विजयले नायिका पाएनन्

काठमाडौँ : नेपाली चलचित्रक्षेत्रमा नयाँ-नयाँ नायिका भित्रिने क्रम जारी रहे पनि निर्देशक विजयविक्रम बस्नेत नायिका नपाएर छटपटिएका छन् । यसकै लागि हिजोआज उनी दैनिक एकदेखि पाँच जनासम्म केटीलाई भेटिरहेका छन् रे ! यही १५ चैतदेखि छायाङ्कन तय गरिएको चलचित्र तिमीदेखि तिमीसँगका अन्य कलाकारलगायत प्राविधिक छानिसकिए पनि हिरोइन अझै फाइनल गर्न नसकिएको उनले सुनाए । भने- ‘मेरो चलचित्रमा अलि निर्दोष अनुहारकी केटी चाहिएको छ । तर अहिलेसम्म भेटिएका कोही पनि चित्तबुझ्दा लागेनन् ।’ उनका अनुसार यो नारीप्रधान चलचित्र भएकाले नायिकाको भूमिका गहन छ ।
अहिलेका केही नायिका सो भूमिकामा फिट हुने भए पनि उनीहरूले मिल्दो समय उपलब्ध नगराएको उनले बताए । ‘चलचित्रको छायाङ्कन नजिक आइसक्यो, अब दिन खेर फाल्नुभन्दा नयाँ अनुहार नै कुनै छानिहाल्नुपर्ला जस्तो  छ’, उनले भने- ‘अनुहार नयाँ हुँदैमा चलचित्रको व्यापारमा असर पार्ने जमाना अब छैन पनि ।’ धनमाया फिल्म्सको ब्यानरमा निर्माण हुने सो चलचित्रका लागि विकास चौधरीको सङ्गीतमा दीपक लिम्बू, मिलन अमात्य, रजिना रिमाल, माण्डवी त्रिपाठी आदिको स्वर छ । सिक्किम, दार्जिलिङ, इलाम, मिरिकआसपास छायाङ्कन गरिने निर्देशक बस्नेतले जानकारी गराए । समीर खड्का निर्माता रहेको चलचित्रका दुई नायक अडिसनबाट छानिएको पनि उनले बताए । बस्नेतले यसअघि ‘नमस्ते’ र ‘हातमा लाग्यो शून्य’ चलचित्र निर्देशन गरेका छन् । कमेडी बेसका यी चलचित्रमध्ये नायक राजेश हमालले मधेसी भूमिकामा अभिनय गरेको हात लाग्यो शून्य मोफसलको प्रदर्शनपछि राजधानी भित्रिने तयारीमा छ ।

प्रतिक्रिया