महत्त्वपूर्णमा असफल, औपचारिकमा सफल

काठमाडौं, ११ चैत । नेपालले अन्ततः पपुआ न्युगिनीलाई हरायो । एकदिवसीय विश्वकप खेलिसकेको केन्या पनि नेपालसामु स्तब्ध भयो । ‘असफल’ ब्याटिङ पछिल्ला यी दुवै खेलमा जम्यो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल -आइसिसी) टी-ट्वान्टी, २०१२ को विश्वस्तरको छनोटमा नेपालले यी नै उपलब्धि हासिल गर्‍यो र प्रायः अर्थहीन ‘सातौं’ स्थान हात पार्‍यो ।
यस सफलताले नेपाली क्रिकेटप्रेमीलाई दुई वर्षअघिको झझल्को दिएको छ । इटालीमा सन् २०१० मा सम्पन्न  आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन फोर, जुन सन् २०१५ को एकदिवसीय विश्वकपको छनोटका रूपमा थियो, मा नेपालले छनोट खेलमा हारेको टोलीसँग ‘औपचारिक’ खेलमा विजय प्राप्त गरेको थियो । तान्जानियाले प्रस्तुत गरेको १ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा १ सय ८ रनमा समेटिएपछि डिभिजन थ्रीमा प्रवेश गर्ने नेपालको सम्भावना कमजोर बन्यो र अन्ततः एकदिवसीय विश्वकपका लागि सन् २०१९ लाई कुरेर बस्नुको विकल्प रहेन । डिभिजन थ्रीमा प्रवेश गर्न आवश्यक शीर्ष ‘दुई’ मा रहन असफल भएपछि ६ टोली सहभागी त्यस प्रतियोगितामा नेपालले तेस्रो स्थानका लाग्ाि तान्जानियालाई नै १० विकेटले हराएको थियो । पहिला ब्याटिङ गरेको तान्जानियालाई ७४ रनमा समेटेपछि प्राप्त झिनो लक्ष्य नेपालले १२ ओभर तीन बलमा विकेट नगुमाई पूरा गर्‍यो ।
यसपटक पनि महत्वपूर्ण मानिएका खेलमा असफल भयो नेपाल, तर औपचारिकतामा भने सफल रह्यो । र, फेरि पनि यस्तै कुरामा ‘खुसी’ लिएर र्फकनुपर्ने भएको छ नेपाली सिनियर क्रिकेट टोली ।
छनोटको महत्वपूर्ण समयमा नेपाल पपुआ न्युगिनीसँग ३५ रनले पराजित भयो । आ-आफ्नो तेस्रो खेलमा आमने-सामने भएको सो खेलमा १ सय ३८ रनको लक्ष्य पछ्याएको नेपाल १ सय २ रनमा सीमित भयो । यस स्थितिमा पपुआ न्युगिनीको पहिलो जित थियो भने नेपालको पहिलो हार ।
यस नतिजाले नेपाललाई छनोट यात्रामा निकै अप्ठेरो पारेको थियो, बलिया मानिएका अफगानिस्तान, नेदरल्यान्ड्स र क्यानडासँग नेपालको भिडन्त बाँकी नै थियो । यी तीनवटै खेलमा पनि नेपालको ब्याटिङ जम्न सकेन । यसमा पनि क्यानाडाविरुद्धको ब्याटिङ भने बिर्सनलायक रह्यो । १ सय २ रनको लक्ष्य पछ्याएको नेपाल ८३ रनमा समेटियो र विश्वकपको छनोट होडबाट बाहिरियो । गत एकदिवसीय विश्वकप खेलेको क्यानाडाविरुद्ध प्राप्त लक्ष्य १३ ओभरमा भेटाएको भए नेपाल छनोट होडमा अगाडि बढ्ने थियो । जितसम्भव खेलमा नेपालका लागि ब्याटिङ नै समस्या बन्यो । यसमा अनावश्यक दबाब र कमजोर मनोविज्ञान पनि त्यत्तिकै जिम्मेवार भए । यसको पुष्टि खेलाडी आफैले गरिदिए ।
छनोट हुन असफल भएपछिका औपचारिक खेलमा -स्थान निर्धारणका लागि भएका) भने नेपालले निकै राम्रो प्रदर्शन गर्‍यो खासगरी ब्याटिङमा । उत्कृष्ट ब्याटिङ प्रदर्शनकै कारण दुई टिमलाई हराएर नेपाल सातांै भयो । सातौं स्थानका लागि सेमिफाइनल प्ले अफ खेलमा नेपालले केन्यालाई हरायो । गत एकदिवसीय विश्वकप खेलेको केन्याविरुद्ध नेपालले १ सय ४० रनको लक्ष्य दुई बल बाँकी छँदा पूरा गर्‍यो । त्यस्तै सातौं स्थानका लागि भएको प्ले अफमा नेपालले पपुआ न्युगिनीलाई हरायो ६ विकेटले । लिगचरणमा पराजित गरेको पपुआ न्युगिनीविरुद्ध १ सय ३० रनको लक्ष्य एक बल बाँकी छँदा नेपालले पूरा गर्‍यो ।
१२ वर्षअघि पहिलोपटक यु-१९ विश्वकप खेलेको नेपाल अहिलेसम्म सिनियरस्तरको विश्वकपमा सहभागी हुन सकेको छैन । यस्ता प्रतियोगिताका छनोट प्रतियोगितामा नेपालको एउटै नियति छ, प्रदर्शन राम्रो छनोट असफल । यसपटक पनि पुरानै जसरी अनुहार लिएर आउँदै छन् नेपाली सिनियर क्रिकेट खेलाडी आइतबार । र, उनीहरूको प्रतिक्रिया फेरि पनि स्वाभाविक हुनेछ, ‘हामीले राम्रो खेल्यौं, तर केही खेलमा ब्याटिङ जम्न सकेन । अर्कोपटक प्रयास गर्नेछौं ।’ नेपालको ‘असफल’ ट्याग कति समयसम्म जारी रहन्छ त्यो त ‘एक दशकदेखि उत्साहित नेपाली क्रिकेटप्रेमी’ लाई ‘पर्ख र हेर’ को विकल्प छैन । तर पनि फेरि एकपटक पुष्टि भएको छ, ‘नेपाली खेलाडी प्रतिभावान् थिए र छन् तर एउटै समस्याको निदान कहिल्यै भएन ।’

आयरल्यान्ड विश्वकपमा

अफगानिस्तानसँगै आयरल्यान्ड यसै वर्ष श्रीलङ्कामा सञ्चालन हुने आइसिसी टी-ट्वान्टी विश्वकपमा छनोट भएको छ । अबुधाबीमा जारी विश्वस्तरको छनोटबाट सहभागी हुने दुई टेालीमध्ये दोस्रो टोलीका रूपमा आयरल्यान्ड शनिबार निश्चित भएको हो ।
नामिबियालाई नौ विकेटले हराउँदै गत एकदिवसीय विश्वकप खेलेको आयरल्यान्डले टी-ट्वान्टीमा पनि सहभागिता निश्चित गरेको हो । बलिङ र ब्याटिङ दुवैमा जमेको आयरल्यान्डले ९५ रनको लक्ष्य १० ओभर एक बलमा पूरा गरेको थियो । आयरल्यान्डका लागि पल स्टर्लिङले अविजित ५९ रन र विलियम पोर्टफिल्डले २० रनको योगदान गरे । नामिबिया निर्धारित २० ओभरमा ९४ रनमा सीमित भएको थियो । दुईपटकको फाइनल भिडन्तमा पनि नामिबिया छनोट हुन सकेन ।

प्रतिक्रिया