रामजी र झरनाको “केमिस्ट्री”


काठमाडौं, १३ चैत । कुनै नेपाली निर्देशकले एउटै नायिकालाई आफ्ना चलचित्रमा कतिचोटि दोहोर्‍याउलान्, दुई, चार वा पाँचपटक । तर, निर्देशक रामजी लामिछाने र नायिका झरना थापाबीच जमेको व्यावसायिक ‘केमिस्ट्री’ हेर्ने हो भने नेपाली चलचित्रका लागि त्यहाँ एउटा ‘रेकर्ड’ बनिसकेको छ । रामजीले निर्देशन गरेका अहिलेसम्मका नौवटा चलचित्रमा झरना नै नायिका छिन् ।
किन दोहोर्‍याइरहन्छन् त झरनालाई ? ‘झरनासँग काम गर्न सजिलो छ,’ उनले भने, ‘फेरि म न्युकमर निर्देशक भएर आउँदा पनि झरनाले नै मलाई साथ दिएकाले पनि मैले उनलाई दोहोर्‍याएको हुँ ।’ घातकमार्फत चलचित्र निर्देशनमा ‘डेब्यु’ गरेका रामजीले योलगायत राज्य, स्वीकार, बिदाइ, पहिलो माया हो, मेरी प्रेमिका, सान, बिदाइदेखि अहिले ओमसम्म आइपुग्दा नौवटा चलचित्रमा भरनालाई दोहोर्‍याएका छन् । ‘नायिका मात्र होइन, अहिलेसम्म मैले काम गरेका सबै चलचित्रमा प्राविधिकहरू पनि खासै छुटेका छैनन्,’ उनले भने । झरनालाई लगातार लिनुलाई गलत रूपले हेर्न नहुने प्रस्ट्याउँदै उनले यसबाट काम गर्न सजिलो हुन्छ भने हरेक चलचित्रमा दोहोर्‍याउन सकिने उदाहरण स्थापित भएको बताए । उनले भने, ‘झरना र मबीच दिदीभाइको सम्बन्ध छ ।’
झरनाले पनि आफूहरुबीच दिदीभाइको सम्बन्ध रहेको प्रस्ट्याइन् । रामजीले झरनालाई लिइराखे पनि झरनाले भने आफूले निर्माण गरेका एउटै चलचित्रमा उनलाई निर्देशक लिएकी छैनन् । किन त ? ‘यसलाई नराम्रो रूपले लिनुहुँदैन,’ झरनाले भनिन्, ‘त्यसो भए मैले उहाँबाहेक अरू थुप्रै निर्देशकसँग पनि काम गरेकी छु, उहाँहरू सबैलाई पनि त मैले कहाँ आफ्नो चलचित्रमा लिएको छु र ?’ रामजीले सबै चलचित्रमा आफूलाई लिएकाबारे झरनाको धारणाचाहिँ यस्तो छ, ‘उहाँले निर्देशन गरेका सबै चलचित्रको भूमिका मलाई सुहाउने भएकाले नै मलाई लिनुभएको हो ।’ निर्देशक रामजी र झरनाको भेट निर्देशक शोभित बस्नेतको चलचित्र बारुदमा भएको रहेछ । जहाँ झरना नायिका थिइन् भने रामजी मुख्य सहायक निर्देशक ।

प्रतिक्रिया