नयाँ प्रयोगलाई सफलता


काठमाडौ, ६ चैत । चलचित्र लुटबाट ‘नयाा स्वाद’ को अनुभूति चाखेपछि त्यसलाई अत्यधिक आर्थिक लाभ गराएका नेपाली दर्शकले भर्खरैको चपली हाइटलाई पनि त्यो स्वाद चखाएका छन् । अहिलेसम्म गरेको व्यापारका हिसाबले चपली हाइटले यसअघिका चलचित्रले यत्तिकै अवधिसम्म बनाएको व्यापारिक रेकर्डलाई पनि उछिनेको छ । लुटजस्तै चपली हाइट सफल हुनमा यसमा प्रयुक्त ‘अमर्यादित’ शब्द र नायिकाका अर्धनग्न दृश्यको भूमिका रहेको विश्लेषण  गर्न थालिएको छ ।
जे भए पनि चपली हाइटले व्यापारिक हिसाबले ओह्रालो लाग्दै गरेको नेपाली चलचित्रमा आशा जगाएको छ । यससागै नेपाली चलचित्र युवा वर्गले हेर्दैनन् भन्ने मान्यता पनि तोडिएको छ । चलचित्र प्रदर्शन भएका अधिकांश हलमा युवावर्ग नै बढी छन्, केटी दर्शक बढी देखिन्छन् । चपली हाइटसागै एकै दिन प्रदर्शनमा आएका अन्य दुई चलचित्र रक्षक र सडकले लगानी उठाउने सङ्केतसमेत देखिएको छैन । चलचित्र सेन्सर बोर्डले उत्तेजक अनि ‘अश्लील’ दृश्य रहेको चपली हाइटलाई १६ वर्षमुनिकाले हेर्न नपाउने भन्दै ‘एडल्ट’ सर्टिफिकेट दिएको छ ।
‘छाडा संवाद र सेक्सी सिनले दर्शकलाई हलसम्म तानेका हुन्, जुन कुरा सजिलै देखाउन मिल्दैन, त्यसप्रति दर्शकको चासो हुनु स्वाभाविकै हो,’ चपली हाइटका निर्माता अर्जुन कुमारले स्विकारे- ‘संसारमा बिक्री हुने नै सेक्स हो, यही विषय समातेकाले चलचित्र सफल भएको हो ।’ चलचित्रमा प्रयोग भएजस्ता सिन कतिपय अवस्थामा यसअघि अन्य च्यानलबाट प्रसारण भइसकेका भएकाले यसलाई नकारात्मक दृष्टिले हेर्न नहुने तर्क उनी गर्छन् ।
यसअघि प्रचारका क्रममा नायक अमिर गौतम र नायिका विनीता बरालको नग्न तस्बिरसहितको पोस्टरमाथि कलङ्की प्रहरीले आपत्ति जनाएपछि चपली हाइटको निर्माण पक्षले नायक-नायिकाले लुगा लगाएको पोस्टर प्रकाशित गरेको थियो । ‘छाडा शब्द र सेक्सका विषयले चलचित्रलाई सफलता दिलाउनु सकारात्मक नै हो,’ नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष राजकुमार राईले प्रतिक्रिया दिए, ‘यो व्यापारले आर्थिक हिसाबले निराशामा रहेको चलचित्र उद्योगमा आशा जगाएको छ ।’ यद्यपि, यस्ता चलचित्रको यस किसिमको सफलताले उद्योगलाई दीर्घकालीन फाइदा पुर्‍याउने वा नपुर्‍याउनेबारे बहस जरुरी रहेको उनी बताउाछन् ।  यसअगाडि यस्तै विषयवस्तुमा बनेको पलपलमाले पनि निकै चर्चा कमाएको थियो ।

प्रतिक्रिया