संसदीय व्यवस्था नै उत्कृष्ट

संयुक्त राज्य बेलायतलाई संसदीय व्यवस्थाको जननी मानिन्छ, जुन शासन पद्धति वेस्ट मिन्स्टर प्रणालीमा आधारित छ । हाम्रोे संसदीय प्रणालीको मोडल पनि वेस्ट मिन्स्टर मोडलमा आधारित छ । नेपालमा संसदीय शासन व्यवस्थाको सुरुआत भएको करिब २२ वर्ष भयो । ०१५ सालमा भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसले अत्यधिक बहुमत ल्याई सरकार गठन गर्यो । तर सरकार गठन भएको १६ महिनापछि नै तत्कालीन राजा महेन्द्रले उक्त सरकार विघटन गरे ।
२०४६ को जनआन्दोलनले नेपालमा पुनः संसदीय व्यवस्था स्थापित गरायो । । यही पद्धति हालसम्म अभ्यास गरिँदै आएको छ । तर राजनीतिक अस्थिरताका कारण कुनै सरकार पनि पूरा कार्यकाल टिक्न सकेनन् । ०६२, ६३ को १९ दिने जनआन्दोलन र १० वर्षे माओवादी सशस्त्र विद्रोहले २०६३ सालमा प्रतिनिधिसभा पुनःस्थापना गरायो । त्यसपछि पनि मुलुकमा राजनीतिक स्थिरता कायम हुन सकेन । यस अवधिमा पाँचजना प्रधानमन्त्री भैसकेका छन् । यससँगै मुलुकमा अनेक विकृति र विसङ्गति मौलाउँदै गए भने दलहरूबीचको आपसी द्वन्द्व र असमझदारीले यो पद्धति लगभग असफलसिद्ध हुन पुग्यो । संसदीय व्यवस्थालाई परिमार्जन र स्वच्छ बनाउनेभन्दा पनि जानी नजानी बदनाम गर्नेतर्फ राजनीतिक दलका सदस्यहरू लागेका कारण व्यवस्था बदनाम भयो ।
विश्वमा संसदीय व्यवस्था अँगालेका मुलुकहरू भारत र संयुक्त अधिराज्यका जनता यो व्यवस्थाबाट जनताको जीवनस्तर उच्च राख्न सफल भएका छन् । त्यहाँ राजनीतिक स्थिरता रहेकाले सरकार पूरा अवधिसम्म रहन सफल भएको छ । उनीहरू सरकारले तय गरेको नीति तथा कार्यक्रमअनुसार अगाडि बढेकाले आर्थिक वृद्धिदर उच्च राख्न पनि सफल भएका  हुन् र जनताको जीवनस्तर सुदृढ हुन पुगेको छ । यहाँ भने संसदीय व्यवस्थालाई परिमार्जन र स्वच्छ बनाउनेभन्दा पनि जानी, नजानी बदनाम गर्नेतर्फ राजनीतिक दलका नेताहरू लागे । व्यवस्था भनेको साधन हो, कुनै साध्य होइन र मुलुक हाँक्ने राजनीतिले हो ।
विश्वमा खासगरी तीन किसिमका शासन प्रणाली प्रचलनमा छन् । यसमा उत्कृष्ट शासन प्रणाली भनेको संसदीय शासन प्रणाली नै हो । विश्वका दुई तिहाइ मुलुकमा संसदीय प्रणाली अपनाइएको पाइन्छ, जुन प्रणाली नेपालले २०१६ सालमा १६ महिना र त्यसपछि २०४६ सालदेखि हालसम्म पनि अभ्यास गर्दै आएको छ । दोस्रो शासन प्रणाली भनेको राष्ट्रपतीय अर्थात् अध्यक्षात्मक शासन प्रणाली हो, जुन अमेरिकामा सफलतापूर्वक चलिआएको छ । विश्वमा यस किसिमको प्रणाली अपनाउने मुलुक लगभग ५० वटा छन् । विश्वमा प्रचलित तेस्रो मिश्रित शासन प्रणाली हो, जस्तै फ्रेन्च मोडललाई मिश्रित शासन प्रणाली भन्ने गरिन्छ । विश्वमा फ्रान्स, जर्मनी, रुसलगायत करिब २५ राष्ट्रले यस किसिमको शासन पद्धति अपनाएका छन् । शासन प्रणाली जस्तोसुकै स्वरूपको भए पनि त्यो शासन प्रणाली प्रजातान्त्रिक छ÷छैन र उक्त शासन प्रणाली देशको हावापानी सुहाउँदो छ छैन, हेरिनुपर्छ ।
