स्पष्ट हुनुपर्छ एमाले

केही समयअघि गुटहरूमा बाँडिएर एकअर्कालाई अमुक अमुक पार्टीको एजेन्डाधारी बताउँदै आएको एमाले अहिले आफ्ना नेता कार्यकर्तालाई एकताको सन्देश दिदै हिँडेको छ । वामपन्थी राजनीतिलाई नजिकैबाट हेर्नेहरूले यस्तो एकतालाई त्यति भरपर्दो मान्दैनन् । तथापि एमालेको एकता खण्डित नभएसम्म यस एकतालाई रुचिपूर्वक हेर्नुपर्ने हुन्छ ।
नेकपा(एमाले)लाई विभिन्न खालका आरोप लागेका छन् । ती आरोपलाई मिथ्या वा शत्रुवत् ठानेर सम्बोधन गर्ने प्रयास गरिएन भने तिनले पार्टी जीवनमा अनिष्ट निम्त्याउने छन् । कुनै पनि राजनीतिक दलको आधार तिनले समेट्ने आकाङ्क्षा नै हुन् । एमालेको सन्दर्भमा राजनीतिक आधार शक्तिहरूको क्षयीकरण वा विचलन २०४७ पछि र अझ मदन भण्डारीको दुःखद् अवसानपछि हुन थालेको हो । त्यसपछि नै एमालेको वैचारिक खण्डीकरण उसका कार्यक्रमको फितलोपनका कारणले भएको हो भन्ने थुप्रै आधार छन् । यसलाई पुष्टि गर्ने महत्वपूर्ण घटनाक्रम हुन असमयमै मदन भण्डारीको दुर्घटना, नेपालगन्ज महाधिवेशनमा महाकाली सन्धिका पक्ष विपक्षमा पार्टी विभाजन, एमालेले खडा गरेको आधार तहलाई तत्काल सम्बोधन गर्नुपर्ने कार्यक्रममा शून्यता, त्यस शून्यतामाथि टेकेर माओवादीको आक्रामक आगमन, संविधानसभाको निर्वाचनमा पार्टी तेस्रो स्थानमा पुग्नु ।
बा¥हबुँदे सम्झौता हुनुअघि नै एमाले र माओवादीका दृष्टिकोणमा कुनै सामञ्जस्य थिएन । तर नेकपा (माओवादी) मालेकालको एमालेलाई समर्थन गरेजस्तो गर्छ र सशस्त्र प्रकृतिको हुनाले झापा सङ्घर्षलाई आफूलाई चाहिएको बेला खासगरी आफ्नो सशस्त्र युद्धको औचित्य पुष्टि गर्न बेला बेला
उल्लेख गर्न बिर्सन्न । एमाओवादीका विचारक वा सिद्धान्तकारहरूका लागि बृहत् वाम एकता वा एउटै कम्युनिस्ट पार्टीको प्रस्तावलाई कायमै राख्नु र एमालेजस्ता वामहरू–
लाई टाढा हुत्याउनु पनि जरुरी छ ।
बाक्लै सुनिने अर्को गम्भीर आरोप हो एमाले दोधारे छ, एमालेको स्पष्ट अडान छैन । यसको नीति के हो, उसले आफूलाई कता ढल्काउँछ, केही ठेगान छैन । यस आरोपका पछाडि केही स्पष्ट आधारभूमि छन् । एमालेले कुरा वामपन्थी एकताको गर्ने र एजेन्डामा कांग्रेससंँग मिल्ने गरेकाले वामपन्थी रुझानका मानिसहरूको चिन्तामिश्रित आरोप हो यो । सम्भवतः यसमा एमालेलाई समाप्त पार्ने कुनै मनसाय छैन, किनभने एमालेका शुभेच्छुक र अझ उसका केन्द्रीय तहका नेता कार्यकर्तासम्मले पनि यसो भन्ने गरेको पाइएको छ । तर व्यापक मात्रामा आम जनता र नेपालको बुद्धिजीवी  भनिने वर्गले पनि एमालेको यस अडानविहीनताको आलोचना गरिआएको छ । यस सन्दर्भमा एमाले संविधानसभामा तेस्रो स्थानमा झरेको परिप्रेक्ष्य र एमालेका कतिपय प्रतिष्ठित नेता कार्यकर्ता माओवादीमा गएको प्रसङ्गको आलोकमा यस आरोपलाई जाँच्नुपर्ने हुन्छ ।
नेकपा(एमाले)का केही शीर्ष नेताको भनाइमा एमाले एकदम ठीक मार्गमा छ । ऊ कांग्रेसजस्तो दक्षिणपन्थी र एमाओवादीजस्तो उग्रवामपन्थी धारहरूका बीच लोकतान्त्रिक (भन्न नसकेको समाजवादी ) मार्गमा गतिशील छ । तर उसमाथि स्पष्ट अडान नभएको, कहिले माओवादीको, कहिले कांग्रेसको मुद्दा बोक्ने गरेको आरोप लागिआएको छ ।
चाहेर वा नचाहेर यो मुलुक एमालेको दिशातर्फ लम्किरहेको छ । न कांग्रेसले चाहेजस्तो संवैधानिक राजतन्त्र टिक्न सक्यो, न माओवादीले चाहेजस्तो १० वर्षे लामो सशस्त्र युद्धले एक्काइसौं शताब्दीको जनवाद आउन सक्यो । यस्तो परिस्थितिमा मुलुकलाई एमालेको स्पष्ट एजेन्डा र मार्गनिर्देश आवश्यक थियो । तर माओवादीले जोडले बायाँ तान्दा र कांग्रेसले जोडले दायाँ तान्दा एमाले नचुँडिए पनि पातलो हुँदै यी दुई प्रतिध्रुवबीच अस्तित्ववान् छ । त्यसैले कांग्रेसले पनि एमालेलाई कुनै निश्चित अडान र विशिष्टता नभएको पार्टीका रूपमा हेर्छ र माओवादीले उसलाई शिखण्डी ठान्छ, तर ंदुवैलाई आफ्नो शक्तिआर्जनका लागि यसको ढाड भने चाहिन्छ ।
