मत-विमत

साहित्य पञ्चकन्या डन्डीजस्तो होइन

सौर्य अनलाइन २०६८ चैत ४ गते २:३३ मा प्रकाशित

नेपालगन्जमा जन्मी वीरगन्जमा हुर्केका, भद्रपुर र विराटनगर अनि त्यसपछि काठमाडौमा शिक्षा अध्ययनका क्रममा रचेबसेका विमलकृष्ण श्रेष्ठ (विमल निभा) अब यही जेठदेखि ६० वर्षमा पाइला हाल्दैछन् । २० को दशकदेखि नेपाली कविता र ३० को दशकदेखि व्यङ्ग्य निबन्धमा निरन्तर उपस्थिति जनाइरहने कवि निबन्धकार स्तम्भकार विमल निभा आफ्नो मिहीन तर प्रहारक लेखनशैलीका कारण बढी चर्चित स्रष्टा हुन् । उनका दुई कवितासङ्ग्रह र एक निबन्धसङ्ग्रह प्रकाशित छन् ।

नया कविता किन नलेख्नुभएको ?
यतातिर आएर कविता लेखिरहेको छु । ‘गरिमा’को आगामी अङ्कमा मेरो ‘छिँडी’ शीर्षकको कविता आउँदै छ । अन्य कविता पनि विभिन्न पत्र–पत्रिकामा प्रकाशित हुँदै छन् । कृपया हेर्नुहोला ।
तपाईंलाई रक्सी र कवितामा केले बढी लठ्याउछ ?
रक्सी र कविता तुलनीय कुरा होइनन् । यद्यपि कतिपय समयमा रक्सीले कवितालाई चुनौती दिने गर्छ । तर, यो रक्सी र कविता दुवैका सामीप्यमा रहने कविको व्यक्तिगत प्रसङ्ग हो । सायद म यस कोटिको कविहरूमा पर्दिनँ ।
सिङ्गो जीवन कवितामा समर्पित गरेपछि तपार्इं यसलाई कत्तिको उत्पादक वा अनुत्पादक भन्नुहुन्छ ?
कविताले मेरो जीवनलाई एउटा अर्थ प्रदान गरेको छ । यो मलाई सर्वाधिक प्रिय विधा हो । जहाँसम्म उत्पादक–अनुत्पादकको कुरो छ, कवितालाई अनुत्पादक ठान्ने हो भने यो राष्ट्रको सबभन्दा अनुत्पादक व्यक्तिमा महाकवि लक्ष्मीप्रसाद देवकोटा दरिने छन् । मेरो विचारमा यही प्रसङ्गमा तपाईंको प्रश्नको उत्तर लुकेको छ ।
कविता लेख्न केले प्रेरित गर्छ ?
जीवनले । समाजले । मानिसले । धुलोले । माटोले । देशले ।  तपाईंले । प्रकृतिले । विश्वले । सूर्यले । रङ्गले । झन्डाले । श्वास–प्रश्वासले । सबैले ।
जीवनका सुरुमा लेखिएका कविता अहिले पुराना या काम नलाग्ने भएझै लाग्दैन ?
प्रत्येक समयको आआफ्नो महत्ता रहेको हुन्छ । यसलाई तपाईं यसरी बुझ्नोस्, मैले पुराना कविताका रचना नगरेको भए अहिले नयाँ कविता कसरी लेख्थेँ ?
लेख्नुअघि कुनै शैली वा विषयको खाका बन्छ कि यो पछि बन्ने कुरा हो ?
एउटा धुमिल आकृति पहिले आउँछ, त्यसपछि लेख्ने क्रममा त्यसमा आवश्यक अवयवहरू थपिँदै जान्छन् । मेरो लेख्ने प्रक्रिया यही हो । सायद सबैले लेख्ने तरिका यही हो । यसमा मौलिकताको मेरो कुनै दाबी छैन ।
लेखनको मामलामा उमेर के चिज रहेछ ? ३० वर्षे उमेर र अहिलेमा के फरक हुन्छ ?
आरम्भमा तरुणाइको स्वाभाविक आवेग थियो, त्यसमा उमेरले क्रमशः अनुभव थुपार्दै लगेको जस्तो लाग्छ । यसरी केटौले लेखनले एक प्रकारले वयस्कता प्राप्त गरेको छ । उमेरको ६ दशक टेक्दै गरेको मैले आफ्नो ३० वर्षे जोस, उत्साह र उमङ्ग आदिलाई कहिल्यै त्याग गरेको छैन ।
कविताको अस्तित्वबिना कसलाई बढी असर पथ्र्यो होला–कवि, पाठक कि समालोचक ?
कविता नै नभएको भए कवि र पाठक समालोचक कसरी हुन्थे ? कविताको आयु कति हुन्छ ?
कविता आयुहीन हुने गर्छ । मेरो विचारमा राम्रो कविता कहिल्यै मर्दैन । यसले मृत्युमाथि विजय प्राप्त गरेको हुन्छ (त्यसैले हुनुपर्छ, कोही–कोही यसलाई कालजयी भन्ने पनि गर्छन् ) । जहाँसम्म नराम्रो कविताको प्रश्न छ, त्यसको जन्म र मृत्युको कुनै अर्थ छैन ।

