गिरिजाबाबुलाई बिर्सदै कांग्रेस

काठमाडौ, ७ चैत । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाउन पार्टीले सबै जिल्लामा पत्राचार गरे पनि केन्द्रमा भने कुनै औपचारिक कार्यक्रम भएन । केन्द्रमा पार्टीले औपचारिक कार्यक्रम नगरे पनि केन्द्रीय कार्यालयका कर्मचारीले भने पूर्वप्रधानमन्त्रीसमेत रहेका कोइरालाको स्मृति दिवस मनाए । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा कर्मचारीले कोइरालाको दोस्रो स्मृति दिवस मनाएका हुन् ।
कोइरालाको सम्झनामा औपचारिक कार्यक्रम नभएपछि केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीले भने कोइरालाको तस्बिरमा माल्यार्पण गरेर उनको सम्झना गरे । उनीहरूले राजनीतिक परिवर्तनमा कोइरालाले पुर्‍याएको योगदानको स्मरण गरे । कांग्रेसका नेता तथा कार्यकर्ताले भने कोइरालाको सम्झना गरेनन् । केन्द्रीय कार्यालयका कर्मचारीले कोइरालाको स्मृति दिवस मनाउन केन्द्रीय तहका नेतासमेत पाएनन् । पार्टीका सबै पदाधिकारी तथा केन्द्रीय सदस्य वीरगन्जमा जारी पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी छन् ।
कुनै नेता काठमाडौमा उपलब्ध नभएपछि मङ्गलबार बिहान आठ बजे कर्मचारीको उपस्थितिमा मुख्यसचिव वसन्तकुमार गौतमले कोइरालाको तस्बिरमा माल्यार्पण गरे । गौतमका साथै कार्यालयमा कार्यरत सबै कर्मचारीले लाइनमा बसेर कोइरालाको तस्बिरमा फूलमाला चढाए । कोइरालाको तस्बिरमा माल्यार्पण गर्दै गौतमले कोइरालाले देखाएको बाटामा हिड्ने प्रतिबद्धता जनाए । यसअघि कांग्रेसले अन्य नेताको जन्मजयन्ती र स्मृति दिवसमा भने केन्द्रमा ठूलै कार्यक्रम आयोजना गर्दैआएको थियो ।
केन्द्रीय तहका सबै नेता पर्साको विरगञ्जमा जारी प्रशिक्षण सहभागी हुनै पर्सा पुगेका छन् । प्रशिक्षण कार्यक्रममै सभापति सुशील कोइरालासहित केन्द्रीय तहका नेताले भाषणका दुई शब्द खर्च गरेर उनको सम्झना गरे ।
मजदुर आन्दोलनबाट राजनीतिक यात्रालाई अघि बढाएका कोइरालाको ७ चैत २०६६ मा निधन भएको थियो । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कोइरालाले ०६२, ६३ मा भएको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेका थिए । गणतन्त्र ल्याउन मुख्य भूमिका निर्वाह गरेका कोइरालाले मृत्युपछि ‘महानायक’को संज्ञा पाएका थिए ।

प्रतिक्रिया