कलाकार सम्मानित

काठमाडौँ : लामो समयदेखि कलाक्षेत्रमा सेवा पुर्‍याउँदै आएका डेढ दर्जन कलाकर्मी आइतबार एकसाथ एकै मञ्चमा सम्मानित भएका छन् । कलाक्षेत्रमा समर्पित १९ जना कलाकार राष्ट्रिय स्रष्टा सम्मान २०६८ बाट सम्मानित भएका हुन् । राजधानीमा आयोजित कार्यक्रमबीच प्रमुख अतिथि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनीहरूलाई सम्मान ट्रफी प्रदान गरेका थिए ।
सम्मानित हुनेमा हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, गीतकार कृष्णहरि बराल, धीरेन्द्र प्रेमषिर् र वसन्त चौधरी गायकगायिका जेबी टुहुरे, जीवन शर्मा, शम्भु राई, रामकृष्ण ढकाल, एडि्रन प्रधान, ध्रुव ज्ञवाली र कुन्ती मोक्तान छन् । त्यसैगरी, सम्मानित हुने अन्यमा नृत्य प्रशिक्षक कृष्ण पौडेल, लोकगायक-गायिका देवी घर्तीमगर, विष्णु खत्री, बद्री पँगेनी र विष्णु माझी, सङ्गीतकारहरू चेतन सापकोटा र सङ्गीतकार फणिन्द्र राईलगायत छन् ।
प्रगतिशील तथा देशभक्त सांस्कतिक मञ्चले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री डा. भट्टराईले कलाकारहरूले राष्ट्रनिर्माणमा धेरै महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे । सम्मानित व्यक्तित्व हास्यकलाकार हरिवंश आचार्यले मन्तव्यका क्रममा व्यङ्ग्यात्मक पाराले एउटा खेलाडी गोल गर्न सफल नभए अर्को खेलाडी ल्याउनुपर्छ भन्दा प्रधामन्त्री भट्टराईले जेठ १४ भित्र संविधान बन्नेमा विश्वास दिलाएका थिए । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष प्रदीप देवान, उपाध्यक्ष राजन बलमले पनि मन्तव्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया