फरक प्रयास

छयालिस सालको परिवर्तनपछि सुरु भएको नेपाली पत्रकारिताको व्यावसायिक विकासले आज उल्लेखनीय रुप ग्रहण गरिसकेको छ । देशभर विद्युतीय र छापा माध्यमहरुको बाक्लो उपस्थिति छ र सञ्चारमाध्यमसम्म जनसङ्ख्याको ठूलो हिस्साले पहँुच राख्छ । व्यावसायिक र सुशिक्षित नयाँ पुस्ता पत्रकारितामा प्रवेश गर्ने क्रम आकासिँदै गएको छ भने परिष्कृत प्रविधिको प्रयोग पनि  बढ्दो   छ । तर, पनि पत्रकारिता क्षेत्रले थुप्रै कमी-कमजोरी र विकृति-विसङ्गतिको सामना गर्नुपरिरहेको छ । खासगरी सूचनासम्म पत्रकारहरुको सीमित पहुँच र सूचनामाथि हुने छेडखानी अहिलेका प्रमुख समस्या हुन् । र पनि, पत्रपत्रिकाको भिड बढिरहेको छ ।
सौर्य दैनिक अहिलेको भिडमा अर्को अस्थायी पात्र मात्रै साबित हुने छैन । समर्पित पत्रकारको व्यावसायिक  समूहसँग केही समयमै यस दैनिकलाई भिडबीच फरक देखाउने क्षमता, उत्साह र लगन छ । हामी नेपाली पत्रकारिताका उत्कृष्ट अभ्यास र सुगठित परम्परालाई आत्मसात् मात्रै गर्ने छैनौंँ, केही नयाँ शैली र अभ्यासलाई पनि प्रयोगमा ल्याउने छौंँ । त्यति मात्रै नभई, पत्रकारिताका मूलभूत सिद्धान्त र विश्वव्यापी मान्यतालाई पछ्याउँदै नेपाली पत्रकारितामा रहेका कमीकमजोरीबाट टाढा रहने प्रयास गर्ने छौंँ ।
स्विकार्नैपर्छ, पत्रकारिता पनि निरपेक्ष हुँदैन । तर, हामी स्वाभाविक सापेक्षताको अनिवार्यतालाई बहाना बनाई कुनै पनि किसिमको पक्षीय स्वार्थको पोषक बन्ने छैनौंँ । राजनीतिक तथा अन्य आग्रह र पूर्वाग्रहबाट मुक्त रही समाज, देश, लोकतन्त्र र गणतन्त्रका पक्षमा मात्रै ध्यान केन्दि्रत गर्ने छौंँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, बहुलवाद, वैयक्तिक स्वतन्त्रता र खुला समाज हाम्रा आदर्श हुन् भने निरङ्कुशता, स्वेच्छाचारिता र भ्रष्टाचारको गन्ध समेत हाम्रा लागि अपाच्य विषय हुन् । आधारभूत तहमा समेत लोकतन्त्रको प्रत्याभूति र पारदर्शी समाजको परिकल्पनाका साथ सौर्य दैनिकले आप\mनो यात्रा सुरु गरेको छ । हामी विश्वस्त छौँ, सौर्य दैनिक सामाजिक सद्भाव सुदृढीकरण गर्ने अभियानको इमान्दार सहयात्री र समावेशी राष्ट्र निर्माणका लागि चलिरहेको महाअभियानको पृष्ठपोषक पनि कहलाइने छ ।
फरक शैली र सोचबाट पाठकहरुको हातमा आइपुगेको सौर्य दैनिकले नेपालको व्यावसायिक पत्रकारितामा नयाँ आयाम थप्न सक्छ कि सक्दैन भन्ने  पाठकहरुमै निर्भर छ । काम गर्दै जाँदा हुने गल्ती औँल्याइदिएर पाठकहरुले मार्गदर्शन गर्न सके भने हामी समृद्ध, शान्त, समावेशी र लोकतान्त्रिक नेपालको निर्माणमा सहयोगी भूमिका खेल्न सफल हुने छौंँ । अनुभवले पनि बताउँछ, नेपाली पाठकहरुले दिशानिर्देशको त्यो भूमिका सफलतापूर्वक निर्वाह गरिरहेका छन् र आशा गर्नैपर्छ, सौर्य दैनिकले पनि पाठकहरूको असीम माया पाउने छ ।

प्रतिक्रिया