ढोरपाटन छेउछाउको सुस्केरा

Iksahang-Subbaस्नातक तह तेस्रो वर्षको वातावरण विज्ञान विषयका लागि शोधपत्र तयार गर्न बहिनी भावना गुरुङले ढोरपाटन वन्यजन्तु सिकार आरक्ष क्षेत्रलाई रोजेकी रहेछन् । उक्त आरक्षमा विदेशीले नाउर र झारल सिकार गरेबापत आसपासका बासिन्दालाई के–कस्तो फाइदा/बेफाइदा तथा के–कति आर्थिक सहयोग उपलब्ध हुन्छ ? उक्त सहयोग रकममा कति पारदर्शिता छ ? त्यस रकमबाट गाउँको दिगो विकासमा सहयोग पुगेको छ/छैन भन्ने विषय उनको शोधको उद्देश्य रहेछ । त्यही उद्देश्यपूर्तिका लागि राजधानीबाट ढोरपाटनको यात्रा गर्नुपर्ने भो । त्यस यात्राको अभिभावकत्वको जिम्मेवारी ममा आयो अर्थात् भावना बहिनीको अभिभावक बनेर म ढोरपाटन पुग्नुपर्ने भो । अर्कोतर्फ म पनि मानवशास्त्रको विद्यार्थी भएको हुँदा मेरो निम्ति यो अवसर फाइदाजनक नै हुन्छ भन्ने लाग्यो । त्यसकारण मैले बहिनीको आग्रह टार्न सकिनँ ।
४ असोजमा ढोरपाटन सिकार आरक्षलाई गन्तव्य बनाएर हाम्रो यात्रा प्रारम्भ भयो । हामी त्यस ठाउँका लागि नयाँ भएकाले नक्साका आधारमा र दोस्रो व्यक्तिको सहारा लिँदै जानुपर्ने हुँदा यात्रा चुनौतीपूर्ण थियो । तापनि, साहस जुटाउनै पर्ने भयो । काठमाडौं–पोखराको माइक्रोबाट यात्रा अघि बढायौं । हामी चढेको गाडी तनहुँको डुम्रेमा पुगेर रोकियो । त्यहाँबाट आफूलाई शिक्षिका बताउने करिब २५ वर्षकी महिला र अर्की ४० वर्षकी गुरुङ महिला गाडीमा चढे । उनीहरू एकदमै बोलक्कड रहेछन्, यात्रामा गफ जोतिरहे । गुरुङ महिला जातिवादी रहिछन्जस्तो पनि लाग्यो । उनको कुरा सुनेर भावना हाँस्दै थिइन् । ती महिलालाई आफ्नो छोराले होइन, छोराभन्दा कम अंक पाएको बाहुन विद्यार्थीले छात्रवृत्ति पाएकोमा दु:ख लागेको रहेछ । त्यही प्रसंगमा उनी जातिगत विभेद सर्वमान्य छ भन्ने शैलीमा बोलिरहँदा अघिल्लो सिटमा रहेका बाहुन समुदायका व्यक्ति ‘कति बोलेको डिस्टर्भ भयो । बोल्ने शैली नै नभएको’ भन्दै कड्किए । उनलाई ती महिलाको कुरा नपचेको होला । हुन त ती महिलाले अभिव्यक्त गर्न खोजेको कुरा सही नै थियो तर अभिव्यक्तिको तरिका मात्र फरक थियो ।