संसद्को सर्वोपरि भूमिका रहने शासन प्रणाली नै संसदीय प्रणाली हो । बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री हुने, मन्त्रीहरू संसद् र प्रधानमन्त्रीप्रति उत्तरदायी हुने, अल्पमतले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने, बालिग मताधिकार, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, बहुलवाद, शक्ति पृथकीकरण र सन्तुलन, विधिको शासन, प्रेस स्वतन्त्रता यसका प्रमुख विशेषता हुन् ।
राष्ट्रपतीय शासन प्रणाली  राष्ट्रपतीय शासन प्रणालीमा निर्णय छिटो र स्थिरता कायम हुने हुँदा राष्ट्र विकासमा तीव्रतासँगै जनताको आर्थिक स्थिति सुदृढ हुन्छ भनिन्छ । दक्षिण एसियाली राष्ट्रमध्ये पाकिस्तान र श्रीलङ्काले राष्ट्रपतीय शासन प्रणाली अपनाउँदै आएका छन् । तथापि, त्यहाँ शान्ति र स्थिरता कायम हुन सकेको छैन । त्यहाँ सरकार, सेना र अदालतबीच द्वन्द चर्किएका कैयौँ उदाहरण छन् । त्यस्तै श्रीलङ्कामा पनि राष्ट्रपति निरङ्कुश बनेको आरोप जनताले लगाउँदै आएका छन् । उल्लेखित तथ्यबाट राष्ट्रपति शासन प्रणाली कायम हुँदैमा स्थिरता कायम हुने रहेनछ भन्ने बुझिन्छ ।
मिश्रित शासन प्रणाली  कार्यकारी अधिकार राष्ट्रपति र प्रधानमन्त्रीमा विभाजन गरी शासन गर्ने पद्धति फ्रान्स र जर्मनीलगायतका देशमा अबलम्बन गरिएका छन् । यस्तोमा समानान्तर शक्ति केन्द्र बन्न गई बेलाबखत मुलुकमा विवाद उत्पन्न हुने गरेको पाइन्छ । यस प्रणालीमा प्रधानमन्त्री वा राष्ट्रपतिले आवश्यक बहुमत प्राप्त नगरेसम्म निर्वाचन दोहराउनुपर्ने हुँदै यो प्रणाली हाम्रोजस्तो मुलुकले धान्न सक्दैन ।
माथि उल्लेखित शासन प्रणालीमध्ये हालको वेस्ट मिनिस्टर प्रणालीको संसदीय प्रणाली हाम्रो देश, काल, परिस्थिति र हावापानी  सुहाउँदो व्यवस्था हो । लगभग २२ वर्षदेखि निरन्तर रूपमा यो प्रणालीको अभ्यास गरिँदै आएकाले केही सुधार गरी अगाडि बढ्नु सिवाय अर्को विकल्प देखिँदैन । विश्वमा संसदीय प्रणाली अपनाउने मुलुकको बाहुल्य रहेका कारण पनि यो प्रणालीलाई सुन्दर शासन प्रणाली मानिन्छ ।
कुनै पनि शासन प्रणाली वा व्यवस्था असल वा खराब हुने भनेको राजनीतिक र लोकतान्त्रिक संस्कारले नै हो । राजनीतिक संस्कार भएन भने जुनसुकै व्यवस्था पनि निरङ्कुश र अधिनायक बन्न सक्छ । दलहरूमा अनुशासनको कमीका कारण यो व्यवस्था बदनाम हुन गएको हो । हरेक दलले आफ्ना उम्मेदवार उठाउँदा योग्य र इमान्दार व्यक्तिको चयन गर्नुपर्छ । दण्डहीनताको अन्त्य गरिनुपर्छ । सुशासन कायम गरिनुपर्छ । संसदीय प्रक्रियामा देखापरेका कमीकमजोरी पहिचान गरी तिनीहरूको निराकरण गर्नेतर्फ पहल गर्नुपर्छ । स्थिर र जनउत्तरदायी सरकार बनाउनेतर्फ लागी सबै राजनीतिक दल अनुशासित भई अगाडि बढेमा निश्चय नै संसदीय व्यवस्थामार्फत् नै तमाम राष्ट्रिय आवश्यकताहरू परिपूर्ति गर्ने आधार बन्न सक्छ ।

(लेखक संसद् सचिवालयका सहसचिव हुन् ।)

प्रतिक्रिया