घन्टाघरः आख्यानपछिको सन्नाटा

घन्टाघरले त्यस संसारको कहानी भन्छ, जुन आफ्नै ढङ्गको सुन्दर थियो, मनमोहक थियो । संरचना पुरानियो, तर सुगन्ध अझै उडेको छैन, समयको दाँतीमा उसको शान–सौकत अझै टल्किएकै छ । भन्नेहरूले भन्लान्, घन्टाघरको युवाकालीन चमक विस्मृतिको खाडलमा गाडिइसक्यो, तर अनियमित नै सही, बेलाबेलामा पेन्डुलम बजाएर ऊ आफू जीवितै रहेको प्रमाण पेस गरिरहेछ । वरिपरिको स्वरूप बदलिएको छ, सामान पुरानिएका छन्, ऊ उस्तै रहने प्रयास गरिरहेछ ।
रानीपोखरीको ठीक पूर्व सारा काठमाडौँलाई दृष्टि दिएर ठिङ्ग उभिएको घन्टाघर एक सय १६ वर्ष पुरानो हो । यो बुढ्यौलीमा समयका विकृतिहरूसँग जुधिरहने सामथ्र्य सायद अब ऊसँग छैन । अनुहारमा मुजा पर्न थालेकोे वर्षौँ भइसक्यो ।
घन्टाघरसँगै मानिसको जिन्दगी पनि यति छिटो बदलिएको छ कि बहुतका सपनामा धुलो परेका छन् । घन्टाघरको रफ्तारसँगै उज्याला सपनाहरूमा धमिरा पर्दै गएका छन् । एक शताब्दीमा बितेको समयमै भविष्यको पनि कथा लेखिएको हुन्छ । शताब्दीले एउटा नयाँ दुनियाँ जन्माउँछ । सम्बन्धको, सपनाको, जीवनको एउटा रूप आफैँ निर्माण भइरहेको हुन्छ ।
मानिसका भरोसा र जिज्ञासा पनि ठोक्किएका छन्, यो समयघरसँग । यात्रु बिरलै होलान्, जो घन्टाघरलाई एक दृष्टि नदिई हिँड्छन् । यसकै अघि उभिएर कतिले आफ्नो घडी मिलाए, कतिले कविता लेखे । ग्रिक रोमन वास्तुकलालाई आधार मानेर निर्माण गरिएको दम दिएर चल्ने घन्टाघरले सारा सहरलाई गिज्याइरहेजस्तो लाग्छ । निरङ्कुश शासनमा ठडिएको घन्टाघरले यसबीच कति गोता खायो, त्यसको कुनै हिसाबकिताब छैन । समयका प्रहारहरूले अब यो यति जीर्ण भइसकेको छ, भूकम्पको सामान्य झट्काले पनि ढल्न सक्छ । केही सुर चर्किसकेका स्पष्टै देखिन्छन् । काठको भ¥याङका कुनै पनि पाटा सद्दे छैनन् । खुट्किला नै भाँच्चिहाल्ला कि जसरी डराउँदै भित्ता समाएर माथिल्लो तलामा पुग्नुपर्छ । परेवाले प्रत्येक खुट्किलोमा गँुड लगाएका छन् । फोहोरको त कुनै हिसाबकिताबै छैन । ऐतिहासिक धरोहर रे, मर्मतका लागि भने वार्षिक जम्मा १५ सय रुपियाँ ।
वीरशमशेरका पालामा बनेको घन्टाघर थुप्रै पटक बन्द भयो । फेरि चल्यो, ९० सालको भुइँचालोमा भत्कियो र फेरि ठडियो, यो समय–घर, नयाँ स्वरूपमा । ०३८ सालमा आगलागी पनि भयो । सँगैको कुरुवा घरलाई आगाको लप्काले छोएपछि घन्टाघरको ‘वेट बक्स’ (वेट बक्समा विभिन्न क्षमताका धातुको चक्का झुन्ड्याइएको हुन्छ र दम दिएपछि पेन्डुलमका कारण घडी चलिरहन्छ) मा पनि असर प¥यो ।
