चितवन, ३ असोज । चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बालकुमारी कन्या उच्च माविको समस्या समाधानका लागि विद्यालय व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् ।
गएको वैशाखमा विद्यालयमा अध्यापन गराउँदै आएका ६ जना शिक्षिकालाई विनाकारण व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र सापकोटाले निष्कासन गरेका थिए । निष्कासनपछि उत्पन्न समस्या समाधानका लागि जिल्ला शिक्षा अधिकारीले उचित भूमिका नखेलेको भन्दै चौतर्फी आलोचना भएपछि उनले बुधवार पत्र पठाएर समस्या समाधान गर्न र देखिएका कमिकमजोरी सच्चाउन आग्रहसमेत गरेका छन् । साथै जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले, गएको साउन १५ गते गठित कार्यदलले तयार गरेको प्रतिवदेन कार्यान्वयन गर्न गराउन पनि विद्यालय व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् । कार्यदलले साउन ३० गते नै आफ्नो प्रतिवदेन जिल्ला शिक्षा अधिकारीलाई बुझाएको भए पनि शर्माले प्रतिवेदन लुकाएर राखी अहिलेसम्म सार्वजनिक गरेका थिएनन् । मंगलबार विभिन्न सञ्चारमाध्यम तथा महिला सञ्जालले उनको यो कामको विरोध गरेपछि बुधबार जिशिअ शर्माले प्रतिवेदन कार्यान्वयनका लागि पत्र काटेका हुन् ।
प्रतिवेदनमा शिक्षा नियमावली विद्यालयले बनाएर कार्यान्वयन नगरेकाले तत्कालै कार्यविधि बनाउन र निष्कासित शिक्षिकाको पुनर्बहाली गर्नुपर्ने, विद्यालयको मासिक आम्दानी सटर भाडाबाट मात्रै ४ लाख देखिएकाले आर्थिक अवस्था विद्यालयले भनेकोजस्तै संकटपूर्ण नरहेको, विद्यालयको हरहिसाब पारदर्शी ढंगले नराखेको र अपारदर्शिता कायम गरेको देखिएकाले तत्कालै पारदर्शी गराउन भनिएको छ ।
राजनीतिक आस्थाका आधारमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र सापकोटाले हठात् ६ जना शिक्षिकालाई निष्कासन गरेपछि उनीहरूले विभिन्न चरणमा आन्दोलन गर्दै आएका थिए । पछिल्लो समयमा जिल्ला महिला सञ्जालले आन्दोलनको नेतृत्व लिएको थियो ।
प्रतिक्रिया