ताजमहल र रिसोर्टको भोज

‘एक शहन्शाह ने बनवा के हसीन ताजमहल
सारी दुनिया को मोहब्बत की निशानी दी हैं
तर, शाहीर लुधयानवीले लेखेका थिए,
‘एक शहन्शाह ने दौलत का सहारा लेकर
हम गरिबौं की मोहब्बत का उडाया हैं मजाक
भारतीय गीति साहित्यमा शकिल बदायुनी र शाहिर लुधयानवीबीच प्रेमको मूल्यबारे भएको रचनात्मक द्वन्द्व यहा स्मरणीय छ । पक्कै पनि फिल्ममा दिलीपकुमार र वैजयन्तीमालामाथि फिल्माङ्कन गरिएको शकिल बदायुनीकै गीत प्रख्यात छ, त्यही गीतको मूल्य नै स्थापित छ । त्यसको अर्थ शाहिर लुधयानवीले भनेझै दौलतको सहाराले ताजमहलमार्फत अभिव्यक्त गरेको प्रेम गरिबहरूको दौलतविहीन प्रेमलाई व्यङ्ग्य गरेको तथ्य कदापि बिर्सन सकिदैन ।
हुन त नेपालमै पनि ताजमहलकै शैलीमा रानीमहल नबनाइएको होइन, खड्गशमशेरले पत्नी तेजकुमारीको प्रेममा डुबेर बनाएको रानीमहललाई प्रेमको प्रतीक ठान्नेहरू पनि कम छैनन् । तिनै रानीमहलको जग खोतल्नतिर लागियो भने उत्पीडन र पाखण्डका अनेक तथ्य उधिनिएला नै । तर, यहा इतिहासको खण्डहर भइसकेका महल र राजामहाराजाहरूको होइन, रिसोर्टको सन्दर्भमा देखिएका पाखण्ड पुराण भन्न लागिएको हो, जसमा रिसोर्टप्रेमीहरूका आखाबाट र रिसोर्ट निर्माता श्रमिकका नजरबाट हेर्दा देखिने भिन्नता उधिन्ने प्रयास गरिने छ । शान्ति र संविधानका विवादित विषयमा समाधान खोज्ने नाममा संविधानसभाका मिटिङ छलेर रिसोर्टमा गरिने तीनदलीय शीर्ष नेताहरूको छल र फल सामान्यतः देखिसकेको छ । पार्टीको दस्तावेज लेख्नदेखि आराम गर्न पनि रिसोर्टै धाउने एमाओवादी अध्यक्ष प्रचण्डको बानी पनि सबैलाई थाहा भइसकेको छ । यही संस्कार बढ्दै गएर पार्टी नेताहरूले पार्टी पनि रिसोर्टतिरै गर्ने र गोल्फ खेलको मज्जा लुट्दै पार्टी खाने संस्कृति पनि सुरु भएको छ । प्रश्न उठेको छ, यस्तो कुलीन संस्कृतिले आमरुपमा झुप्रे र छाप्रे जनताको गएगुज्रेको जीवनस्तरलाई गिज्याइरहेको त छैन ?
‘प्रचण्डको रिसोर्टमोह’ एमालेका नेताहरू, विशेषतः तृतीय श्रेणीका नेता खड्गप्रसाद शर्मा ओली प्रवृत्तिका नाइकेहरूका लागि त भाषणबाजीको मसलै बनिसकेको छ । तर, पार्टीका आन्तरिक विवाद मिलाउनदेखि मिलेको भनिएको पार्टी–विवादलाई थामथुम पारिराख्न पनि एमाले नेताहरू स्वयम्लाई पनि रिसोर्टै जरुरी भइसकेको रहेछ । ओलीले त पार्टी एकताका नाममा भर्खरै तेस्रो वरियताको उपाधि पाएबापत एमाले नेताहरूलाई गोकर्ण रिसोर्टमा भव्य पार्टीसमेत खुवाएका छन् । सपत्नी उपस्थित भएका नेताहरूलाई उनले पहिले देशी राजा–महाराजा र विदेशी दामी पर्यटकले मात्रै छिर्न पाउने गोकर्ण रिसोर्टमा पार्टी खुवाएर र  गोल्फ खेल खेलाएर ‘एमाले–मिलाप’को नमुना देखाउन खोजेका छन् । एउटै मञ्चमा बस्दा पनि नबोल्ने संस्कार विकास गरिसकेका एमाले नेताहरूबीच अनौपचारिक सम्बन्ध विकास गर्न उनले भोज र खेलको मेल गराएको हुनसक्छ । हुनसक्छ, यही मेलोमेसोमा उनले ‘रिसोर्टको लोकतान्त्रीकीकरण’स“गै ‘गोल्फको जबजकरण’ पनि गरेको हुनसक्छ, यसबारे जबजका सिद्धान्तकारहरूको नवीन व्याख्या पक्कै आउला ।