गाडी लेखनाथनगर पुग्यो । एकदमै मोटो शरीर भएकी ती महिला गाडी रोकेर बिस्तारै ओर्लिइन् । गाडी क्रमश: अघि बढ्यो । माछापुच्छ्रे हिमालमा शिर ठोकिएको महसुस गर्दै पोखरा सिर्जना चौकबाट फेरि बागलुङको माइक्रो पक्रेर हामी प्राकृतिक हराभरालाई चुम्दै लुम्लेको बाटो हुँदै बागलुङ पुग्यौं । पर्वत प्रस्थान गर्ने क्रममा साँझ परिसकेको हुँदा खासै दृश्यावलोकन गर्न पाइएन । माइक्रो ड्राइभरको सहयोगले बागलुङको हिलभ्यु गेस्ट हाउसमा बास बसियो । कसरी, कहिले, कहाँ पुगिने भन्ने खुलदुलीका कारण त्यहाँबाट अघि बढ्ने विषयमा होटल साहुजीसँग जानकारी लिन आतुर थिएँ । उनकै सहयोगबाट जिपको टिकट गरी बिहान ६ बजे बुर्तिवाङको यात्रा सुरु भयो । जिपको गतिसँगै भौगोलिक बनावट र वनस्पतिहरूको असमानतालाई नियालिरहेको थिएँ । त्यहाँ खेतबारीमा घाँसका बुट्टयान थिए । नजिकै सिटमा बसेका एक वृद्धलाई यसबारे सोधें । उनले ‘यो बिडुला घाँस हो भाइ’ भन्ने जवाफ दिए । घरहरू मार्बल स्टाइलको ढुंगाले प्रशस्त छाइएका छन् । यो मार्बल हो भनेर प्रश्न सोध्दा ‘होइन यो ढुंगा हो खानीमा पाउँछ । मिलाएर काटेपछि मार्बल आकारमा आउँछ’ भन्ने जवाफ दिए ती वृद्धले ।
जलस्रोतको दृष्टिले नेपाल विश्वमै दोस्रो धनी देश भनेझैं बागलुङ जिल्ला पनि देशकै पहिलो हो कि भन्ने भान परिरह्यो । किनकि, त्यहाँको यात्रामा अनगिन्ती खोला र खहरे पार गर्नुपर्ने रहेछ । पक्की पुलको अभावले बुर्तिबाङ पुग्न तीन ठाउँमा गाडी फेर्नुपर्ने बाध्यता यातायात समितिबाट सिर्जना गरिएको रहेछ । दूरीको हिसाबले नभई मुरीको हिसाबले भाडा असुलिँदोरहेछ । मेलिङको व्यवस्था पनि रहेनछ । साँझ ६ बजे ग्वाली चउरनजिक भीमगिटी खोलामा बस तर्ने क्रममा गाडी बीचमा अडियो । यात्रुमा कोकोहोलो सुरु भयो । मलाई चाहिँ वर्षा कम भएकाले खतरामुक्त छौंजस्तो लाग्दथ्यो । तर, भावना बहिनी अत्तालिएझैं लाग्यो । मैले सम्झाउने प्रयास गर्दा उनले जापानको सुनामीको उदाहरण दिँदै ‘ढिला नगरी सावधानी अपनाउनुपर्छ दाइ’ भनिन् । गाडीका स्टाफहरू गाडी तान्न ट्रयाक्टरको प्रतीक्षामा थिए । हामी गन्तव्यमा पुगी अध्ययन सकी फर्कनु थियो । रातको समय जुत्ता, ब्याग हातमा लिई हातेमालो गरी खोला तरेर अर्को गाडी चढी १० बजे बुर्तिबाङ पुग्यौं । पीएन क्याम्पस पोखरामा स्नातक दोस्रो वर्षमा अध्ययन गर्ने ढोडबासी भाइको सहयोग लिई स्थानीय थकाली होटलमा बास बसियो ।
