रत्नपार्कमा मोलमोलाइ

रानीपोखरी नजिकै महानगरीय प्रहरी आयुक्तको कार्यालय छ । त्यसको अगाडि रत्नपार्क छ । रत्नपार्क धेरैले देखेका छन् र त्यसबारे धेरैले राम्रोसँग जान्दछन् । धेरैले राजनीतिक आन्दोलन, सभासम्मेलन गर्ने ठाउँका रूपमा चिन्छन् भने केहीले समय बिताउने ठाउँका रूपमा बुझ्छन् । काठमाडौँका अन्य ठाउँमा जस्तै रत्नपार्कमा पनि विभिन्न पत्रपत्रिका बिक्री हुन्छन्, बदाम र पानी पनि बिक्री उस्तै हुन्छ । यस्तै–यस्तै अन्य धेरै कुरा रत्नपार्कमा बिक्री भएको यस संवाददाताले जस्तै अरूले पनि देखेका छन् । तर, रत्नपार्कमा शरीर पनि बिक्री हुँदोरहेछ । यो कुरा क–कसलाई थाहा होला ?
शुक्रबार साँझ सात बजेतिरको कुरा हो, रत्नपार्कमा शरीर किनबेचको कुरा चल्दै थियो । ती मानिस आपसमा ‘कोड’ भाषा प्रयोग गरेर कुराकानी गर्दै थिए । मुखमा मास्क र हातमा चुरोट सल्काउँदै रत्नपार्कतिर टहलिनु ‘ग्राहक’को सङ्केत हुँदो रहेछ । त्यसरी रत्नपार्कमा घुम्नु भनेको ग्राहकलाई पर्खिरहेका युवतीहरूलाई ‘ग्रिन सिग्नल’ रहेछ । यसो कोट्याउँदै आउने युवतीहरूसँग पैसाको छिनोफानो हुँदोरहेछ । ‘कल गर्ल’ जस्तै ती युवती पनि पैसा भनेपछि हुरुक्कै हुँदा रहेछन् । त्यस साँझ यस्तै मोलमोलाइ हुँदै थियो रत्नपार्कमा ।
‘कति चाहिन्छ ?’ मुखमा मास्क र हातमा चुरोट सल्काउँदै गरेका युवकले सोधे । उत्तर आयो– ‘एक हजार ।’
युवती शरीरका लागि आतुर ती युवकले फेरि मोलमोलाइमा कुरा मिलाउन आग्रह गर्दै भने– ‘अलि मिलाऊ न !’
युवतीले पनि उनको आग्रहमा केही लचकता देखाउँदै भनिन्– ‘सात सय ।’
केही समयका लागि अर्धाङ्गिनी बन्न लागेकी ती युवतीको व्यवहारले उनलाई फेरि लोभ्यायो र पैसा अझै घटाउने प्रयास गरिरहे– ‘अलि कम गर न !’
तर, दोस्रोपटकको आग्रहलाई ती महिलाले भने अस्वीकार गर्दै भनिन्– ‘हुन्न ।’
रत्नपार्कमा यस्ता संवाद सुन्दा मन ढुक्क फुलेर आयो । यिनीहरूको संवादले ठ्याक्कै अगाडि रहेको प्रहरी आयुक्तको कार्यालयलाई पनि गिज्याइरहेको जस्तो महसुस गरायो । त्यहाँ नेपाल प्रहरीका एआइजी बस्छन् । त्यसमुनिका अन्य धेरै प्रहरी अधिकारी पनि छन् । रत्नपार्कको यो ‘बार्गेनिङ’ आयुक्त कार्यालयको ढोकासम्म पुग्दैन होला र ? कि पुगे पनि त्यसलाई नसुनेझँै गरिएको पो हो कि ?
यो सम्वाददाता रत्नपार्कको मानव शरीर किनबेचको उक्त संवाद सुनिसकेपछि अब काठमाडौँमा पनि छुट्टै ‘रेड लाइट एरिया’ तोक्नु आवश्यक भइसकेको निक्र्योलमा पुग्यो । यस्ता कुरालाई राज्यले बेलैमा सम्बोधन गरेन भने त्यसले जटिल रूप लिन सक्छ । त्यस्तो अवस्था आउन नदिनु नै उत्तम हुन्छ ।
जनआन्दोलनले मात्र मुलुक परिवर्तन हुन्न न त विद्रोहले मात्र सम्भव छ । हाम्रो मन र मस्तिष्कमा पनि विद्रोह उठ्नु आवश्यक छ । सँगै समय, परिस्थिति मुताबिक परिवर्तन गर्नु पनि जरुरी छ । त्यो भनेको समाजको ‘अन्तः’ लाई व्यवस्थापन गर्नु पनि हो । कलेज छोडेर रत्नपार्क धाउने युवकहरू र बाँच्नकै लागि शरीर बेच्ने युवतीहरूले सभ्य भनिएको काठमाडौँ र सफल ठान्ने सरकार दुवैलाई गिज्याएको छैन र ?

प्रतिक्रिया