उन्नाइसदिने जनआन्दोलनको संरचनामा एमालेको जुन अहं भूमिका थियो, उसको सारा शक्ति त्यसको सफलताका लागि होमिएको थियो । माओवादी र कांग्रेस लगायतका राजनीतिक र नागरिक शक्तिहरूलाई मिसाइएको यसै जनआन्दोलनको धक्काले नेपालमा लोकतन्त्रकोे ढोका उघारेको थियो, तर परिवर्तनको स्वामित्व र आन्दोलनको सफलताको श्रेय लिन भने एमालेको नेतृत्व चुक्न पुग्यो । फलस्वरूप माओवादीले सो एजेन्डा एमालेको हातबाट खोसेर लग्यो र एमाले स्वामित्वको दाबी गर्न नसक्ने अवस्थामा पुग्यो । सम्भवतः राजा ज्ञानेन्द्रका पाउमा माधवकुमार नेपालले दाम राखेको जस्ता प्रचारले गर्दा पनि एमाले नेतृत्व सो एजेन्डामाथिको माओवादी दाबीको प्रभावकारी खण्डन गर्न असफल रह्यो ।
गणतन्त्र कुनै पनि देशका कम्युनिस्टहरूको पुरानो सपना हो र एमालेका नेता कार्यकर्ताको पनि सपना हो । तर नेतृत्वको गलत रणनीतिक सोच, चरम अवसरवादिता र परिस्थितिको विश्लेषण गर्ने क्षमताको अभावका कारण उसले संवैधानिक राजतन्त्रप्रति मोह देखाएको आरोप लाग्यो । माओवादीले गाउँ गाउँमा त्यस नारालाई आफ्नो ब्यानरमा स्थापित गर्ने प्रयास गर्दा एमालेले गणतन्त्रप्रति खुलेर आफ्नो लगाब देखाउन सकेन । उसका कार्यकर्ता, शुभेच्छुक र समर्थकको भावनाको बदलामा पाइएको सो असफलता एमालेको इतिहासमा लज्जाजनक अध्यायका रूपमा चित्रित हुने छ । यसैका कारण गणतन्त्रप्रति आस्थावान् र प्रतिबद्ध एमालेहरू कि पलायन भए, कि माओवादीको छायामा पुगे । यसै कारणले पनि एमाले संविधानसभामा तेस्रो स्थानमा मात्र आउन सक्यो । गणतन्त्रको नारा बलात् स्थापित गरेका कारण र परिवर्तनप्रति आक्रामक रूपमा प्रस्तुति देखाउन सकेका कारण माओवादी सर्वाधिक ठूलो दल बन्न पुग्यो । विचरा एमालेसंँग देखाउने एउटै मात्र दृष्टान्त बाँकी थियो, नौ महिने एमाले शासनकाल, तर उसका धेरैजसो नियन्ताहरू पछिल्लो कालमा जनताको आँखामा भ्रष्ट भइसकेका थिए । तसर्थ गणतन्त्रको स्वामित्व लिन पनि एमाले
असफल भयो ।
माओवादीको सशस्त्र युद्धको असरको अवमूल्यन गर्न अति नै रुचि राख्ने आत्मघाती प्रयासमा एमाले र कांग्रेसले संविधानसभाको मुद्दालाई सजिलै उसको पोल्टामा राखिदिए, किनभने यी दलका शीर्ष नेतृत्व जनभावना बुझ्न असमर्थ भइसकेका थिए । भलै संविधानसभाको महत्वबारे धेरै पछिसम्म पनि नेपालका राजनीतिकर्मीहरूलाई थाहा भएन, तर संविधानसभाका नारालाई गाउँगाउँमा भित्तेलेखनमै भए पनि स्थापित गरेको माओवादीले यसमा आफ्नो स्वामित्वको दाबी नगर्ने कुरै भएन । पटक पटक च्यूत भइसकेका कारणले एमालेको तत्कालीन नेतृत्व संविधानसभाको स्वामित्व लिन नसक्ने अवस्थामा पुग्यो ।
एमाले यस मुलुकमा फेरि स्वप्नशील राजनीतिक शक्तिका रूपमा उदाउन चाहन्छ भने, उसका अगाडि असीमित मैदान खाली छ । तर उल्लिखित आरोपहरूको चित्तबुझ्दो जवाफ नदिएसम्म उसको एकता, प्रभाव र व्यापकतामा शङ्का रहिरहने छ । तसर्थ उसले इतिहासमा आफूले गरेका गल्तीहरू आत्मसात् गर्नुपर्छ र व्यापक जनताको भावनालाई समेट्दै नीतिगत र कार्यक्रमगत रूपमा आफ्नो पोजिसनलाई स्पष्ट पार्नुपर्छ । अन्य दलको छायामा बसेर वा बलियाले तानेकातिर ढल्केर एमाले लामो समय जीवित रहन सक्ने छैन । आजदेखि सुरु हुने राष्ट्रिय प्रतिनिधि
परिषद्मा पार्षद्हरूले यसमा विचार गर्लान् कि फेरि उनीहरू उच्च नेतृत्वका अघि निरीह साबित होलान्, प्रश्न यही हो ।

प्रतिक्रिया