बिहान ६ बजे पारिबाट जिप लाग्ने बुझी फेरि अघि बढ्ने चेष्टाका साथ स्टेसन पुग्दा जिप थिएन । त्यहाँका स्थानीयले जिप बोलाइदिएपछि पाँच किलोमिटर अघि बढ्यौं । बाटो खराब देखाउँदै जिप रोकिएपछि अब पैदल यात्रा सुरु गर्नुपर्ने भयो । त्यहाँ ढोरपाटन प्रहरी चौकीमा कार्यरत जवानद्वय नीरबहादुर थापा र यादव सर अनि ज्योति विकास निमावि ढोरपाटनका प्रधानाध्यापक चुनप्रसाद अर्दैसँग भेट भयो । ढुंगा खोज्दा देउता मिलेको अनुभूति भयो । उनीहरूसँगको भलाकुसारीसँगै ५ घन्टाको पैदल यात्रा सकेर हामी फलेघाट पुग्यौं । त्यहाँ खाजा खाएर प्रहरी जवानद्वयको सहयोगमा फेरि अघि बढ्यौं । उनीहरू भन्दै थिए– ‘यो दुर्गम ठाउ हो । रु. ५,०००।– बोकेको मानिसको ज्यान पनि जान सक्छ । विदेशी पर्यटक प्रतिवर्ष लुटिन्छन् । पाँच दिनअघिको घटना– घडी बेच्न आउने तराईमूलको मानिस लुटिए । हामी प्रहरी नै पनि असुरक्षित छौंजस्तो लाग्छ ।’ प्रहरी साथीहरूको यस्तो आवाज ढोरपाटन रहेसम्म मेरो कानमा गुन्जिरहेझैं भयो । साँझ ६:३० बजे बोबाङ ९ स्थित ढोरपाटन सिकार आरक्षमा पुगियो । त्यहाँ आरक्षण अधिकृत विष्णुबाबु श्रेष्ठ भेटिएनन् । त्यसैले बाहिर बस्ने निर्णय गरी स्थानीय शेरमान छन्त्यालको घरमा प्रहरीद्वयले कुरा गरे ।
जब आरक्ष क्षेत्रमा प्रवेश गरियो तब विविधताले भरिपूर्ण एक सुन्दर देश हाम्रो नेपाल रहेछ भन्ने महसुस भयो । त्यहाँका सुन्दर गाउँ मनोरम दृष्यसम्म परेको टापुमा घोडा, खच्चड, गाई भैसी यत्रतत्र चरिरहेको दृष्य । मानिसहरू आआफ्नो कृषि कार्यमा व्यस्त छन् । भोलि बिहान आरक्षका (सिनियर गेम स्काउट) तुलसी सरलाई अन्र्तवार्ता लिँदै भावनाले आफ्नो शोध–कार्य अघि बढाइन् । यसरी नै बोबाङ, अधिकारी चउर, म्याग्दीको गुर्जाघाटसम्मका स्थानीय बासिन्दालाई अन्तरवार्ता लिने क्रम जारी रह्यो । जसमा आरक्षका कर्मचारी दुर्गाप्रसाद लम्सालले सहयोग गरे । शोधकर्ता बहिनीलाई सत्यतथ्य विवरण कसरी प्राप्त होला भने चुनौती थियो भने मलाई पनि भावनाको अध्ययन सफल गरी सकुशल काठमाडौं फर्कने चुनौती छ भन्ने लागेको थियो । विकास निर्माणमा भएका चुहावटलाई हेर्नुपर्ने हुनाले स्थानीयको गोपनीयता भंग भई प्रतिकारमा आउने हुन् कि भन्ने थप चुनौतीको विषय पनि थियो । २८०० मिटर उचाइको हाराहारीमा आफ्नो स्वास्थ्यलाई त्यहाँको हावापानीअनुकूल राख्न अर्को चुनौती थियो । मदिरा सेवन नगर्ने मानिस यो समाजमा घुलमेल हुनै सक्दैन भन्ने स्थानीयवासीको ओठे जवाफ अर्को चुनौती थियो । ‘एक्टिङ ग्लोबल्ली थिङकिङ लोकल्ली’ भन्ने विश्वव्यापी अवधारणालाई आत्मसात गर्दै आफूलाई बसमा राख्दथें ।