रिसोर्टको भोज र खेलस“गै गरिएको रमाइलोको आङ्खनै अर्थ–राजनीति हुन्छ । त्यसको वासलात अपारदर्शी नै रहनेमा कुनै शङ्का छैन । जीविकाका लागि कुनै कमाइधमाइ केही गर्नै नपर्ने राजनीतिक प्राणीहरूको आम्दानी र खर्च अपारदर्शी हुनु अनौठो होइन । राजनीतिक खेतीपातीबाटै रिसोर्टमा भोज, गोल्फ र रामरमिता गर्न पुग्ने रिसोर्स भएका राजनीतिक पेसेवार नेताहरूको आचरण भने धेरैजसो जनताको आखामा अश्लील लाग्नसक्छ । नेता र नेताहरूबाट दीक्षित कार्यकर्ताका नजरमा पार्टीमा नेताहरूबीच भावनात्मक एकताका लागि भोज खानुमा, गोल्फ खेल्नुमा, रमिता देखाउनुमा कुनै आपत्तिजनक हर्कत अभिव्यक्त भएको नठहरिन पनि सक्छ । तर, एक छाक खान, एक धरो लाउन र रमिताको नाउमा बच्चामा भोगटेको फुटबलबाहेक अरु खेल्न नपाएका एमालेजनको दृष्टिमा पनि यस्तो कुलीन व्यवहार जबजको सांस्कृतिक मानदण्डमा खरो उत्रिन्छ त ? उत्तर आएको छैन ।
हुन त संसदीय प्रजातन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्ममा पनि सत्ता र भत्ताको नियमित स्वाद चाख्दै आएका एमाले नेताहरूको जीवनशैली खर्चिलो र भड्किलो भएकामा ‘मिनी महाधिवेशन’मा प्रश्न उठाएका थिए । राजनीतिक पेसाबाटै अकुत सम्पति कमाइएको छ भने भड्किलोरुपमा बाहिर देखिनु अनौठो पनि होइन, न त नेता र नेताका परिवारमा अनेक कुलीन सोख उत्पन्न हुनु नै आश्चर्यको कुरा हो । तर, एमालेमा अहिले पनि नेताहरूको जीवनशैली खर्चिलो र भड्किलो भएको गुनासो गर्ने केही नेता–कार्यकर्ता हुनु र उनीहरूले सोखिन नेताहरूको आचरणमाथि प्रश्न उठाउनु भने पक्कै पनि नौलो हो । तर, यथार्थमा खर्चिलो र भड्किलो जीवनशैलीमा अभ्यस्त एमाले नेताहरूलाई तिनै अपवादका गुनासा र प्रश्नले केही नछुनै भइसकेको छ । उनीहरूका गुनासालाई ओली महोदयले गोकर्ण रिसोर्टको पार्टी, खेल र रमाइलोले कडा जवाफ दिइसकेका छन् । यस्तो जवाफ प्रश्न र गुनासा गर्ने एमालेजनहरूलाई कति टर्रो लागेको छ, हेर्न बा“की छ । एमालेजनहरूले माने पनि नमाने पनि, एमालेको नेता भनेकै तृतीय श्रेणीमा बढुवा भएका ओलीको बोली हो, जुन बोली सुनेर एमालेजन हर्षित हुन्छन् र ताली पिट्दै राजनीतिक उदममा लाग्छन् । प्रचण्डलाई सत्ताका लागि भैंसीपूजा गरेको आरोप लगाएर ताली खाने ओली सभासद् र प्रधानमन्त्रीका लागि ढुङ्गापूजा गर्न लागेको पाखण्डपना भने धेरै एमालेजनलाई थाहा नहुन सक्छ । एमालेजनबीचको लोकप्रिय बोली र व्यवहारकै कारण दक्षिणका देवीदेवता खुसी भए भने, अध्यक्ष भएर बसेका झलनाथ खनालले ओलीसग घाटी मिलाउने क्रममा बचेखुचेको प्रगतिशील जनमुखी एजेन्डा पनि उनकै पाउमा चढाए भने उनको मनसुवा अपुरो नरहन सक्छ । विदेश नजान पार्टीले जारी गरेको ह्विप उल्लङ्घन गर्दै खनाल आफैंले स्वास्थ्य उपचारका नाममा दिल्लीको अपोलो हस्पिटलमा उपचार गरी स्वदेशको स्वास्थ्यप्रणालीको हुर्मत लिने वा राजनीतिक उपचार खोज्ने क्रममा दक्षिणका देवीदेवताकै चाकडी गर्ने काम जारी राखेमा जुनसुकै अश्लील हर्कत पनि असम्भव हुदैन ।
निःसन्देह, ताजमहल वा रिसोर्ट बनाउन सक्नु, रिसोर्टका खाना, खेल र रमिता भोग्न सक्नु, विदेशी हस्पिटलमा उपचार गराउन सक्नु आफैमा नराम्रो होइन । तर, दुई छाक खाना र एक चक्की सिटामोल नपाएर विष खान बाध्य नेपालीजनको आ“खामा भने यस्तो कुलीन विलासिता अश्लील मात्रै होइन, वर्ग विभेद र उत्पीडन पुनरुत्पादन गर्ने संस्कृति पनि हो कि ?

प्रतिक्रिया