शान्ति प्रक्रिया टुङगिएपछि सहमति बन्छ

काठमाडौ, ८ चैत । एमाले अध्यक्ष झलनाथ खनालले पछिल्लो समयमा दलहरुका बीच भइरहेको वार्ताले शान्ति प्रक्रिया चाँडै टुङ्गिएर संविधानका विवादित मुद्दामा सहमति जुट्नसक्नेमा आशा व्यक्त गरेका छन् ।

नेपाल जेसिजद्वारा शान्ति र संविधानका लागि दवाव सिर्जना गर्ने अभियानअन्तर्गत पार्टी मुख्यालय मदननगर बल्खुमा ज्ञापनपत्र लिदै उनले आफुहरु शान्ति र संविधानका लागि प्रतिवद्ध रहेको र दलहरुबीच पछिल्लो समयमा भएका छलफलले सकारात्मक सन्देश दिएको बताए ।

अध्यक्ष खनालले एकीकृत माओवादीका लडाकुको समायोजनका लागि दर्जा मिलानको विषयमा सहमति कायम हुनावित्तिकै समायोजन प्रक्रिया सकिने र शान्ति प्रक्रियाले तिव्रता पाउने विश्वास व्यक्त गरे ।

उनले सकेसम्म चाँडोभन्दा चाँडो सहमतिको विन्दु खोज्न आफूहरु तयार रहेको बताए ।

खनालले दलहरुबीच लामो समयदेखि रहेको सम्वादहीनताको स्थिति अहिले नरहेको र तिव्ररुपमा दलहरुबीच छलफल अगाडी बढाइने प्रतिवद्धता व्यक्त गरे ।

उनले संविधान लेखनका क्रममा देखिएका विवादित मुद्दामा सहमति जुटाउन संवैधानिक समिति र विवाद समाधान उपसमितिको बैठकलाई निरन्तरता दिइने बताए ।

प्रतिक्रिया