‘महाशक्ति बन्न सक्दैन भारत’

नयाँदिल्ली, ४ चैत । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र बनी महाशक्ति बन्ने होडमा भारत लागिरहेको भए पनि भारतका प्रख्यात इतिहासविद् रामचन्द्र गुहाले कुनै हालतमा पनि भारत महाशक्ति बन्न नसक्ने ठोकुवा गरेका छन् । बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सका लागि विशेष प्रतिवेदन तयार पार्न गठन गरिएको अनुसन्धानकर्ताको टोलीका नेता गुहाले गहन अध्ययनपछि महाशक्ति बन्ने ल्याकत भारतसँग नरहेको दाबी गरेका हुन् ।
‘इन्डिया अफ्टर गान्धी द हिस्ट्री अफ द वल्र्ड लार्जेस्ट डेमोक्रेसी’ जस्तो बहुचर्चित किताबका लेखक गुहाले सातवटा कारण अघि सार्दै यस्तो दाबी गरेका हुन् । उनका अनुसार भारतलाई महाशक्ति बन्न नदिने कारण हुन् – भारतमा जारी माओवादी विद्रोह, दक्षिणपन्थी हिन्दूहरुको उपस्थिति, कुनै समय ‘उदार र इमान्दार’ रहेको केन्द्रको अधोगति, धनी र गरिबबीच बढ्दो खाडल, मिडियाको क्षयीकरण, जारी स्रोत उपभोगको शैलीमा देखिएको दिगोपना र बहुदलीय सरकारले निम्त्याएको अस्थिरता तथा नीतिगत असम्बद्धता ।
साथै, इतिहासविद् गुहाले भारतलाई महाशक्ति बन्ने प्रयाससमेत नगर्न सुझाव दिएका छन् । ‘मेरो विचारमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिस्पर्धात्मक परीक्षा होइन । कुल गार्हस्थ उत्पादन अथवा फोब्र्स र फर्चुनको सूचीमा पर्ने अर्बपतिहरूको सङ्ख्या, ओलम्पिकमा जितेको स्वर्ण पदकको सङ्ख्या, सबैभन्दा ठूलो विमानवाहक उपकरणको परिचालन अथवा आम विध्वंसकारी परमाणु हतियारमाथिको स्वामित्व आदिका आधारमा कुन राष्ट्र अगाडि छ भन्ने कुराको मूल्याङ्कन गरिनुहुन्न,’ उनी भन्छन् ।
भारतले अन्य राष्ट्रको उपलब्धिलाई आधार नबनाई आफ्नै मूल्य, मान्यता र आदर्शका आधारमा आफ्नो मूल्याङ्कन गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘एउटै भाषा, धर्म अथवा सिद्धान्तभित्र ‘भारतीयपन’ लाई सङ्कुचित गर्न अस्वीकार गर्ने र विविधतालाई आत्मसात् गर्ने’ पृथक् विशेषता भारतमा रहेको उनले जिकिर गरेका छन् ।
इतिहासविद् गुहाको नेतृत्वमा रहेको अनुसन्धानकर्ताको टोलीले महाशक्ति बन्न अग्रसर हुनाको सट्टा अधिकतम समावेशी र निपुण समाज निर्माण गर्न, भत्किएका सामाजिक संस्था र विधि पुनः निर्माण गर्न एवं भ्रष्टाचार नियन्त्रणतर्फ अग्रसर हुन भारतका लागि लाभदायक हुने सुझाव दिएका छन् । (बिबिसी)

प्रतिक्रिया