोषले दिएको पासमा अफसाइड ट्रयापबिट गर्दै बुद्धले अर्को गोल गरे ।
नयाँ सिजन सुरु भए पनि संकटा क्लब ‘बी’ डिभिजनबाट बढुवा दिलाएका खेलाडीकै भरमा मैदानमा ओर्लिएको थियो । मैदानमा प्रायः समय हाबी थ्रीस्टार सुरुआतदेखि नै विपक्षीमाथि आक्रामक थियो । दोस्रो गोलभन्दा अगाडि नै थ्रीस्टारले थप दुई राम्रा अवसर गुमाइसकेको थियो । दोस्रो गोल खाएको चार मिनेटको अन्तरमै संकटाले अन्तर घटाउने मौका पाए पनि थ्रीस्टारका गोलरक्षक किरण चेम्जोङले कबु राईको एक र सुवास केसीको एक प्रहार बचाएका थिए ।
२५आं मिनेटमा वर्तमान राईले संकटालाई खेलमा फर्काउने अवसर पाए पनि थ्रीस्टारका रक्षक विष्णु सुनुवारले यसलाई सहजै टारे । थ्रीस्टारले मध्यान्तरअघि नै तेस्रो गोलको लागि पाएको अवसर बुद्ध चेम्जोङले गोलपोस्टको दायाँबाट बाहिर हानेर खेर फालेका थिए । खेलको सबैभन्दा सजिलो मौका गुमाउनेमा भने सन्तोष साहुखल रहे । उनले दोस्रो हाफमा नजिकैको दूरीबाट वानभर्सेस वानमा पनि गोल गर्न सकेनन् ।
फराकिलो अन्तरको परिणामका बाबजुद दुवै टोलीका प्रशिक्षकले संकटाले राम्रो खेलेको बताए । ‘बी’ डिभिजन लिगमा संकटाले राम्रो खेलेको सुने पनि आफ्नो टोली नडराएको तर सतर्क रहेको थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले बताए । संकटाले पनि राम्रो खेलेको भए पनि आफ्ना खेलाडी अनुभवी भएका कारण सहज जित हात पारेको उनले बताए ।
संकटाका प्रशिक्षक जुजुकाजी डंगोलले आफ्नो टोलीको खेलमा सन्तुष्ट भएको बताए पनि थ्रीस्टारले पूरा लयमा खेलेको बताए । उनले आफ्नो टोलीले थोरै दिन मात्र तयारी गरेको बताए ।
यसै सिजनका लागि संकटाले जावलाखेलका आठ खेलाडी भित्र्याएको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिगका सबै १६ टोली सहभागी यस प्रतियोगिताका विजेताले १० लाख रुपियाँ नगद र उपविजेताले ५ लाख रुपियाँ नगद प्राप्त गर्नेछ । गत संस्करणमा फाइनलमा मनाङलाई हराउँदै थ्रीस्टारले उपाधि रक्षा गरेको थियो

विदेशी खेलाडी गिरफतार

दशरथ रंगशालाबाट नेपाल प्रहरीले दुई अपि|mकी खेलाडीलाई गिरफ्तार गरेको छ । फुटबल हेर्न मैदान प्रवेश गर्ने क्रममा डयुटी अफिसरमाथि हातपातको प्रयास गरेपछि उनीहरूलाई गिरफ्तार गरिएको एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताए । गिरफ्तार हुनेमा डानी मेम्बो र डेभिड जेम्स रहेका छन् । एम्बाबोले पछिल्लो लिगमा बौद्ध फुटबल क्लबको तर्फबाट
खेलेका थिए । हनुमानढोका प्रहरीपरिसर प्रवक्ता धिरजप्रताप सिंहले गिरफ्तार गरिएका दुबै खेलाडी संकटा क्लबका रहेको बताए । ‘उनीहरूसँग संकटा क्लबको खेलाडी परिचयपत्र छ,’ उनले भने ।
पक्राउ परेका दुवै खेलाडीले मादकपदार्थ सेवन गरेको र भिआइपी प्यारापिटमा गएर सुरक्षार्थ खटिएका प्रहरीसँग झगडा गरेको सिंहले बताए । यता संकटा क्लबका टिम म्यानेजर जुजुकाजी डंगोलले आफूहरूसँग कुनै विदेशी खेलाडी नरहेको बताए । ‘हाम्रो टिममा विदेशी खेलाडी नै दर्ता छैनन्,’ उनले भने । पक्राउ परेका दुवैविरुद्ध कानुनी कारबाही सुरु हुने हनुमानढोका प्रहरी प्रवक्ता सिंहले बताए ।

प्रतिक्रिया