गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका तत्कालिन सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृती दिवस शुभेच्छुक तथा संघसंगठनले बिभिन्न कार्यक्रम गरेर मनाएका छन् ।

स्मृती दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा गिरिजाप्रसाद कोइरालाको तस्बिरमा माल्यार्णपन गरेर स्मरण गरिएको छ । कांग्रेसले आफ्ना जिल्ला कार्यसमितिहरुलाई कोइरालाको स्मृती दिवस गर्नका लागि परिपत्र समेत गरेको थियो । पूर्वप्रधानमन्त्री कोइरालाको २०६६ साल चैत सात गते अर्थात आजकै दिन निधन भएको थियो ।

उता, स्मृती दिवसका अवसरमा एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रयोग गरेका सामग्री अलपत्र अवस्थामा छन् । स्वर्गीय कोइरालाले प्रयोग गरेका सामाग्रीहरु संग्राहलय बनाएर राखने भनिएपनि अलपत्र परेका हुन् ।

अन्तिम समयमा प्रयोग गरेका सामग्री सङ्ग्रहालय बनाएर राख्ने भनिए पनि उनकी छोरी सुजाताको मन्डिखाटारस्थित निवासमा थन्किएका छन् ।

कोइरालाको निधनलगत्तै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका साथै कांग्रेस नेताले ती सामग्री संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए । घोषणा कार्यान्वयन नहुँदा ‘लोकतान्त्रिक आन्दोलनका महानायक’को संज्ञा पाएका कोइरालाले प्रयोग गरेका सामग्री अलपत्र अवस्थामा थन्किएका हुन् ।

कोइरालाको निधन भएको दुई वर्ष बिते पनि सरकारले मात्र होइन कांग्रेसले समेत सङ्ग्रहालय बनाउन कुनै चासो देखाएको छैन ।

कोइरालाको अन्तिम समयमा उपचारार्थ प्रयोग गरिएका औषधिलगायत सामग्री नष्ट भइसकेका छन् । स्थान अभावका कारण भन्दै कोइरालाले प्रयोग गरेका टेबुल, कुर्सी, लुगा, चप्पल, ह्विलचियर, नुहाउन प्रयोग गर्ने बाल्टिन, जगसहितका सामग्री सानो कोठामा राखिएको छ ।

सङ्ग्रहालयमा राख्ने भनिएको बा ४ च ९७९६ नम्बरको गाडी सुजाताका छोराबुहारीले प्रयोग गर्दै आएका छन् । कोइरालाको सम्झनामा छोरी सुजाताले जिपी प्रतिष्ठान भने स्थापना गरेकी छन् ।

मजदुर आन्दोलनबाट राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित कोइरालाको इतिहासलाई ‘जीवन्त’ राख्न मोरङको विराटनगरमा समेत ‘राजनीतिक सङ्ग्रहालय’ बनाउने भनिएको थियो । कोइराला पार्टीका पूर्वसभापति मात्र नभई गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कोइरालाको ७ चैत ०६६ मा क्यान्सर रोगबाटनिधन भएको थियो ।

प्रतिक्रिया