स्थानीयवासीका अनुसार करिब १० हजार जनसंख्या रहेको ढोरपाटन क्षेत्रमा ६० प्रतिशत दलित, ३० प्रतिशत अल्पसंख्यक र १० प्रतिशत अन्य जाति छन् । त्यहाँ सबैभन्दा बढी यातायात र सञ्चारको अभाव देख्न पाइयो । शिक्षा, स्वास्थ्य, सुरक्षा, विद्युत्को थोरै भए पनि उपभोग गरेको देख्न सकिन्छ । सामान ढुवानी गर्न घोडा, खच्चडको प्रशस्त प्रयोग गर्दछन् भने सञ्चार सेवाका रुपमा आरक्ष कार्यालयमा एक मात्र भीएचएफ सेट उपलब्ध छ । यिनै विविध चुनौतीका बाबजुद पनि बहिनीले काम अघि बढाउँदै प्रश्न गर्दै जाँदा स्थानियवासीले सिकार व्यवस्थापन समितिमाथि व्यंग्य र आक्रोश व्यक्त गर्दथे । केहीले गाउँको निमित्त राम्रै काम भएको छ भन्थे । सिकारीबाट प्राप्त रकम गाउँको विकास निर्माण र तपाईंहरूको हितमा सदुपयोग भएको छ त भन्ने प्रश्नमा स्थानीय एक वृद्धको व्यंग्यात्मक जवाफ थियो– ‘ढयांगढुंग खाने बाटो नानी यस्तै छ । हाम्रो हितमा भएको गाउँको विकास ।’ अर्का वृद्धले भने, ‘पुल निर्माण गरे ६ महिना टिक्दैन । बाटो ग्रावेल गरेकोमा लडिन्छ भनेर हिड्न सकिन्न के गर्ने पहुाचवालाले फालेको ढुंगो आकाशतिर पनि जाँदोरहेछ हामी पहुँच नभएकाले फालेको ढुंगो त ओरालो पनि नजाने रहेछ ।’
स्थानीयका यी गुनासा सिकार व्यवस्थापन समितिसमक्ष पुर्‍याउँदा ‘सजिलो उत्तर’ पायौं । ‘राज्यले प्रतिवर्ष अर्बौं बजेट ल्याउँदा पनि विकास भएको छैन भने यो सिकारबाट आएको रकमले के विकास हुन्छ र ?’ यस्तै फरक खालका तिता–मिठा जवाफको पोको लिएर हामीले काठमाडौं फर्कने निर्णय गर्‍यौं । त्यहाँ पनि अर्को चुनौती खडा भयो । एकपटक हिँडेको जंगलको बाटो कसरी फर्किने ? स्थानीय गीता छन्त्याल बुर्तिबाङसम्म साथ दिन मञ्जुर भइन् । त्यसपछि १५ असोजमा सहयोगीका साथ काठमाडौं प्रस्थान गर्‍यौं । बाटोमा गाई भैसी, घोडा, खच्चडको तातीले बाटो हिड्न हम्मे पर्ने रहेछ गोठालाहरू आफ्नो गाई, भैसिलाई नियन्त्रण गर्न आफ्नै भाषामा बोलेका र घोडा खच्चडलाई लगाइएको घण्टीको गडगडाहटले कुनै पवित्र मन्दिरको परिसर पो हो कि भन्ने महसुस आफैलाई लाग्दथ्यो । दिनभर वर्षा भएकाले बाटो काट्न गाह्रो थियो तर गाह्रो भनेर नहिडे बास बस्ने ठाऊ नपाउने अर्को चुनौती थियो । जेनतेन बुर्तिवाङ्ग आइपुग्यौं अब आनन्दको स्वास फेर्न पाइयो कारण अब सिधा गाडीमा हिड्न पाउनुका साथै विना चुनौती निसंकोच काठमाडौं पुग्न सकिन्छ ।

प्रतिक्रिया