तपाईंलाई मर्न डर लाग्छ कि झुर कविता लेख्न ?
अघिल्लो प्रश्नोत्तरमा नै यसको उत्तर अन्तर्निहित रहनेछ । मेरो भन्नुको आशय के हो भने कविता लेख्न सके त्यसले स्वतः मृत्युमाथि विजय प्राप्त गर्छ । तसर्थ, मृत्युसँग डराउनै पर्दैन ।
समकालीन प्रगतिवादी साहित्यको अवस्था कस्तो छ ?
यो तमाम सामाजिक विसङ्गति, कुरीति र असमानताविरुद्ध जुध्दै अघि बढिरहेको छ । यही प्रगतिवादको लक्ष्य हो । त्यसैले प्रगतिवादी धारका लेखक लक्ष्य भेदनमा सक्रियताका साथ लागेका छन् । यही हुलको म पनि एउटा सदस्य हुँ । र, यसमा मलाई गर्व छ ।
नेपाली कविताको प्रगतिवादी धार नै अहिलेको मूलधार हो त ?
अवश्य नै हो । यही धारको समर्थन र विरोधमा नेपाली साहित्य अघि बढिरहेको छ । त्यसैले नेपाली कविताको केन्द्रमा प्रगतिवाद नै छ । यो भन्नमा मलाई कुनै सङ्कोच छैन ।
प्रगतिवादीहरू बजार–चर्चाको मामलामा किन पछि परेका देखिन्छन् ?
हामी कविता, कथा, उपन्यास, निबन्ध, समालोचना आदिलाई रमपम चाउचाउ, पञ्चकन्या डन्डी, आरएमसी मसला, बाटा जुत्ता आदि ठान्दैनौँ । साहित्य भनेको मानिसको चेतनासँग सम्बन्धित कुरा हो । मलाई लाग्छ, यसको मर्यादा पालन गर्नुपर्छ भन्ने कुरामा प्रगतिवादी साहित्यकार सचेत छन् ।
साहित्यमा प्रगतिवादी धारको उपस्थिति किन कमजोर देखिन्छ ?
यो प्रश्न नै सही छैन । प्रगतिवादी धार नै नेपाली साहित्यको सबभन्दा सशक्त धार हो । त्यसउसले यो कमजोर छ भन्ने प्रचार मिथ्या हो । कृपया झुठको पछि नलाग्नोस् ।
नेपाली कविताका यी तीन स्रष्टाको क्रम मिलाई दिनोस् न, भूपि शेरचन, युद्धप्रसाद मिश्र, गोपालप्रसाद रिमाल ।
गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र र भूपी शेरचन ।
प्रस्तुतिः दीपक सापकोटा

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय