‘शान्ति बिना लोकतन्त्रको अनुभूति हुँदैन’

काठमाडौं, ९ चैत । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शान्ति प्रक्रिया टुङगाएर नयाँ संविधान समयमा जारि गर्ने पक्षमा आफूहरु क्रियाशिल रहेको भन्दै शान्ति प्रक्रियामा आएर कुरा अड्किएको बताएका छन् ।

आफ्नै निवास महाराजगञ्जमा आज विहान जेसिसको ज्ञापन पत्र बुझेपछि सञ्चारकर्मीसँगको कुराकानीमा कोइरालाले शान्ति प्रक्रिया नटुङगिदासम्म संविधान जारि हुन नसक्ने बताए ।

उनले भने, ‘पहिला शान्ति प्रक्रिया टुङगिनु पर्छ अनिमात्रै नयाँ संविधानमा सहमति बन्छ ।’

नयाँ संविधान जेठ १४ गते भित्रै जारि गर्नका लागि कांग्रेसले संघर्ष गरिरहेको बताएका कोइरालाले सहमति कार्यान्वयनमा माओवादीले चासो नदेखाएको बताए ।

उनले शान्ति प्रक्रियाका बिषयमा प्रधानमन्त्री बाबुराम भट्टराई र एकीकृत माओवादीले सहमति कार्यान्वयन गरेमा संविधान निर्माणमा खासै समस्या नरहने बताएका छन् ।

सभापति कोइरालाले शान्ति प्रक्रिया नटुङगिदा सम्म नयाँ संविधान आउन नसक्ने र लोकतन्त्रको अनुभुति समेत नहुँने बताए ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले शान्ति प्रक्रियाका केही बाँकी बिषय अगाडी बढाउनु पर्ने भन्दै शान्ति प्रक्रियामा हुने सहमतिका आधारमा संविधानका बिवादित बिषय टुङगिने बताए ।

उनले शान्ति प्रक्रिया टुङगियो भने संविधानका बिवादित बिषयमा पनि सहमति तत्काल आउने दाबी गरे ।

शान्ति र संविधानका लागि प्रमुख दलहरुलाई दबाव दिदै आएको जेसिसले यस अघि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाललाई ज्ञापन पत्र बुझाई सकेको छ ।

प्रतिक्रिया