घन्टाघरले देख्दादेख्दै नेपाली समाजमा थुप्रै कुरा बदलियो । समाजमा नयाँ–नयाँ पुस्ता उदाउँदै अस्ताउँदै गए । समाजका समकालीन चेतनाको स्तर नाप्न मिल्नेगरी देशले धेरै नेता, व्यवस्था र आर्थिक प्रणाली फेर्दै गयो तर, घन्टाघर उही छ । राणा शासन भोग्यो, प्रजातन्त्रको बहाली भोग्यो, फेरि फर्कियो राजाको शासन, अनि बहुदल र गणतन्त्रका सबै अवयव । समाजको हरेक पुस्ताले भोगेका यी सबै विचार, मूल्य, जीवनशैली, वास्तुकला सबै परिवर्तन भए । तर, घन्टाघर अग्रगमन, प्रतिगमन, शासक अनि विद्रोही सबैको एक्लो साक्षी हो । यो यस्तो बद्लाव हो, जसभित्र नयाँ शैलीको धड्कन सुनिन्छ ।
घन्टाघर एउटा ठूलो सहरको सानो सडक किनारमा बूढो मान्छेझैँ उभिएको उभिएकै छ । यसबीच नजिकैको रानीपोखरीमा प्रतिविम्ब हेर्दै धेरैपटक आफ्नो जवानी सुमसुम्यायो होला । ती दिन उसलाई राम्ररी याद छन्, अनि याद छन्, आफ्ना अगाडि–पछाडि अन्त्यहीन दौडमा तेजसँग दौडिएका मान्छेहरू ।
महानगरका बच्चाहरूलाई घन्टाघरको कान्तिपुरी विगत कुनै जादुयी दुनियाँको कहानीजस्तो लाग्छ होला । घन्टाघरसँग परिवर्तन र अनुभव दुवै छ । कुनै बेला राणाका घोडाका टाप मात्रै दौडिने घन्टाघरअघिको सडकमा अहिले आयातीत गाडी अटाई÷नअटाई दौडिरहेका छन् । अब उसलाई स्पर्श गर्ने हातहरू पनि पहिलेजस्तो निश्चल र कञ्चन कहाँ छन् र ? कोही पिसाब फेर्ने निहुँले पस्छन् त कोही आफ्नी गर्लफ्रेन्डसँग मनलागी गर्दै घन्टाघरलाई हेपिरहन्छन् । कोही बेरोजगार युवा सहर हेर्न र यसलाई सराप्न घन्टाघर पस्छन् । घन्टाघरमा आउटसाइडरको यस्तो दबदबा छ कि, साँझ यसको कम्पाउन्डभित्र चुरोटको धुवाँ फुक्ने र यदाकदा बियरको बोतल बोकेर पस्ने युवाको अनुहार पढे महसुस हुन्छ ।
बत्तिसपुतली, नयाँ बानेश्वर वा ठमेलमा देखिनेजस्ता भोजनालय यहाँ देखिँदैनन्, त्रिचन्द्र कलेज, रानीपोखरी अनि जामे मस्जिदलाई दौँतरी बनाएको छ घन्टाघरले । अनि हेरिरहेको छ, दुरुह परिवर्तन । मान्छेका हातहातमा मोबाइल छ । मोबाइलमा गफिनेका कुरा सुनिनसक्नुका छन् । युवतीका स्तनदेखि वेश्यालयसम्मका ‘अपवित्र’ वाणी सुन्नु उसको बाध्यता बनेको छ ।
०००
तन्नेरी छँदा घन्टाघरको रौनक अर्कै थियो । अहिले यो अनेकौँ घटना र राजनीतिक उतारचढावको साक्षी बनेको छ । छेवैको त्रिचन्द्र कलेजमा डुलिहिँड्ने क्याम्पसे युवा जोडी र देशै परिवर्तन गर्छु भन्ने तन्नेरी क्रान्तिकारी देखेको छ । घन्टाघरअगाडि टहलिने र दौडनेहरूको फेसन फेरिएको छ । नेपालको लामो इतिहासको साक्षी बसेको रानीपोखरीको पालेजस्तो लाग्ने घन्टाघरसँग सुखद् इतिहास मात्र बाँकी छ, गर्व गर्नलायक वर्तमान छै्रन । घन्टाघरको पुरानो डिजाइनको ठूलो घडीले अहिले सही समय दिँदैन । पछाडिको झाडीबाट दिसा–पिसाबको गन्धचाहिँ आइरहन्छ । घन्टाघरको चौरबीचको सानो ‘धुप–घडी’लाई बाल दिनेहरू विरलै देखिन्छन् ।
