च्यारिटीमा त्रिपिटक

कैलालीः सुदूरपश्चिममा छायाङ्कन गरिएको चलचित्र त्रिपिटकको हालै धनगढीमा च्यारिटी सो गरिएको छ । चलचित्रको पहिलोपटक धनगढीको जोशी टाकिजमा च्यारिटी सो गरिएको हो । प्रसिद्धि सिने मेकर्स प्रालिको ब्यानरमा बौद्ध धर्मानुयायीको जीवनसङ्घर्ष समेटिएको चलचित्रमा एउटा धर्मानुयायीले धर्मरक्षाका लागि गरेको त्यागको कथावस्तु समेटिएको छ ।
करन केसी, करन चन्द, किशोर भट्टलगायत कलाकार मुख्य भूमिकामा रहेको यो चलचित्र मुकुन्द भण्डारीले निर्देशन गरेका हुन् । कथा किशोर भट्टले लेखेका हुन् भने डिक खड्का र सोनु खड्काको सामूहिक लगानीमा चलचित्र निर्माण भएको हो ।
द्वन्द्व-निर्देशन जनक गुरुङले गरेका छन् । कैलालीको गोदावरी, कञ्चनपुरको दोधारा-चाँदनीलगायत स्थानमा छायाङ्कन गरिएको चलचित्रको च्यारिटी सोको उद्घाटन गोदावरीस्थित बुद्धमन्दिरका प्रेम लामाले गरेका थिए । चलचित्रमा नायकनायिकादेखि अधिकांश कलाकार पनि सुदूरपश्चिमकै छन् ।

प्रतिक्रिया