स्वेच्छालाई एकै दिन तीन स्वर्ण

saun-and-nembangकाठमाडौं, २ वैशाख । नेपाल पुलिस क्लबकी स्वेच्छा नेम्बाङ हुलास ३७ औा राष्ट्रिय टेबुल टेनिस प्रतियोगितामा एकै दिन तीन स्वर्ण जित्न सफल भइन् । विराटनगरस्थित सहिद रंगशालाको कभर्डहलमा मंगलबार भएको महिला युगलको फाइनलमा उनले रबिना मर्हजनसाग मिलेर स्वर्ण जितिन् । उनीहरुले आफ्नै क्लबका नविता श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११–९, ११–५ र ११–४ को सोझो सेटमा पराजित गरे । सुनसरीका अपेक्षा शाक्य र गीता थापा तथा एपीएफ क्लबका सेलिशा खड्गी र सोनु थापा मगरको जोडी तेस्रो भए ।
महिला टिम इभेन्टमा पनि  नवीता श्रेष्ठ, एलिना महर्जन र स्वेच्छा नेम्वाङ रहेको प्रहरी टिम पहलो भयो । उक्त टोलीले एपीएफका सेलिशा खड्गी, सोनु थापा मगर र अनिमा अधिकारीको टोलीलाई ३–० को सोझो सेटमा हरायो  । सुनसरी र काठमाडौं तेस्रो भए ।
प्रहरीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी मिश्रित युगलमा पहिलो भयो । फाइनलमा उक्त जोडीले एपीएफका शिवसुन्दर गोथे र सेलिशा खड्गीको जोडीलाई ३–० ले पाखा लगाए । प्रहरीका अमरलाल मल्ल र नविता श्रेष्ठ तथा एपीएफका पुरुषोत्तम वज्राचार्य र सोनु थापा मगरको जोडी तेस्रो बने । स्वेच्छाले महिला एकलको सेमिफाइनलमा नवीतासाग खेल्ने छिन् । अर्को सेमिफाइनलमा प्रहरीकी रविना महर्जनले प्रहरीकै दोस्रो वरीयताकी एलिना महर्जनको चुनौती सामना गर्ने छिन् ।
पुरुषको टिम इभेन्ट्समा एपीएफ पहिलो भयो । शिवसुन्दर गोथे, चन्दन शाही र पुरुषोत्तम वज्राचार्य सम्मिलित टोलीले प्रहरीका दीप साउन, अमरलाल मल्ल र राकेश महर्जनको टोलीलाई ३–२ सेटमा हराए । एपीएफले पुरुष टिम इभेन्टमा पहिलोपटक स्वर्ण जितेको हो । सुनसरी र ललितपुरले तेस्रो स्थानमा चित्त बुझाए ।
अखिल नेपाल टेबलटेनिस संघ र मोरङ जिल्ला टेबलटेनिस संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष युगलको उपाधिका लागि एपीएफका शिवसुन्दर गोथे र चन्दन शाहीको जोडी तथा प्रहरीका अमरलाल मल्ल र दीप साउनको जोडी भिड्ने छन् । पुरुष एकलको सेमिफाइनल शीर्ष वरीयताका प्रहरीका दीप साउन र तेस्रो वरीयताका एपीएफका शिवसुन्दर थोथो तथा एपीएफका दोस्रो वरीयताका पुरुषोत्तम वज्राचार्य र प्रहरीका चौथो वरीयताका अमरलाल मल्लबीच हुनेछ ।
पुरुष ४५ वर्षमाथि भेट्रान्स एकलको राउन्ड रोविन लिगमा शत प्रतिशत जित निकाल्दै काठमाडौंका कपुर शर्मा पहिलो भए । ६ खेलाडी सहभागी उक्त स्पर्धामा कपुरले ५ अंक जोडे । ४ अंकसाथ ललितपुरका पन्नकाजी शाक्य दोश्रो तथा ३ अंकसाथ काठमाडौंका किरण व्यञ्जन्कार तेस्रो भए । प्रतियोगिताको अन्तिम दिन बुधबार ४ सेमिफाइनल र ३ फाइनल खेल हुनेछ ।

प्रतिक्रिया