मुस्ताङ, ५ असोज । ४३औँ अन्तर क्लब खुला महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि सिक्स सोल्टिज स्पोटिङ क्लबले जितेको छ । मुस्ताङको घासामा सम्पन्न फाइनलमा निर्मल स्पोर्टिङ क्लबलाई हराउँदै सिक्स सोल्टिजले उपाधि जितेको हो । श्री जनता निम्न माध्यमिक विद्यालयको घरेलु कोर्टमा सिक्स सोल्टिजले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो । त्यसैगरी, रोमान्चक दोस्रो सेटमा २८–२६ को अग्रता लिएको सोल्टिजले अन्तत : अन्तिम सेट २५–२० ले जित्दै उपाधि हात पार्यो । शुक्रबारै सेमिफाइनलमा ताग्लुको अन्नपूर्ण युवा क्लबलाई २६–२८, २२–२५, २५–१३, २५–१८ र १५–७ ले हराउँदै सिक्स सोल्टिजले फाइनल यात्रा तय गरेको थियो । जितसँगै सिक्स सोल्टिजले नगद २५ हजार हात पार्यो । उपविजेतामै सीमित निर्मल स्पोर्टिङ क्लबको भागमा नगद १५ हजार पर्यो । थाक खेलकुद तथा संकृति विकास संघको आयोजना र एभरेस्ट वियरको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ विजेता सिक्स सोल्टिजका निरज गौचन उत्कृष्ट खेलाडी चुनिए । चार दिनसम्म चलेको प्रतियोगितामा पदक जित्न सफल टिमका खेलाडीलाई अध्यक्ष प्रेमप्रसाद तुलाचनले पुरस्कार वितरण गरे । प्रतियोगिताको अगामी संस्करण निर्मल स्पोर्टिङ क्लब लेतेले आयोजना गर्नेछ ।
प्रतिक्रिया