एएफसी फुटबलको तेस्रो खेलमा पनि नेपाल पराजित

Nepal Footbal Teamकाठमाडौं, १६ चैत । एसियाली फुटबल महासङ्घ (एएफसी) २३ वर्षमुनिका खेलाडी सम्मिलित (यु–२३) फुटबल प्रतियोगिताको छनोट खेलअन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी साउदी अरेबियासँग ६–० ले पराजित भएको छ ।

आफ्ना अघिल्ला दुवै खेलमा आयोजक इरानसँग ५–० तथा अफगानिस्तानसँग २–० ले हार व्यहोरेको नेपालको एएफसी च्याम्पियनसिपको लागि छनोट हुने सम्भावना यसअघि नै लगभग सकिएको थियो । तेस्रो पराजयले ढोका पूरै बन्द भएको छ ।

प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोली अर्को वर्ष कतारमा हुने एएफसी च्याम्पियनसिपको लागि स्वतः छनोट हुने प्रावधान छ, भने उपविजेतामध्येबाट उत्कृष्ट घोषित हुने केही टोलीका लागिसमेत सम्भावनाको ढोका खुल्ला थियो ।

इरानको राजधानी तेहरानमा आइतबार भएको खेलमा साउदी हरेक क्षेत्रमा नेपाली टोलीमाथि हाबी भयो । रक्षात्मक खेल खेल्नका बावजुद नेपालले २२, २८ र ४५ औं मिनेटमा गरी पहिलो हाफमै तीन गोल खायो । दोस्रो हाफमा सम्हालिन खोजेको नेपालले ५५ औँ मिनेटमा फ्रिकिकमार्फत एक मात्र आक्रमण गरेपनि सफल भएन । यसको प्रत्युत्तरमा साउदीले उल्टै ६३, ७७ र ८६ औँ मिनेटमा गोल गर्दै नेपाललाई थप निरास पारेको थियो ।

राउण्ड रोबिन लिगको आधारमा भइरहेको प्रतियोगितामा नेपाल समूह सी मा छ । अन्य राष्ट्रमा इरान, साउदी अरेबिया, अफगानिस्तान र प्यालेस्टाइन छन् । नेपालले आफ्नो चौँथो तथा अन्तिम खेलअन्तर्गत १७ गते प्यालेस्टाइनको सामना गर्दैछ ।

प्रतिक्रिया