प्रपोज र डेटिङ एकैचोटि

शिव परियार, गायक

कल्पनै नगरौँ, त्यति राम्री केटी त मैले अहिलेसम्म देखेकै छैन । बोल्न लजाउँथिन्, हाँस्दा झनै लाज मान्थिन् । त्यो सुन्दरता त म बयानै गर्न सक्दिनँ । यति राम्री लागेकी थिइन् उनी मलाई पहिलो डेटिङमा ।
मेरो फस्र्ट डेट गाउँकै केटीसँग भएको थियो, जोसँग दुई वर्ष मेरो चक्कर चल्यो । तर पछि परिवारको प्रेसरले गर्दा उनले विवाह गरिन् । मभन्दा एक वर्ष जेठी थिइन् । पहिलो डेटिङका बेला गाउँनजिकैको बरहठवा बजारको एक कुनामा हामी बसेका थियौँ ।
म दस कक्षामा पढ्थेँ, सत्र वर्षको थिएँ । म उनलाई पहिलेदेखि नै मन पराउथेँ । एक दिन यस्तो चान्स मिल्यो कि हामी दुवै एकान्तमा थियौँ । स्कुलबाट हामी साथीभाइसँग फर्कँदै थियौँ । हिँड्दै जाँदा साथीहरू हामीभन्दा निकै अगाडि पुगेछन् । उनी भन्दै थिइन्, ‘ओहो शिव, हामीलाई त साथीहरूले छाडी पो सकेछन् त !’ म झसङ्ग भएँ, मैले मन पराएको केटी त उनै हो । भनेँ, ‘एक छिन पर्ख न, तिमीसँग एउटा कुरा गर्नुछ ।’ उनी पाइला रोकेर बरहठवा बजारको चौतारीमा बसिन् र भनिन्, ‘भन न के कुरा ?’ मैले केही अकमकिँदै भनेँ, ‘म तिमीलाई माया गर्छु  !’ उनी आवाजविहीन भइन् । करिब–करिब १३ मिनेटपछि मात्र उनी बोलिन्, ‘मलाई साँच्चै माया गर्छौ ?’
‘अँ गर्छु’ यसभन्दा बढी बोल्न सक्ने स्थितिमा म रहेनछु । तर, म यति उत्साहित भएछु कि सपना हो कि बिपना छुट्याउनै गाह्रो । कुनै युद्ध जितेको खुसीजस्तो ।  हामी एकअर्कालाई हेराहेर गर्न थाल्यौँ । हेराइबाटै मनको भाका पूरा गर्न थाल्यौँ ।  मेरो पहिलो प्रस्ताव र डेटिङ एकैचोटि त्यति बेलै भएको हो । सहरमा जस्तो डेटिङ गाउँमा कहाँ र ? गोठालो जाँदा, पँधेरीमा भेट्दा र स्कुलबाट घर फर्कँदा एकछिनको हेराहेर नै डेटिङ हुन्थ्यो । उनीसँग पनि मेरो त्यसै गरी प्रेम अघि बढिरहेको थियो । जहाँ देखे पनि यसो
आँखा जुधायो, त्यही नै डेटिङ । एसएलसीपछि म अध्ययनका लागि काठमाडाँै
आउनुप¥यो । लागेको थियो, मेरो मायालाई कसैले चुँडी लैजाने पो हुन् कि । उनलाई एक्लै छाड्नुपर्ने सम्झनाले म रोएको थिएँ उति बेला । यो मेरा लागि अविस्मरणीय क्षण हो । अहिले सम्झिँदा त्यो समयको मेरो माया एउटा कथा जस्तो लाग्छ ।
उनले पछि घरपरिवारको दबाबमा परेर विवाह गरिन् रे भन्ने सुनेको थिएँ । उनले मलाई आफ्नो विवाह हुँदै छ भन्ने थाहा पनि दिइनन् । एकदम दुःख लागेको थियो त्यस बेला । त्यसपछि म झन् एकान्तप्रेमी भएको हँु ।

प्रस्तुतिः विशाल राई

प्रतिक्रिया