टिप्परको ठक्करबाट दुई अधिकृतको मृत्यु

रुपन्देही, ६ चैत । बुटवल नगरपालिका वडा नम्वर दस मिलनचोकमा तीव्र गतीमा रहेको टिप्परको ठक्करले मोटरसाइकलमा सवार वन कार्यालयका २ जना कर्मचारीको मृत्यु भएको छ ।

बुटवल चाँदबारी निबासी ५० वर्षीय दिलिप न्यौपाने र देवीनगर निवासी ४६ वर्षीय नवराज श्रेष्ठको टिप्परको ठक्करबाट आज विहान मृत्यु भएको हो । जिल्ला वन कार्यालयमा अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका दुवै जना लु ५ प २३४० नम्बरको हिरोहोण्डा मोटरसाइकलबाट भैरहवास्थित कार्यालयमा जाँदै थिए ।

न्यौपाने जिल्ला वन कार्यालयका अधिकृत र श्रेष्ठ लेखापाल रहेको प्रहरीले जनाएको छ । सोही दिशाबाट गुडिरहेको लु १ ख ३९६० नम्वरको टिप्परले मिलनचोकमा मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ठक्करले दुवै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी बुटवलका निरीक्षक रामेश्वर कार्कीले बताए ।

ठक्कर दिएर भागेको टिप्पर चालकलाई सुख्खानगरका केही युवाले रामनगरमा पुगेर नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । मुख्य सडकमै रहेको खाडलका कारण मोटरसाइकल अल्मलिए पछि तीव्र गतिमा आइरहेको टिप्परले किचेको प्रत्यक्षदर्शी धु्रव पन्थीले बताए ।

दुर्घटना लगत्तै मिलनचोकमा सर्वसाधारणको भीड लागेको थियो । उनीहरुले सडकमा परेका खाल्डा नपुरेकाले दुर्घटना निम्त्याएको र खाल्डाहरुमा संकेत चिन्हसमेत नराखिएको भन्दै सडक विभाग र ट्राफिक प्रहरीसँग आक्रोस पोखेकाछन् ।

बुटवलको राजमार्ग चौराहादेखि अस्पताल लाइनसम्मको सडक विस्तार गर्न लागेको छ । बजेट पर्याप्त नआएको र विभागले पहिलो प्राथमिकतामा नराखेको भन्दै विस्तारको काम विगत डेढ वर्षदेखि अधुरो अवस्थामा छ ।

प्रतिक्रिया