इंग्लिस प्रिमियरसिपमा तीव्र होडबाजी

लन्डन । उपाधिको टुंगो लागिसकेको इंग्लिस प्रिमियर सिपमा शीर्ष ५ का लागि भिडन्त जारी छ । यस सिजनका केही केही खेल मात्र बाँकी रहेको समयमा दोस्रोदेखि पाँचौँ स्थानका लागि ६ टोलीको भिडन्त हुनेछ ।

शीर्ष ५ टोलीले च्याम्पियन्स लिगमा सहभागिताको अवसर पाउने छन् । तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले शनिबार राति भएको खेलमा साउथहम्टनसँग गोलरहित बराबरी गरेको छ ।

शनिबारका अन्य खेलमा एभरटनले फुलहामलाई ३–१ ले तथा ब्रेन्टफोर्डले इप्सविचलाई १–० ले हराए । ब्रिङटनले उल्भ्ससँगको खेलमा २–० को सफलता पायो । यसैगरी, अस्टनभिल्लाले एएफसी बोर्न माउथलाई १–० ले हरायो ।
शनिबारको खेलमा ओले वाटकिन्सले अस्टनभिल्लाका लागि प्रिमियरसिपमा कीर्तिमानी गोल गरेका छन् । ओले कीर्तिमानी गोलकर्ता भएसँगै सो टोलीले बोर्नमाउथलाई १–० ले हराएको हो । भिल्ला सातौँ स्थानबाट तल झरेन भने युइएफए कन्फेरेन्स लिगमा सहभागिता जनाउने छ ।
भ्रमणकारी टोली भिल्लो ८०औँ मिनेटमा ज्याकोब रेम्सीले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो । पहिलो हाफमा इन्जुरी समयमा मोर्गान रोजर्सको क्रसमा वाटकिन्सले गोल गरेका हुन् । भिल्लाका लागि उनको यो ७५औँ लिग गोल हो ।

ह्याम्बर्ग बुन्डेसलिगामा

७ वर्षको प्रतीक्षापछि ह्याम्बर्गर एसभी अन्ततः बुन्डेसलिगा फर्किएको छ । शनिबार जर्मनीको दोस्रो डिभिजनको खेलमा उल्मलाई ६–१ ले हराउँदै ह्याम्बर्गले स्वतः पदोन्नति सुनिश्चित गरेको हो ।

यो जितसँगै ह्याम्बर्गले तेस्रो स्थानमा रहेको एल्भर्सबर्गभन्दा ४ अंकले अगाडि रहँदै शीर्ष २ मा आफ्नो स्थान पक्का ग¥यो । लिगमा अब १ खेल मात्र बाँकी छ ।

‘हामी फर्कियौँ !’ अन्तरिम प्रशिक्षक मर्लिन पोल्जिनले भने । पोल्जिन जन्मजात ह्याम्बर्ग निवासी हुन् र नोभेम्बरमा स्टेफन बाउमगार्ट बर्खास्त भएपछि जिम्मेवारी सम्हालेका थिए । अब उनलाई पहिलो डिभिजनका लागि स्थायी अनुबन्ध दिने पुष्टि गरिएको छ ।

‘तपाईंले धेरै मिहिनेत गर्नुहुन्छ र त्यसको पुरस्कार पाउनुहुन्छ भने त्यो क्षण कहिल्यै बिर्सन सकिन्न’, ३४ वर्षीय पोल्जिनले भने । ह्याम्बर्ग बुन्डेसलिगाको स्थायी सदस्य थियो । सन् १९६३ मा लिग स्थापना भएकोदेखि निरन्तर खेल्दै आएको एक मात्र क्लब थियो । त्यसैले यसलाई डेर डिनो (डाइनोसर) को उपनाम दिइएको थियो । सन् २०१८ मा क्लब रेलिगेट भयो ।

त्यसयता ह्याम्बर्ग हरेक सिजन बुन्डेसलिगानजिक पुगेर अन्त्यमा निराश हुनुपरेको थियो । पहिलो ३ सिजन लगातार चौथो स्थानमा रह्यो । त्यसपछि दुईपटक तेस्रो भए पनि प्लेअफमा बुन्डेसलिगाको तल्लो तेस्रो टिमसँग पराजित भयो । गत सिजन पुनः चौथो स्थानमा सीमित भयो ।

शनिबारको खेलमा जित हासिल गरे मात्र स्वतः पदोन्नति सम्भव हुने भएकाले हजारौँ समर्थक खेल सुरु हुनुभन्दा अघि टिम बसलाई स्वागत गर्न आएका थिए ।

प्रतिक्रिया