घन्टाघरनेरैको मुन्चाको भट्टी पसल अहिले छैन । ममचाको जन्म भएको त घन्टाघर जवान हुँदा हो । सुप र मम खाएको पनि देख्थ्यो घन्टाघर । यसले चार सहिदले अन्तिम सास फेरेको पनि देख्यो । राजा वीरेन्द्रको ०३१ सालको शुभ–राज्यभिषेकको रथ यसकै अगाडिबाट गुड्यो । राजा वीरेन्द्र र रानी ऐश्वर्यले श्रीपेच लगाएर हात्तीमा सवारी भएको दृश्य उसलाई ताजै छन् । अनि राजा वीरेन्द्र, ऐश्वर्य र सम्पूर्ण परिवारको लास पशुपतिनाथ लैजाँदै गरेको पनि उसैले देख्यो । कहिले रगत उमाल्ने र कहिले शालीनताको रङ घोलेर मदन भण्डारीले गरेका भाषण, व्यवस्था पल्टाउने जुलुस, दरबारको संहार सबै देख्यो । शासकीय जीवनका शानदेखि भरियाको पसिनाको रङ घन्टाघरले हेरेको छ । छैटौँ पटकसम्म प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाको सडक नेतृत्व, उनको शासन र मृत्युको शोकयात्रा, गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई र मदन भण्डारीका मलामी सबैले घन्टाघरलाई फेरो मारेका छन् । तिनीहरू सबैको जीवनमूल्य चुपचाप बुझ्ने सामथ्र्य भएको यो समय विम्बले आफ्नै मूल्य भने निर्धारण गर्न सकेको छैन ।
मौलाउँदो उपभोक्तावादी संस्कृति, आधुनिकता र यान्त्रिकता सबैको साक्षी छ, घन्टाघर । खर्च गर्ने शैलीले नै सहरी जीवनयापनमा बदलाव ल्याएको घटना पनि घन्टाघरलाई थाहा छ । घन्टाघर के देख्दैन ? सपना बोक्नेहरू यहीँ छन् र सपना देखेरै आत्तिनेहरू पनि छन् ।
०००
०४४ सालदेखि घडीको रेखदेख गर्ने जिम्मा गणेश सापकोटाको हातमा आएको थियो । त्यतिबेला नेपाल प्रज्ञा–प्रतिष्ठानमा सार्क सम्मेलन हुँदा घडी छिनछिनमा बन्द हुने भएकाले त्रिचन्द्र क्याम्पसका इलेक्ट्रिसियन सापकोटालाई चौबिसै घन्टा घन्टाघरमा बस्ने व्यवस्था गरिएको रहेछ ।
समय सूचकले जुनैबेला पनि किन सही समय देखाउँदैन ? ‘मेसिनमा हालिने चिल्लोपना, तापक्रमजस्ता कारणले समय फरक पर्छ’, इलेक्ट्रिसियन सापकोटा भन्छन् । सेकेन्ड सुइको रडमा कहिलेकाहीँ परेवा गएर बस्छ र समय तलमाथि हुन्छ । घन्टाघर मर्मतका लागि चाहिने सामान नेपालमा पाइँदैन, स्थानीय वर्कसपमा गएर बनाउनुपर्छ । यो पुरातात्विक समयघरको अवस्था र व्यवस्थापन भगवान् भरोसामा छ ।

प्रतिक्रिया