तमी खेल्न नाई जान्ना…

‘घर केइनाई, खानपिना केइनाई, केइ दिन्या हो कि भनी आया हो । आँखा पनि देख्न्या नाई म बूढीको हेरचाहा हुन्या हो कि भनी आया हो हजुर ।’ अछामको मङ्गलसेनमा नारी दिवसको जुलुसमा आएकी ८० वर्षीया दिलु विकले सञ्चारकर्मीलाई जुलुसमा आउनुको उद्देश्य बताइन् । रूखको फेदमा टुसुक्क बस्दै सुस्केरा हालेर उनले आफ्नो दुखेसो यसरी पोखिन् । त्यसो त वली गाउँकी लक्ष्मी बोहरा पनि नारी दिवसबारे अनभिज्ञ थिइन् । दिलु र लक्ष्मी त उदाहरण मात्र हुन् । आज पनि धैरैजसो सहरकै महिला नारी दिवसबारे अनविज्ञ छन् । त्यो त अछाम जस्तो बिकट गाउँको कुरा हो । वर्षौंदेखि नेपालमा नारी दिवस मनाइन्छ तर त्यसको पहुँच आम महिलासम्म पुग्न सकेको छैन ।
१०२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अछामको मङ्गलसेनमा मनाउने अवसर हामीलाई डेमोफिनल्यान्डले दिएको थियो । अप्रत्यासित रूपमा मैले पाएको उक्त अवसरलाई उपयोग गर्दै युवा विद्यार्थी नेताका साथ हाम्रो यात्रा काठमाडौँबाट धनगढी हुँदै दोस्रो दिन मङ्गलसेन पुग्यो । आठ मार्चको बिहान जिविस सभाकक्षमा राजनीतिक दलका नेतासहित कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमको मुख्य नारा थियो ‘छाउपडी कुप्रथाविरुद्ध युवा सहकार्य, १०२ औँ अन्तर्राष्ट्रिय नारी दिवस’ यो नारा हामी नेपालको पूर्वीय संस्कृतिमा जन्मेहुर्केका मानिसका लागि अनौठो र बुझ्न लायक नै थियो । अर्कातर्फ उक्त विषयमा पढेका र सुनेका मात्र हामीलाई उनीहरूको भोगाइ नजिकबाट हेर्ने अवसर डेमो र युवा विद्यार्थीले जुटाइदिए । त्यसले सहभागी हामी पत्रकारमा ठूलो उत्साह थियो ।
टोलीमा सहभागी सञ्चारकर्मीले त अछामलाई नजिकबाट बुझ्ने कोसिस ग¥यौँ नै । तर, त्यहाँका महिला, बालबालिका र तल्लो वर्गका जनताले भोगेको भोगाइ यति जटिल छ कि यहाँ वर्णन गरेर साध्य छैन । पिठ्यूँमा नानी बोकेर प्लेकार्ड बोक्ने महिलाहरू चिच्याइचिच्याइ भन्दै थिए ‘महिला हिंसा अन्त्य गराँै, छाउपडीविरुद्ध सहाकार्य गराँै, महिलालाई गोठमा होइन घरमा राखाँै, सामाजिक कुरीतिविरुद्ध सँगसँगै’ जस्ता महिला अधिकारका बगे्रल्ती नारा लेखिएका प्लेकार्डले मङ्गलसेन बजार रङ्गिएको थियो । त्यस्तै नाराको गुन्जनले अब त महिलाले छाउको नाममा महिनावारी हुँदा गोठमा अनिँदो भएर रात काट्नु पर्दैन कि भन्ने आभास दिन्थ्यो । कार्यक्रममा छाउपडीविरुद्ध ऐक्यबद्धता जनाउँदै उपस्थित सबै दलका नेता र सामाजिक कार्यकर्ताले हस्ताक्षर पनि गरे । एउटा अवसर आउँदा कार्यक्रममा रमाउने हामी नेपालीको बानी नै भएको छ । अर्काे दिनदेखि पुरानै स्थानमा पुगेका हुन्छौ । हामी काठमाडौँबाट जुन उत्साहका साथ मङ्गलसेन पुगेका थियौँ, त्योभन्दा कम उत्साह त्यहाँका महिलामा थिएन । उनीहरू हामीलाई आफ्ना मनका पीडा सुनाउन निकै उत्सुकताका साथ पर्खिरहेका जस्तै देखिन्थे ।
झिलीमिली राता सारीमा गलाभरी रङ्गीबिरङ्गी पोते लागाएका महिला देउडा खेल्दै थिए । तर, न त हामीले उनीहरूले गाएको बुझ्दै थियौँ न त उनीहरूको चालमा हाम्रो चाल मिल्दै थियो । तर, पनि दिनभरिको अन्तक्र्रिया र जलुसपछि साँझ हामीले त्यहाँका महिलासँग अछाम दरबारको प्राङ्गणमा देउडा खेल्न पनि भ्यायौँ । होलीको समयमा स्थानीय संस्कृतिअनुसार खेलिने देउडाको जानी–नजानी पैताला मिलाउन खोजेजस्तै गरेर हामीले पनि आनन्द लियौँ । वरिपरि पुरुष दर्शक अनि बीचमा हामी महिला एकआपसमा हातमा हात मिलाएर घुम्यौँ । तर, दुई राउन्डपछि हामीलाई खेल्न दिइएन । ‘तमी बिगान्र्या हौ हटी जाऔ, तमी खेल्न जान्या होइनौ, हाम्रा खेल बिगान्र्या हौ’ यसो भनेपछि हामी हाँस्दै बाहिरियौँ र उनीहरूले खेलेको हेरेर आनन्द लियौँ । पूर्वतिर गाइने दोहोरीजस्तै उनीहरू गाउँदै नेताले देश बनाएन भनेर व्यङ्ग्य गर्दै थिए ।
काठमाडाँैदेखि त्यहाँको जीवन र भोगाइलाई बुझ्न हिँडेका हामी अछामका दिदिबहिनीसँग मनाएको नारी दिवस र उनीहरूसँग खेलेको देउडालाई मनमा सजाउँदै हामीले काठमाडौँतिर आउनुपर्ने थियो । सँगै उनीहरूले भोगेका बग्रेल्ती पीडालाई डायरी र रेकर्डरमा भरेर हात हल्लाउँदै बिदा भयौँ हामी मङ्गलसेनबाट ।

प्रतिक्रिया