माओवादीका कारण लोकतन्त्र खतरामा

काभ्रे, ९ चैत । कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले एकीकृत माओवादीले विगतमा गरेका सहमति र सम्झौता पालना नगरेकाले लोकतन्त्र खतरामा परेको बताएका छन् ।

प्रेस युनियन केन्द्रिय समितिद्वारा आयोजित लोकतन्त्रका चुनौती विषयक दुइ दिने कार्यशालाको आज धुलिखेलमा उद्घाटन गर्दै महामन्त्री सिंहले माओवादीकै कारण लोकतन्त्र धरापमा परेको टिप्पणी गरे । सिंहले जेठ १४ अघि जसरी भए पनि शान्ति प्रकृया सार्थक निश्कर्षमा पुराउन कांग्रेस र अन्य दल लागि परे पनि माओवादीले नै नचाहेको बताए ।

महामन्त्री सिंहले दलहरुको अविश्वासका कारण सेना समायोजन, शान्ति प्रकृयामा माओवादीका शान्ति र क्रान्तिका दुइखाले नीति प्रमुख भएकाले विश्वासको वातारणमा माओवादी जिम्मेवार हुनुपर्ने बताए ।

उनले राजनीतिमा २४ घण्टा पनि लामो समय भएकाले अझै केहि दिन र महिना बाँकी भएकाले के हुन्छ भन्न नसकिने स्पष्ट पारे ।

पत्रकारहरु हरिहर विरही, तारानाथ दाहाल, कविर राणा, समिरजंग शाह, कुलचन्द्र वाग्ले लगायतले कांग्रेसका नेताहरुले संघीयता र संविधानका बारेमा फरक फरक धारणा सार्वजनिक गर्ने गरेकाले पार्टीको आधिकारीक धारणा ल्याई लोकतन्त्र जोगाउन कांग्रेसका नेता कार्यकर्ताहरुलाई परिचालन गर्न ढिला भइसकेको बताएका थिए ।

प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले लोकतन्त्र रहे मात्र प्रेस स्वतन्त्रता हुने  भएकाले जेठ १४ अगावै शान्ति र संविधानको कार्य सक्न सबै दलहरुलाई खवरदारी गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया