खनालका बारेमा अनावश्यक टिप्पणी नगरौः एमाले

काठमाडौं, १० चैत । नेकपा (एमाले)ले स्वास्थ्य उपचारजस्तो संवेदनशील समस्याका कारण नयाँ दिल्ली प्रस्थान गरेका अध्यक्ष झलनाथ खनालका बारेमा भएका टिकाटिप्पणीलाई लिएर असन्तुष्टि जनाएको छ ।

एमाले सचिव युवराज ज्ञवालीले आज विज्ञप्ती जारी गरेर खनालको स्वास्थ्य उपचार सम्बन्धी भ्रमणलाई ‘राजनीतिक भ्रमण वा अन्य ढंगले’ प्रस्तुत नगर्न आग्रह गरेका छन् । उनले स्वास्थ्य उपचार जस्तो सम्वेदनशिल बिषयलाई राजनीतिक ढङगले प्रस्तुत नगर्न सुझाव दिएका छन् ।

शान्ति र संविधानको काम छाडेर एमाले अध्यक्ष खनाल उपचारका लागि भन्दै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेपछि सञ्चारमाध्यमले बिभिन्न टिकाटिप्पणी गरेका थिए । त्यस लगत्तै एमालेले समाचारप्रति असन्तुष्टि जनाएको हो ।

शान्ति र संविधानका काम पुरा नहुँदासम्म सभासद र प्रमुख नेतालाई मुलुक नछाड्न एमालेले ह्वीप नै जारी गरिसकेको छ । आफैले जारी गरेको ह्वीप खनालले उलंघन गरेको पत्रपत्रिकाले आरोप लगाएका छन् ।

यसैवीच, अध्यक्ष खनालले नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गराएको एमालेले जनाएको छ । जारी विज्ञप्तीमा चैत ९ गते भारतको राजधानी नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएको उल्लेख छ ।

स्वास्थ्य परिक्षणका क्रममा अध्यक्ष खनालको पोस्टेड ग्लाण्डको शल्यक्रिया गर्नुपर्ने समस्या देखिएको विज्ञप्तीमा जनाईएको छ । खनालको किडनीमा ‘पत्थरी’को समस्यासमेत देखिएको छ ।

अध्यक्ष खनालको पोस्टेड ग्लाण्ड र किडनीको पत्थरी सम्बन्धी समस्याको उपचार नेपालमै हुन सक्ने चिकित्सकहरुले जनाएका छन् ।

वीर अस्पतालका एक वरिष्ठ फिजिसीयन चिकित्सकका अनुसार यस्ताखालका समस्याको उपचार गरिएका प्रसस्त उदाहरण रहेका छन् । उनले भने, ‘पोस्टेड ग्लाण्ड र किड्नीको पत्थरी समस्या ठूलो होइन, वीरमै समाधान हुन्छ ।’

अपरेशनका लागि अध्यक्ष खनाल आइतबार अस्पताल भर्ना हुनुहुने तथा सोमबार बिहान साढे ९ बजे अपरेशनको समयसमेत निर्धारण भएको सचिव ज्ञवालीले बताएका छन् ।

स्वास्थ्य उपचार पछि अध्यक्ष खनाल आगामी चैत १७ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया