विस्तारित सडक बनाउन छिटो ठेक्का देउ

काठमाडौं, ८ चैत । प्रधानमन्त्री बावुराम भट्टराईले राजधानीका सडक विस्तारका क्रममा भएका कामलाई छिटो सम्पन्न गर्न र भएगरेका कामको परिणाम निकाल्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज काठमाडौं उपत्यकामा विस्तार गरिएका सडकको अवस्थाबारे सम्बन्धित मन्त्री र उच्च अधिकारीसँग जानकारी लिएका छन् । त्यस क्रममा भट्टराईले थोरै क्षतिमा राम्रा सडक निर्माण गर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री भट्टराईले सडक विस्तारका लागि भत्काउने काम पूर्ण भएपनि निर्माणको काम पछाडि परेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले विस्तारका लागि भत्काइएका सडकलाई व्यवस्थित रुपमा निर्माण गर्नेतर्फ केन्द्रित हुन सम्बन्धित निकायलाई निर्देशन दिए ।

निर्माण कार्यमा ढिला गर्ने हो भने कामकाजि हुन नसक्ने भन्दै भट्टराईले सडक विस्तारको काम विशेष राष्ट्रिय अभियान भएकोले कुनै कुराको अभाव आउन नहुने बताए ।

विस्तार गरिएका सडक निर्माणको ठेक्का प्रक्रिया लगायतका काम छिटो गर्न प्रधानमन्त्री भट्टराईले सचिवहरुलाई निर्देशन समेत दिए । उनले कानून भित्रको लचकतालाई प्रयोग गरेर सडक विस्तार र निर्माणको कामलाई अगाडि बढाउन भनेका हुन् ।

भट्टराईले बर्षा सुरु नहुँदै निर्माणका कामलाई व्यवस्थित गरिसक्नु पर्ने बताएका छन् ।

बैठकमा प्रधानमन्त्री भट्टराईका साथै स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझी, भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रिपाठीलगायत सम्बन्धित मन्त्रालयका सचिव तथा सरोकारवाला संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया