कलाकारको होलीरङ्गीन अनुभूति, रङ्गीन योजना

भुवन केसी
अभिनेता तथा निर्माता
यस वर्षको होली म ‘साथी म तिम्रो हेरौँ, होली खेलौँ’ भन्ने नाराका साथ मनाउँदै छु । चलचित्रका हल–हलमा पुगेर मनाउँछु ।  होलीकै लागि भनेर मैले १२ हजार रुपियाँ जतिको ड्रेस सपिङ गरेको छु । ड्रिङ्क्सचाहिँ नगर्ने भएकाले साथीहरूलाई चाहिँ थोरै असर पर्छ कि !
बाबु बोगटी
गायक तथा नायक
यसपालि एकदम रमाइलो किसिमले मनाउने तयारीमा छु । विगतका वर्षमा सेतो कुर्ता लगाएर मनाउँथेँ । यसपालिचाहिँ सेतो टिसर्ट र एउटा हाफ पाइन्ट किनेको छु । हजार रुपियाँ जतिको सपिङ त गरिसकियो । साथीभाइसँग बसेर हल्का ड्रिङ्क्स पनि गरिन्छ नै । मलाई ह्विस्की मन पर्छ । आजको होलीमा दुई पेग लिन्छु होला ।
शिव परियार
गायक
यस वर्ष त्यस्तो विशेष त केही सोचेको छैन तर मनाउने तयारीमा त छु नै  । मैले हानेका लोला प्रायः अनियन्त्रित हुन पुग्छ । जिउमा ताकेर हानेका लोला संवेदनशील अङ्गमा लागेका घटना थुपै्र छन् । बानेश्वरमै बस्दा एउटी छिमेकी केटीलाई हानेको लोला आँखामा लागेको थियो । अब युवावस्थाको जोस, पावर पक्कै हुँदो हो । आँखै फुट्यो कि भन्ने डरले दुई दिन गायब हुनुपरेको थियो । त्यसपछि मैले होली खेल्नै छाडिदिएँ । त्यसको १० वर्षपछि पोहोर साल मात्र खेलेको हुँ । यसपालि पनि निरन्तरता दिँदै छु । म एकान्तप्रेमी छु, त्यही भएर जमघटबारेको तयारी गरिसकेको छैन । तर पनि ५ हजार रुपियाँ होलीलाई भनेरै छुट्याएको छु । साथीभाइसँग घरमै बस्ने रमाइलो गर्ने, रङहरू खेल्ने । यस्तै नै हो मेरो यसपालिको प्लान ।
होलीमा सावधानी भने अपनाउनै पर्छ । नेपालमा मनाइने सबै चाडपर्व आफैँमा गहन छन् ।  तर, हामीले त्यसलाई कसरी मनाउँछौँ भन्ने कुराले त्यसको राम्रो र नराम्रो पक्ष चित्रित भइरहेको हुन्छ । अव्यवस्थित पाराले मनाउनेहरू पनि हामी र हाम्रो समाजका मान्छे नै हौँ । शरीरले थेग्न सक्नेभन्दा बढी पेय पदार्थ पिउने, आफ्नो संस्कार भुलेर पश्चिमी शैलीलाई अपनाउनेदेखि लिएर बाटोमा हिँडिरहेका मानिसलाई फोहोर पानी छ्याप्ने घटना विकृतिका रूपमा आएका छन् । मान्छेको स्किन नै बिग्रने किसिमका लोलाहरू हान्ने अनि त्यसकै बहानामा नारी जातिमाथि असभ्य व्यवहार गर्ने चलन कम गर्नेतर्फ सबै सचेत हुनुपर्छ । विशेष गरी उत्तेजक शैलीका नयाँ जेनेरेसन यस्ता विकृति ननिम्त्याउनेतर्फ सजग हुन आवश्यक छ ।
सुमीना घिमिरे
नायिका
यस वर्षको होली प्रोग्रामहरूमा गएर शुभचिन्तकका साथ मनाउँछु । यसकै लागि भनेर सेतो कुर्ता किनेकी छु, ३ हजार रुपियाँ छुट्याएकी छु । यसअगाडि मैले होली खेलेकै छैन । बिहानैदेखि घरमै ढोका थुनेर बस्ने गर्थेँ । तर, यसपालिचाहिँ खेल्ने तयारी गरिरहेकी छु । मलाई लोलाहरू मन पर्दैन, रङचाहिँ मन पर्छ । म कक्षा ९ मा पढ्दाखेरि एउटा केटाले साह्रै नराम्रोसँग लोला हानेको थियो । स्कुल ड्रेसमा लाउनै नहुने गरी दाग बसेको थियो । त्यसपछि त्यो केटासँग बोल्नै छाडिदिएँ । त्यो केटाले चाहिँ मलाई मन पराउँदो रहेछ ।
सुष्मा कार्की
नायिका
होली पक्कै पनि घरपरिवारसँग मनाउने कुरा आउँदैन । यस्तै साथीभाइसँग मिलेर मनाउने हो नि । होलीकै लागि भनेर सेतो कलरको कुर्ता ६ हजार रुपियाँमा किनिसकेकी छु । पोहोर साल करिस्मा (मानन्धर) दिदीको घरमा मज्जाले होली खेलेका थियौँ ।
आस्था बी
गायिका
मैले राम्ररी होली मनाउन थालेको दुई वर्ष भयो । यसपालिचाहिँ मेरा ६–७ वटा प्रोग्राम छन् । त्यहीँ गएर दर्शकहरूसँग मनाउँछु । होलीका लागि भनेर मैले सपिङ गरेको छैन । पुरानै लुगा लगाएर खेल्नुपर्ला । म ड्रिङ्क्स गर्दिनँ । यसका लागि त्यस्तो खास योजना भने मैले बनाएकी छैन ।

प्रतिक्रिया