एक, दुई जनालाई बिर्सने हो भने वर्षमा एक दुईवटाभन्दा बढी चलचित्र पाउने नेपाली नायिका कमै छन् । जसले कम चलचित्र पाउँछन् उनीहरू नै आफ्नो पब्लिसिटी बढीभन्दा बढी गराउने उपाय खोजिरहन्छन् । चाहे सकारात्मक व्यवहारले होस् वा नकारात्मक । अब चलचित्रबाट दर्शकबीच चिनिन खोजूँ, एकादुई बाहेकका निर्माता–निर्देशकले पत्याउने होइनन् । चुप लागेर बसौँ, झन् कसैले भाउ नै नदिने । नायिका निशा अधिकारी पनि हिजोआज यस्तै मनोविज्ञानको सिकार हुन पुगेको आँकलन देख्नेहरूले गर्न थालेका छन् ।
प्रसङ्ग हो– चलचित्र लुटले ५१ औँ दिन प्रदर्शनको रेकर्ड बनाएकोमा आयोजित कार्यक्रम । निशा पनि बडो ठाँटिएर कार्यक्रममा पुगेकी थिइन् । एकादुई चलचित्र खेले पनि नायिका त हुन् नि, किन कम पर्थिन् र । त्यसमाथि मिनिस्कर्ट जो लाएर आएकी थिइन् ।
नेपाली चलचित्रकी उम्दा नायिका, त्यो पनि यति आकर्षक बान्कीमा ! पत्रकारहरूका क्यामेरा सोझिने नै भइहाले । एक पत्रकार साथीले भटाभट क्लिक गर्न थाली पनि हाले । तर, यो के, हाम्री कलिली नायिकाले त एकाएक रणचण्डीको रूप पो धारण गरिन् ! आफ्नो फोटो खिचेको झाँेकमा ती पत्रकारमाथि हमला गर्न थालिन् ।
सबैको ध्यान उनीतिरै खिचियो, ध्यान नदिएकाहरूले पनि आँखा तन्काएर हेर्न थाले । माहोलभरि उनकै चर्चा–परिचर्चा । यस्तो हर्कतका लागि उनलाई माफी माग्न लगाइयो । सायद माफी माग्नुपर्छ भन्ने उनलाई पनि थाहै थियो । तैपनि उनले आफ्नो चर्चा घट्न दिइनन्, चाहे सार्वजनिक कार्यक्रममा मनलागी आरोप लगाउन किन नपरोस् । भनिन्– ममाथि हातपात भयो । त्यो साँचो हो कि झूटो भन्ने त त्यहाँ उपस्थित त्यतिका मान्छेले देखेकै छन् नि ! जे होस् मिडियामा छाइरहने उपायचाहिँ गज्जब हो है निशा ।
प्रतिक्रिया