प्रधानमन्त्री भट्टराईद्धारा तीन मन्त्रीसँग स्पष्टिकरण

काठमाडौं, ५ चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले बीर अस्पतालमा चिकित्सक, विरामी र सञ्चारकर्मी माथि अभद्र व्यवहार गर्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सरोजकुमार यादवसँग स्पष्टिकरण लिएका छन् ।

प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा आज भट्टराईले राज्यमन्त्री यादवसँग वीर अस्पतालमा गएराति भएको घटनाका बारेमा सोधपुछ गरेको प्रधानमन्त्रीका निजी सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए । प्रधामन्त्रीले त्यस क्रममा राज्यमन्त्री यादवलाई मदिरा पिएर सार्वजनिक स्थलमा नजान निर्देशन दिएको स्रोतको भनाई छ ।

राज्यमन्त्री यादवले आफू सच्चिने भन्दै प्रधानमन्त्रीसँग माफी समेत मागेका छन् ।
राज्यमन्त्री यादवले वीर अस्पतालमा गएराति गरेको बितण्डाका बारेमा आक्रोशित प्रधानमन्त्री भट्टराईले भने, ‘तपाईका कारण मेरो बेईज्जती भईसक्यो, अब म आफै छानविन गरेर तपाईलाई कारबाही गर्छु ।’

स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले राज्यमन्त्री यादवलाई सरकारको बद्नाम गर्ने कार्यमा लाग्ने हो भने राजीनामा दिन सुझाव दिएका थिए । जवाफमा स्वास्थ्य राज्यमन्त्री यादवले आफू सच्चिने भन्दै एक पटकलाई माफि दिन आग्रह गरे ।

त्यसै गरेर कर्मचारी सरुवामा बिवादमा तानिएकी श्रम तथा यातायात व्यवस्था मन्त्री सरिता गिरीसँग पनि श्रम विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईको आकस्मिक सरुवाका बिषयमा स्पष्टिकरण लिएका थिए ।

प्रधानमन्त्री भट्टराईले भूमि सुधार राज्यमन्त्री ज्वालाकुमारी साहले मन्त्रीका बिरुद्ध दिएको सार्वजनिक अभिब्यक्तिका बिषयमा समेत सोधपुछ गर्दै जथाभावी नबोल्न निर्देशन दिएको सहयोग पाण्डेले बताए ।

प्रतिक्रिया