काठमाडौं, ११ चैत । केही समयका लागि स्थगित गरिएको राष्ट्रिय लिग फुटबल प्रतियोगिता यसै महिनादेखि सञ्चालन हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज खेलतालिका सार्वजनिक गर्दै प्रतियोगिता यही चैत २० गतेदेखि सञ्चालन गरिने जनाएको छ । प्रतियोगिताको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशााला र उपत्यकाबाहिर धनगढी, रुपन्देही, झापा र विराटनगरमा सञ्चालन गरिने एन्फाले जनाएको छ ।
गत माघ ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा थ्रिस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ), लुम्बिनी फुटबल क्लब, झापा फुटबल क्लब, मोरङ फुटबल क्लब र कैलाली फुटबल क्लब सहभागी छन् ।
प्रतियोगितामा दुई खेल खेलेको थ्रिस्टार क्लब ६ अङ्कका साथ लिगको शीर्षस्थानमा छ भने समान खेल खेलेको मनाङ मस्र्याङ्दी पनि ६ अङ्कका साथ गोल अन्तरको आधारमा लिगको दोस्रो स्थानमा छ ।
त्यस्तै, एपिएफ तेस्रो, नेपाल आर्मी चौथो र लुम्बिनी फुटबल क्लब पाँचौँ स्थानमा छन् । झापा फुटबल क्लब, नेपाल प्रहरी, मोरङ फुटबल क्लब र कैलाली फुटबल क्लब भने अङ्कविहीन छन् । झापा र नेपाल प्रहरीले समान एकएक खेल खेलेका छन् भने बाँकी क्लबले दुई खेल खेलिसकेका छन् ।
प्रतियोगितामा चैत २० गते नेपाल प्रहरी क्लबले झापा फुटबल क्लबको सामना गर्नेछ । प्रतियोगितामा बिजेता टोलीले एक करोडको पुरस्कार प्राप्त गर्नेछ ।
प्रतिक्रिया