आयोगका लागि तीन सदस्सीय कार्यदल गठन

काठमाडौं, १७ चैत । प्रमुख तीन दलले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता खोजविन आयोगका लागि आवश्यक पर्ने सुझाव तयार पार्न एक कार्यदल गठन गरेका छन् ।

सिंहदरबारस्थित शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा आज बसेको एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुले तीन सदस्सीय कार्यदल गठन गरेका हुन् । कार्यदलमा माओवादीबाट खिमलाल देबकोटा, कांग्रेसबाट रमेश लेखक तथा एमालेबाट अग्नी खरेल सदस्य छन् ।

कार्यदलले भोलीसम्म आन्तरिक गृहकार्य र परामर्श गरेर आयोग गठनका बिषयमा देखिएका समस्या र सरकारले तयार पारेको विधेयकमा परिमार्जन गर्नुपर्ने भए सुझाव समेत दिने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । कार्यदलको सुझाव अनुसार शीर्ष नेताले निर्णय गर्ने छन् ।

बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै उनले आयोग गठनका क्रममा बनेको सरकारी बिधेयकमा केही बिषय संशोधन र परिमार्जनको आवश्यक्ता रहेकाले ती समग्र बिषयमा सुझाव दिन कार्यदल बनाएको बताए ।

एमाले उपाध्यक्ष बामदेव गौतमले अन्तर्राष्ट्रिय कानून, मानव अधिकार, मुलुकका बिद्यमान ऐनलगायतलाई ध्यानमा राखेर सत्य निरुपण तथा मेलमिलाप आयोगको बिधेयक तयार पार्ने बिषयमा सहमति भएको बताए ।

उनले तयार पारिने विधेयकमा कस्ता, कस्ता बिषय र मुद्धालाई आममाफी दिने, परिपूरण, पश्चाताप र पीडित पक्षका बारेमा के गर्ने भन्ने बिषयमा छलफल भएको बताए । उनले पुनः बस्ने तीन दलको बैठकले बिधेयकमा छलफल गरेर टुङगो लगाउने बताएका छन् ।

बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराई, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले कार्यबाहक अध्यक्ष बामदेब गौतमलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया