खवासको हयाटि्रक

विराटनगर, १३ चैत । राष्ट्रिय मिडफिल्डर भरत खवासले गरेको प्रतियोगिताकै पहिलो ह्याटि्रकपछि नेपाल पुलिस क्लब सुनसरीको धरानमा जारी १४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार धरानस्थित एन्फा एकेडेमीको मैदानमा भएको खेलमा भुटानको सिएफसीलाई ३-१ गोलले पराजित गर्दै ‘ए’ डिभिजन लिगको विजेता पुलिस प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।
पुलिसका भरत खवासले खेलको ३६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै भुटान सिएफसीले गोल फर्काएर खेल बराबरी गरेको थियो । ५४औं मिनेटमा अर्को गोल गर्दै भरतले पुलिसलाई २-१ को अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटमा नै भुटानका पिडर दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि भुटान सिएफसी १० खेलाडीमा सीमित भएको थियो ।
१० खेलाडीमा सीमित भएपछि दबाबमा आएको भुटान सिएफसीविरुद्ध ७५औं मिनेटमा गोल गर्दै भरतले ह्याटि्रक गरेका थिए । प्रतियोगितामा यो पहिलो ह्याटि्रक हो । तीनपटकको विजेता पुलिसले अब फाइनल प्रवेशका लागि डिफेन्डिङ च्याम्पियन मनाङ-मस्र्याङ्दीसँग खेल्नेछ ।मंगलबारको अन्तिम क्वार्टरफाइनल हङकङको नेप्लिज फुटबल टिम र यति हिमालयन शेर्पाबीच हुनेछ ।

प्रतिक्रिया