काठमाडौ, ११ कात्तिक । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने संविधानसभाको चुनावमा देशभरिका ११ निर्वाचन क्षेत्रका ४९ मतदान केन्द्रलाई अपांगमैत्री बनाउने भएको छ । मतदान प्रक्रियामा सहभागी हुन सहज होस भन्नका लागि आयोगले ४९ केन्द्रलाई अपांगमैत्री बनाउन लागेको निर्वाचन आयोगले जनाएको छ । अपांगले मतदान गर्नका लागि लाइनमा नवसी सिधै मतदान गर्ने व्यवस्था आयोगले मिलाएको छ । अपांगता भएका मतदाताले अपांग मैत्री मतदान केन्द्रमा सजिलै प्रवेश गरी आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका छन् । सिरहा, कञ्चनपुर, धनकुटा, मोरङ, पर्सा, सर्लाही, कैलाली, झापा, कास्की, बाँके, बाग्लुङ, रूपन्देही र दाङमा अपांगमैत्री मतदान केन्द्र बनाउने तयारी भएको आयोगका प्रवक्ता वीरबहादुर राईले वताए । उनका अनुसार अपांगता भएकाहरूको जनसंख्या बढी भएका मदतान केन्द्रलाई अपांगमैत्री बनाइएको हो । ‘सबैको आग्रहअनुसार पहिलोपटक परीक्षणका रूपमा अपांगमैत्री मतदान केन्द्र बनाउदै छाँै’ प्रवक्ता राईले भने ‘अपांग महासंघसँग आवश्यक परामर्श गरेर यो व्यवस्था गर्न लागेका हाँ ।’ अपांगमैत्री मतदान केन्द्रमा दुवै कान नसुन्ने, आंखा नदेख्ने, बोल्ने नसक्ने, दुवै हात नभएका, हिंडडुल गर्न नसक्ने आपाङगले मतदान गर्न पाउने छन् । निर्वाचन कार्यालय पर्साले वीरगन्जमा चारवटा अपांगमैत्री मतदान केन्द्र बनाउँदै छ । बागलुङमा पनि तीनवटा अपांगता मैत्री मतदान केन्द्र हुने भएको छ । कैलालीका चार र कञ्चनपुरका तीनवटा मतदान केन्द्र अपाङमैत्री बन्नेछन् ।
विद्युतीय मतदान नहुने
विद्युतीय मतदान यन्त्र(इभिएम)मा ६४ दलको मात्र सूचीकरण गर्न सकिने भएपछि यसपटको निर्वाचनमा विद्युतीय मतदान नहुने भएको छ । आयोगले काठमाडौं, कास्की, रोल्पाको एक क्षेत्र र मधेसका २० जिल्लाका एक सय १९ निर्वाचन क्षेत्रमा विद्युतीय मतदान यन्त्र( इभिएम) प्रयोग गर्ने जनाएको थियो । तर, ६४ वटा दलको मात्र सूची इभिएममा अटाउने भएपछि आयोगले विद्युतीय मतदान नगराउने भएको छ ।
प्रतिक्रिया