बर्दिया, १२ कात्तिक । बर्दिया जिल्लाको राजापुर क्षेत्रका ११ गाविस जोड्ने कोठिया घाटस्थित गेरुवा नदीमाथि पन्टुन (ड्रम) पुल सञ्चालनमा आए पनि त्यस क्षेत्रका स्थानीयवासीको सास्ती कम भएको छैन ।
पन्टुन पुल जोड्ने काम सकिए लगत्तै पुल संचालनमा आए पनि कर्णाली नदीको पश्चिमी भंगालोमा पानीको सतह नघटेका कारण राजापुर क्षेत्रका करिव दुई लाख जनताले नदी वारपार गर्नका लागि सास्ती व्यहोर्नु परेको हो ।
मुख्य कर्णाली (गेरुवा) नदी पन्टुन पुलबाट वारपार गर्ने भए पनि पश्चिमी भंगालोमा डुंगा तर्नुपर्ने भएकोले झनै सास्ती भएको राजापुरकी विष्णु पौडेलले बताइन् । पुलबाट यात्रुहरू निरन्तर जाने भएपनि पश्चिमी भंगालोमा रहेको डुंगा सानो भएकाले घन्टौ लाममा बस्नुपर्ने बाध्यता छ ।
स्थानीयको निरन्तर माग र निर्वाचन सामग्री तथा सुरक्षा बन्दोवस्तीका सामाग्रीहरू समयमा नै पुर्याउन पन्टुन पुल जडान गरिएपनि पश्चिमी भंगालोमा पानीको सतह धेरै भएका कारण प्राविधक कठिनाई देखिएको प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले बताए । उनले पैदल यात्री, साइकल र मोटरसाइकल बाहेकका अन्य सवारी साधनहरू पुलबाट नदी वारपारका लागि रोक लगाइएको समेत बताए । कर्णालीको पश्चिमी भंगालोमा पानीको सतह कम हुन अझै एक हप्ता लाग्ने जिल्ला विकास समिति बर्दियाका प्राविधिकले बताएका छन् ।
चारैतिर कर्णाली नदिले घेरिएर रहेको राजापुर क्षेत्रको ११ गाविसका जनता हिउँदका ६ महिना मात्र उक्त पुलको प्रयोग गर्छन् । बर्षा सुरु हुने वित्तिकै नदिमा पानीको सतह बढेपछि पुलमा क्षतिहुने भएकोले पुल बाहिर निकालेर राखिन्छ । वर्षायाममा पन्टुन पुल पानीबाहिर निकालेर राखिने भएकोले राजापुरवासीलाई स्टिमरद्वारा नदी पार गर्नुपर्ने बाध्यता छ । नदी पार गर्न करिब २० मिनेट जोखिमपूर्ण यात्रा गर्नुपर्छ । नदी पार गर्नका लागि करिब २ देखि ४ घन्टासम्म स्टिमर कुरेर बस्नुपर्ने बाध्यता पनि हुन्छ ।
एक सय ४४.५ मीटर लामो पानीमाथि तैरिएर रहने पन्टुन पुलले २० टनसम्मको तौल तार्न सक्ने क्षमता रहेको पुल प्राविधिकको भनाइ छ ।
प्रतिक्रिया