जनवादी संविधान बन्दैनः अध्यक्ष दाहाल

काठमाडौं, ७ चैत । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अहिले जनवादी कम्युनिष्ट संविधान नबन्ने बताएका छन् ।

लाजिमपाटस्थित आफ्नै निवासमा आज ज्ञापन पत्र बुझाउन पुगेका समूहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनवादी संविधान बन्ने अवस्था नरहेको बताए । उनले भने, ‘सबैलाई थाहा छ, अहिले जनवादी कम्युनिष्ट संविधान बन्दैन ।’

कसैकसैलाई जनवादी संविधान बन्छ कि भनेर चिन्ता लागेको बताएका दाहालले त्यस्तो आशंका र चिन्ता नगर्न आग्रह गरे । माओवादी वरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले जनसंविधान माग गरिरहेका समयमा अध्यक्ष दाहालको यस्तो भर्नाइ सार्वजनिक भएको छ ।

उनले संघीय लोकतान्त्रिक संविधान नै समयमा बन्ने बताएका छन् । अध्यक्ष दाहालले जेठ १४ भित्र नयाँ संविधान आउने दाबी गर्दै आशंका नगर्न भनेका छन् । उनले संविधानका चार पाँच वटा बिषयमा मात्रै बिवाद रहेको भन्दै सहमतिका लागि दलहरुका बीच छलफल केन्द्रित भएको बताए ।

शान्ति प्रक्रियाका काम तिव्रताका साथ अगाडी बढेको अध्यक्ष दाहालको दाबी थियो । उनले भने, ‘तीन बर्षदेखि हुन नसकेको बर्गीकरण लगायतका काम भईसकेका छन् ।’ शिविर घटाउने र खाली गर्ने तथा समायोजनका गतिविधि भईरहेको अध्यक्ष दाहालको भनाई छ ।

उनले सेना समायोजनको काम पनि थोरै मात्रै बाँकी रहेको भन्दै केही प्राधिविक बिषय मिल्ने बित्तिकै लडाकुको समस्या टुङगीने बताए । उनले सेना समायोजन गर्दैमा शान्ति प्रक्रिया नटुङगीने बताएका छन् । बेपत्त परिवारलाई राहत, क्षतिपूर्ति, वेपत्ताको खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग गठनलगायतका काम अझै बाँकी रहेको अध्यक्ष दाहालले बताए ।

यसैवीच, आजै बिहान माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटबार्ता भएको छ । माओवादी उपाध्यक्ष समेत रहेका भट्टराईलाई उनकै सरकारी निवास बालुवाटारमा पुगेर भेटगरी दाहालले पार्टी भित्रको आन्तरिक समस्या र शान्ति तथा संविधान लगायतका बिषयमा छलफल गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया