नाटकमा नारीका पीडा

काठमाडौँ, ८ चैत । महिलाहिंसा न्यूनीकरण गर्न सरकारी तबरबाट नीतिनियमको व्यवस्था भइसके पनि महिलाहरू हिंसामा परिरहेको यथार्थलाई बुधबार राजधानीको वसन्तपुर डबलीमा मञ्चित नाटक रक्षकले उजागर गरेको छ । महिला हिंसाविरुद्ध कार्यरत महिला मानवअधिकार रक्षकहरू असुरक्षित रहेको प्रसङ्ग उठाइएको सो नाटक कुसुम नाट्य समूहको आयोजनामा मञ्चित भएको हो ।
नाटक मञ्चन हुँदै गर्दा वसन्तपुर डबलीमा हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, जनगायक रामेश, रायन, अधिकारकर्मी डा. रेणुराज भण्डारी, जुलिया चित्रकारसमेतको आतिथ्य थियो । कार्यालयमा होस् वा सार्वजनिक स्थल जहाँसुकै महिलामाथि हुन सक्ने यौनदुव्र्यवहार र बलात्कार घटनामा पक्राउ परेका व्यक्तिलाई पनि माथिको आदेश भन्दै प्रहरीले कसरी छुटाउने गरेको छ भन्ने कुरालाई नाटकमा देखाइएको थियो ।
महिला मानवअधिकार रक्षक सञ्जालको तत्त्वावधानमा प्रस्तुत गरिएको उक्त नाटकमा विष्णुभक्त फुँयाल, रमेश केसी मट्टारे, मञ्जु श्रेष्ठ, राजेन्द्र गड्तौला, महेश गिरी, जयन्ती सिवाकोटीलगायत कलाकारले अभिनय गरेका थिए । नाटकको लेखन तथा निर्देशन वैकुण्ठ भण्डारीले गरेका हुन् ।

प्रतिक्रिया