काठमाडौं । कैलालीमा व्यथाले छट्पटिएकी एक महिलालाई सडकमै सुत्केरी गराउने महिला प्रहरी जवान पुरस्कृत भएकी छन् । कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमा व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुत्केरी गराउने महिला प्रहरी जवानलाई पुरस्कृत गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार महिला प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र र रेकर्डमा जाने गरी पुरस्कृत गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका हुन् ।
राणाले प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसुती गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुगाएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताए ।
देउवाले मंगलबार गोदावरी नगरपालिका– १ को वसन्तपुरमा सडकमा छटपटाइरहेको अवस्थामा भेटिएकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसुती हुन सघाएकी थिइन् । देउवाकै सहयोगमा उनलाई सुरक्षित रूपमा पद्मा अस्पताल पुर्याएकी थिइन् ।
प्रतिक्रिया