मैथिली कथामा वक्रोक्ति बहस

जनकपुरः मैथिली कथाका विभिन्न आयामलाई हेर्ने दृष्टिकोणको विकास गर्ने उद्देश्यले हालै रङ्गभूमि जनकपुरले ‘समकालीन मैथिली कथामा विरोधका स्वर तथा वक्रोक्ति राजनीति’ विषयक अन्तक्रिर्या गर्‍यो । कथालाई सूक्ष्म विश्लेषण गर्दै मैथिली साहित्यको स्तरीयतालाई मापन गर्दै अन्तर्राष्ट्रिय पाठक, समीक्षकसामु उजिल्याउनुपर्नेमा सहभागी वक्ताले जोड दिए । कार्यक्रममा समीक्षक डा. वीरेन्द्र पाण्डेले भने- ‘वक्रोक्तिमार्फत चोटिलो व्यङ्ग्य गर्ने परम्परा मौखिक गाथा, महाकाव्य परम्पराबाट आएको हो ।’ आधुनिक कथाकार डा राजेन्द्र विमलको रामेछापको श्रवणकुमार, धीरेन्द्र प्रेमषिर्को हाइनेक, रमेश रञ्जनको फुलबाहरण तथा रुपा धिरुको सगुनियामा विद्रोहका स्वर तथा वक्रोक्ति राजनीतिउपर  चोटिलो व्यङ्ग प्रहार गरिएको उनले सुनाए ।
कार्यक्रममा साहित्यकार डा  राजेन्द्र विमल, प्राज्ञ रमेशरञ्जन झा, परमेश्वर कापडी, रङ्गभूमिका उपाध्यक्ष योगेन्द्र पण्डित, विद्यापति पुरस्कार कोषका अध्यक्ष अयोध्यानाथ चौधरी, मिनापका अध्यक्ष सुनिल मल्लिकलगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया