पर्यटन व्यवसायीसँग रकम माग्दै दाहालपुत्र

काठमाडौं, १३ चैत । चौतर्फी दवावपछि सरकारी सहयोग अस्विकार गरेको माओवादी लुम्बिनि सगरमाथा शान्ति अभियानले पर्यटन व्यवसायीसँग सहयोग रकम माग्न थालेको छ ।

पवित्र उद्धेश्यले अभियान थालिएको भन्दै अभियानकर्ताले व्यवसायीसँग सहयोग मागेका हुन् ।

अभियानका सचिव युवराज दुलालले प्रेस विज्ञप्ति प्रकाशित गरेर मेगा बैंकमा सहयोग खाता खोलिएको जानकारी गराउँदै पार्टी निकट पर्यटन व्यवसायीलाइ सहयोगका लागि आह्वान गरेका छन् । व्यवसायीलाइ आर्थिक, नैतिक तथा सम्पूर्ण सहयोगका लागि अभियानले आग्रह गरेको छ ।

पवित्र उद्धेश्यले अभियान सुरु गरिएको दावी गर्दै विज्ञप्तिमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिएको छ । माओवादी केन्द्रीय सदस्य कृष्ण केसी नेतृत्वको सगरमाथा चढ्ने टोलीमा पार्टी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाललगायत छन् ।

सरकारी सहयोग फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा दाहालपुत्र प्रकाशले रत्नपार्कमा पाल टाँगेर तीन करोड नेपालीबाट एक एक रुपैयाँ सहयोग माग्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया