तेस्रो खेलमा नेपाल पराजित


दुबई, २ चैत । आइसिसी ट्वान्टी-२० (टी-ट्वान्टी) विश्वकप छनोटमा नेपालले पहिलो पराजयको सामना गरेको छ । सारजाहको क्रिकेट मैदानमा बिहीबार नेपाल प्रतिद्वन्द्वी पपुवा न्युगिनीबाट ३५ रनले पराजित भएको हो । १ सय ३८ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा आठ विकेट गुमाउादै १ सय २ रन बनाउन सक्यो ।
पृथु बास्कोटा ३६ बलमा एक चौका र एक छक्कासहित ३६ रनमा नटआउट रहे । अन्य कुनै नेपाली खेलाडीले उल्लेखनीय योगदान गर्न सकेनन् । शरद भेषवाकरले १४ रन बनाए भने प्रदीप ऐरीले १० बलमा दुई चौकासहित १३ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।
पपुवा न्युगीनीलाई जित दिलाउने क्रममा क्रिस अमिनीले चार ओभरमा २० रन खचिर्ंदै शरद भेषवाकर र मेहबुब आलमको रूपमा दुई महत्वपूर्ण विकेट लिए । उनले दुवै ब्याट्सम्यानलाई बोल्ड गरे । ६ बलर प्रयोग गरेको पपुवा न्युगिनीका लागि हरेकले सफलता पाए । तीन ओभरमा १९ रन खचिर्ंदै एक विकेट लिएका हेरोटा एरेनीले व्यक्तिगत दोस्रो ओभरमा परेस लोहनीलाई तीन रनमा एलबिडब्लु आउट गरे । मरुद दायले चार ओभरमा २२ रन खचिर्ंदै नेपाली कप्तान खड्कालाई ६ रनमा एलबिडब्लु गरे । डिकानाले तीन ओभरमा १५ रन खचिर्ंदै एक विकेट लिए भने रेभा र किलाले पनि एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पपुना न्युगिनीले आठ विकेटको क्षतिमा १ सय ३७ रनको योगफल खडा गर्‍यो । १६ रनमा दुई विकेट गुमाएको न्युगिनीका लागि जेरेन्ट जोन्स र मरुद दायले तेस्रो विकेटका लागि ३० रनको साझेदारी गरे । ११ बलमा एक छक्कासहित १२ रन जोडेका दाय आउट भए पनि जोन्सले क्रिस अमिनीसाग मिलेर चौथो विकेटका लागि १५ रनको साझेदारी गरे । ३५ बलमा एक चौका र एक छक्का प्रहार गर्दै ३२ रन जोडेपछि जोन्स मेहबुब आलमको बलमा आउट भए । ज्याक भेरकोे आठ बलको विस्फोटक इनिङ छोटो समय मात्र टिक्यो । आठ बलमा एक चौका र एक छक्का प्रहार गरेका भेर १९ रन जोडेर आउट भए ।
३२ बलको सामना गरेका अमिनी ३८ रनमा नटआउट रहे । उनले दुई छक्का प्रहार गरे । चन्द्र साउदले चौथो बलमा टोनी उरालाई शून्य रनमा आउट गरे पनि त्यसपछि उनी प्रभावकारी भएनन् । तीन ओभरमा २४ रन खर्चेका साउदले अन्य कुनै विकेट हात पार्न सकेनन् । शक्ति गौचनले भेर र जेसन किलाको विकेट लिए । एक दिनअघि हृयाटि्रक गरेका शक्तिले चार ओभरमा २१ रन खचिर्ंदै दुई विकेट लिएका हुन् । वसन्त रेग्मीले दाय र राईका डिकानाको विकेट लिए । महङ्गा सावित सन्जम रेगमीले दुई ओभरमा २३ रन खर्चे पनि कुनै विकेट हात पार्न सकेनन् । शुक्रबार अफगानिस्तान र नेपालबीचको महत्वपूर्ण खेल सारजाहमा नै हुनेछ ।
समूहमा लगातार तेस्रो जित हात पारेको अफगानिस्तान शीर्षस्थानमा यथावत् छ । बिहीबार भएको खेलमा अफगानिस्तान -१७२/५) ले डेनमार्क -८३/९) लाई ८९ रनले पराजित गर्‍यो । नेदरल्यान्ड्स
-१२५/९) ले बर्मुडा -१२१/८) लाई एक विकेटले पराजित गर्‍यो । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्ड्सले अन्तिम बलमा जित हात पारेको थियो । क्यानाडा -८४/२) ले हङकङ -८१/८) लाई दुई विकेटले पराजित गर्‍यो ।
समूह ‘बी’ को खेलमा आयरल्यान्ड -१०४/८) ले इटाली -१००/७) लाई दुई विकेटले पराजित गर्‍यो भने नामिबिया -१७७/४) ले अमेरिका -१६०/७) लाई १७ रनले हरायो । केन्या -१७६/५) ले ओमान -१४१/९) माथि ३५ रनको जित हात पार्‍यो । स्कटल्यान्ड -१७०/६) ले युगान्डा -१३९/९) लाई ३७ रनले हरायो ।

प्रतिक्रिया